आप्रवासी नियन्त्रण कडा पार्न फ्रेन्टेक्सलाई शक्तिशाली बनाउँदै ईयू, ३० हजार अधिकारीसहितको फौज तयार पारिने
प्रकाशित मिति : १० कार्तिक २०८३, मंगलबार
Photo: Christian Lue/ Unsplash
युरोपेली आयोगले मंगलबार युरोपेली संघको सीमा निकाय ‘फ्रेन्टेक्स’को अधिकार क्षेत्रमा व्यापक विस्तार गर्ने प्रस्ताव अगाडि बढाएको छ। यसअनुसार यसलाई युरोपेली संघको सीमा क्षेत्रभन्दा बाहिर पनि कारबाही गर्न सक्ने क्षमता प्रदान गरिनेछ। गत वर्ष स्पेनिश क्षेत्र स्यूटामा आप्रवासीहरूको अत्यधिक भीड लागेको घटनापछि यो प्रस्ताव ल्याइएको हो।
नयाँ प्रस्तावअनुसार फ्रेन्टेक्सको जिम्मेवारी उल्लेखनीय रूपमा बढाइनेछ। यसले एजेन्सीलाई थप स्रोतहरू उपलब्ध गराउनुका साथै गैर-ईयू देशहरूलाई आप्रवासीहरूलाई उनीहरूको आफ्नै देशमा फर्काउन सहयोग गर्न सक्षम बनाउनेछ।
२४ घण्टाभित्रै परिचालन हुन सक्ने र संकट उत्पन्न हुनुअघि नै जोखिम पहिचान गर्न सक्ने विशेष बल गठन गरिनेछ।चरणबद्ध रूपमा ३०,००० अधिकारीहरूको स्थायी फौज तयार पारिनेछ, जसमा १७,००० अधिकारीहरूको नयाँ “युरोपेली सीमा तथा फिर्ती रिजर्भ” पनि समावेश हुनेछ।
फ्रेन्टेक्सभित्रै नयाँ ईयू फिर्ती समन्वय केन्द्र स्थापना गरिनेछ, जसले स्वेच्छिक फिर्ती काउन्सेलिङदेखि लिएर फिर्ता पठाउने प्रक्रिया र पुनस्र्थापना सहयोगसम्मका कामहरू हेर्नेछ।
सीमा सुरक्षासम्बन्धी जोखिमहरूसँग जोडिएको सामाजिक सञ्जालका सामग्रीहरू ट्र्याक गर्न एउटा नयाँ अनलाइन अनुगमन केन्द्र पनि स्थापना गरिनेछ।
फ्रेन्टेक्सको भूमिका फराकिलो बनाइए पनि यसको आन्तरिक अधिकार अनुगमन संयन्त्रको दायरा भने खुम्च्याइएको छ। यसअन्तर्गत उजुरीहरू छानबिनका लागि सम्बन्धित राष्ट्रिय अधिकारीहरूकै जिम्मामा लगाइनेछ।
मानव अधिकारवादी संघसंस्था र केही सांसदहरूले भने यस प्रस्तावको आलोचना गरेका छन्। ग्रिन्स/ईएफए समूहका डच सांसद टिनेके स्ट्रिकले आयोगले आप्रवासीको मुद्दामा लोकप्रियतावादी र अति दक्षिणपन्थीहरूको प्रभावमा परेको बताएकी छिन्। उनले सीमा व्यवस्थापनका लागि मानव अधिकारमा आधारित दृष्टिकोण आवश्यक रहेको र आयोगले फ्रेन्टेक्सलाई अमेरिकाको आइस जस्तो संस्थामा परिणत गर्ने जोखिम रहेको चेतावनी दिएकी छिन्।





