अमेरिकामा प्रहरीको गोली लागेर मारिएका विल्सनका परिवारले ३० मिलियन डलर क्षतिपूर्ति पाउने


प्रकाशित मिति : २० मंसिर २०८२, शनिबार

अमेरिकाको क्यालिफोर्नियामा रहेको सान डिएगो शहरले १६ वर्षीय कोनोआ विल्सनको परिवारलाई ३० मिलियन डलर क्षतिपूर्ति दिने सहमति गरेको छ।

अज्ञात व्यक्तिले चलाएको गोलीबाट ज्यान बचाउन भागिरहेकै बेला एक प्रहरी अधिकारीले पछाडिबाट गोली हानी विल्सनको हत्या गरेका थिए।

यो क्षतिपूर्ति विल्सनको परिवारले जुन महिनामा दायर गरेको गलत मृत्यु सम्बन्धी मुद्दाको फैसला अनुसार आएको हो।

परिवारका वकिलहरूका अनुसार अधिकारीले गरेको गोलीकाण्ड “जातिगत हिंसाका आधारमा” भएको दाबी गरिएको थियो। विल्सन अश्वेत थिए।

यो क्षतिपूर्ति अमेरिकामा दिइएका क्षतिपूर्तिमध्ये सबैभन्दा ठूलोमध्ये एक हो। यसअघि २०२१ मा, मिनियापोलिस शहरले जर्ज फ्लोयडको परिवारलाई २७ मिलियन डलर क्षतिपूर्ति दिएको थियो। फ्लोयडको २०२० मा गिरफ्तारीका क्रममा नौ मिनेटसम्म घाँटीमा घुँडा थिचेर हत्या गरिएको थियो।

२८ जनवरीमा विल्सन सान्ता फे स्टेसनमा उभिएका थिए। त्यही बेला अर्को किशोर बन्दुक बोकेर उनीमाथि गोली चलाउन आयो। गोलीबारी सुरु भएपछि विल्सन भागे, र भाग्दै गर्दा स्टेसनको कोरिडोर नजिक अधिकारी ड्यानियल गोल्डको छेउ भएर दौडे।

प्रहरीले सार्वजनिक गरेको बडी क्याम र सर्भेलेन्स भिडियोमा गोल्डले विल्सनलाई देखेपछि केही सेकेन्डमै बन्दुक निकालेर पछाडिबाट गोली हानेको देखिन्छ। उनले आफू प्रहरी भएको घोषणा पनि गोली हानेपछि मात्र गरेका थिए। विल्सनलाई अस्पताल लगिएको ३५ मिनेटपछि मृत घोषित गरिएको थियो।

अधिकारीहरूले प्राथमिक उपचारका क्रममा विल्सनसँग एउटा बन्दुक भेटेका थिए। गोल्डले विल्सनलाई “अश्वेत भएको कारणले” अपराधी वा खतरनाक व्यक्ति ठाने, कुनै चेतावनी नदिई गोली प्रहार गरे, जसले उनको “जीवन र स्वतन्त्रता” खोसिएको परिवारको दाबी रहेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

शहरको अभिलेखअनुसार क्षतिपूर्ति दिन सहमति जनाउनु व्यावसायिक निर्णय मात्र हो। तर यसलाई दोष स्वीकार गरिएको मान्न भने नसकिने अधिकारीहरूको भनाइ छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com