अमेरिकाको टेक्सासस्थित एल पासो हवाई क्षेत्र अचानक बन्द गरिएपछि ..


प्रकाशित मिति : २८ माघ २०८२, बुधबार

अमेरिकी रक्षा मन्त्रालयले मेक्सिकन कार्टेलहरूले प्रयोग गरिरहेका ड्रोनहरू निष्क्रिय पारिएको जनाएको छ।

रक्षा मन्त्रालयले मंगलबार राति एल पासो क्षेत्रको हवाई क्षेत्र बन्द गरी ती ड्रोनहरू निष्क्रिय पारिएको बताएको हो। बुधबार बिहान हवाई क्षेत्र पुनः सञ्चालनमा आएपछि ट्रम्प प्रशासनका एक अधिकारीले भने, “मेक्सिकन कार्टेलका ड्रोनहरूले अमेरिकी हवाई क्षेत्रको उल्लङ्घन गरेका थिए। त्यसपछि पेन्टागन (रक्षा मन्त्रालय) ले ती ड्रोनहरू निष्क्रिय पार्न कदम चाल्नुपरेको हो।”

संघीय उड्डयन प्रशासनले मंगलबार अचानक एल पासो अन्तर्राष्ट्रिय विमानस्थलमा हुने सबै उडानहरू १० दिनका लागि स्थगित गर्न आदेश दिएको थियो। यो आदेशपछि सर्वसाधारणमा आश्चर्य र अन्योल सिर्जना भएको थियो।

यातायात मन्त्री सीन डफीले पेन्टागनसँग मिलेर “कार्टेल ड्रोन घुसपैठ” विरुद्ध कारबाही गरिएको उल्लेख गर्दै केही घण्टापछि सामाजिक सञ्जाल ‘एक्स’ मा प्रतिबन्ध हटाइएको जानकारी दिएका थिए। पेन्टागनले एल पासो विमानस्थल नजिकैको सैन्य अड्डा क्षेत्रमा नयाँ सैन्य प्रविधि—सम्भवतः उच्च-ऊर्जा लेजर को परीक्षण गरी ड्रोन खसाल्ने योजना बनाएको थियो।

हवाई क्षेत्र अचानक बन्द हुँदा चिकित्सकीय उद्धार उडानहरू अन्यत्र मोड्नुपरेको थियो भने शल्यक्रिया उपकरण बोकेको अर्को उडान एल पासो पुग्न सकेन। सामान्यतया, लामो समयसम्म हवाई क्षेत्र बन्द रहने घटना दुर्लभ मानिन्छ। सन् २०१८ यता हवाई क्षेत्र बन्द रहने औसत समय चार घण्टाबाट घटेर करिब दुई घण्टामा झरेको छ।

यो प्रतिबन्ध एल पासो वरिपरि १० माइल क्षेत्रसम्म फैलिएको थियो, जसमा दक्षिणी न्यु मेक्सिकोका केही भाग र सान टेरेसा सहरको पश्चिमी क्षेत्र पनि समेटिएको थियो।

अमेरिकी पूर्व मरीन तथा रक्षा मन्त्रालयका पूर्व उपसहायक सचिव मिक मुलरोयले भने, “यदि कार्टेल ड्रोनविरुद्ध प्रतिकार कारबाही गरिएको हो भने त्यहाँ ‘इलेक्ट्रोनिक वारफेयर’ प्रयोग गरिएको हुन सक्छ, जसले नागरिक उड्डयनमा जोखिम निम्त्याउन सक्छ। त्यसैले सुरक्षाका लागि हवाई क्षेत्र बन्द गर्नु उपयुक्त हुन्छ।”

एल पासोको दक्षिण र पश्चिममा मेक्सिकोको सिउदाद हुआरेज सहर पर्छ भने उत्तरतर्फ अमेरिकी सेनाको फोर्ट ब्लिस र ह्वाइट स्यान्ड्स मिसाइल रेन्ज अवस्थित छन्। मेक्सिकोको भित्री क्षेत्रमा कार्टेलहरूले ड्रोनमार्फत विस्फोटक पदार्थ खसाल्ने गरेका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com