वाशिङ्टन डी.सी. गोलीकाण्ड : घाइते एअर फोर्स स्टाफ सर्जेन्ट वोल्फको कस्तो छ स्वास्थ्य अवस्था ?


प्रकाशित मिति : मंसिर २०, २०८२ शनिबार

गत हप्ता अमेरिकाको वाशिङ्टन डी.सी. मा भएको गोलीकाण्डमा घाइते भएका एअर फोर्स स्टाफ सर्जेन्ट एन्ड्र्यू वोल्फको स्वास्थ्यमा क्रमिक सुधार आएको छ । वेस्ट भर्जिनियाका गभर्नर प्याट्रिक मोरिसीले वोल्फ विस्तारै निको हुँदै गइरहेको जानकारी गराएका हुन् ।

गभर्नर मोरिसीले भने, “उनका आमाबुबाले बताए अनुसार उनको टाउकोको चोट बिस्तारै निको हुँदैछ ।” उनले वोल्फ अझै दुईदेखि तीन हप्तासम्म अस्पतालमै रहनुपर्ने भए पनि प्रगतिको हिसाबले परिवार आशावादी रहेको बताए।

मोरिसीले भने, वोल्फले नर्सलाई औला उठाएर प्रतिक्रिया देखाए । साथै, आफ्ना औँलाहरू पनि हल्लाउन सक्षम भए, जसलाई सकारात्मक संकेतको रूपमा लिइएको छ।

गत हप्ता वेस्ट भर्जिनिया नेशनल गार्डका सदस्य वोल्फ र आर्मी स्पेसियलिस्ट सारा बेक्स्ट्रोममाथि वाशिङ्टन डी.सी. मा गोली प्रहार भएको थियो । गोली लागेपछि गम्भीर घाइते भएकी २० वर्षीया बेक्स्ट्रोमको २७ नोभेम्बरमा मृत्यु भएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उक्त आक्रमणमा संलग्न २९ वर्षीय अफगानी नागरिक रहमानुल्लाह लाकानवाल पक्राउ परेका थिए । घटनापछि अर्का एक गार्ड सदस्यले प्रतिकार गर्दै लकनवाललाई गोली हानेका थिए । त्यसपछि उनलाई नियन्त्रणमा लिइएको थियो।

उनीमाथि हत्या, हतियारसहित मार्ने नियतले हमला र हिंसात्मक अपराधको लागि हतियार राख्ने आरोप लगाइएको छ। लाकानवालले आफुमाथि लगाइएका आरोपप्रति निर्दोष भएको बचाउ गरेका छन्।

वोल्फ वेस्ट भर्जिनिया एयर नेशनल गार्डको फोर्स सपोर्ट स्क्वाड्रन, १६७ औं एयरलिफ्ट विंगमा कार्यरत छन्। उनले २०२३ को सुरुदेखि फ्रन्टियर कम्युनिकेशन्समा लाइनम्यानको रूपमा काम गर्दै आएका छन्।

वोल्फ मार्टिन्सबर्ग, वेस्ट भर्जिनियाका हुन् । उनले फेब्रुअरी २०१९ देखि गार्डमा सेवा गर्दै आएका छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com