अमेरीकाद्वारा तेस्रो मुलुक देश निकाला: सुरक्षाको ग्यारेन्टीबिना पठाइएका आप्रवासी पुनः खतरामा 


प्रकाशित मिति : ८ कार्तिक २०८३, आइतबार

Photo: Veer Mickey Shah/ Unsplash

अमेरिकामा लामो समयदेखि बसोबास गर्दै आएका र कर तिरिरहेका ५७ वर्षीय मूसा दियावाराको जीवन एकै रातमा बदलियो। उनी मालीका मूल नागरिक हुन्, तर अमेरिकी अदालतले उनलाई माली फर्काउन नमिल्ने आदेश दिएको थियो। मालीमा क्रिश्चियन धर्म अपनाएका कारण उनीमाथि उत्पीडन वा ज्यानको जोखिम हुनसक्ने भएकाले अदालतले उनलाई ‘विथहोल्डिङ अफ रिमुभल’को सुरक्षा अधिकार दिएको थियो।

तर, ट्रम्प प्रशासनको व्यापक देश निकाला अभियानअन्तर्गत अमेरिकी आइसले दियावारालाई उनको कुनै सम्बन्ध वा पहिचान नभएको देश ‘घाना’मा डिपोर्ट गरिदियो।

घाना पुगेलगत्तै त्यहाँका स्थानीय अधिकारीहरूले दियावारालाई जबरजस्ती उडानमा हालेर पुनः उनकै पुरानो देश माली पठाइदिए। दियावाराले भने, “यो एक प्रकारको अपहरण नै हो। मलाई त्यहाँ रकम वा पहिचानपत्र बिना छाडिएको थियो।” पछि उनी केही ट्रक चालकहरूको सहयोगमा ज्यान बचाउन अर्को तेस्रो देश भाग्न सफल भए।

६० मिनेट्सको अनुसन्धान अनुसार, अमेरिकी सरकारले घर फर्कन नमिल्ने आप्रवासीहरूलाई तेस्रो मुलुक पठाउने नीति अपनाएको छ। अमेरिकाले करोडौँ डलर सहयोग दिने शर्तमा घाना, सिएरा लियोन जस्ता देशहरूलाई डिपोर्टीहरू स्वीकार्न लगाएको छ। तर, ती देशहरूले अमेरिकी अदालतको आदेशलाई बेवास्ता गर्दै उनीहरूलाई पुनः उनीहरू भागेर आएकै जोखिमपूर्ण देशहरू माली, नाइजर, नाइजेरियामा फिर्ता पठाइरहेका छन्।

उक्त उडानमा ६३ जना यात्रीहरू थिए, जसमध्ये ६२ प्रतिशतको कुनै आपराधिक पृष्ठभूमि थिएन। दियावारा पनि उबर चालकका रूपमा कार्यरत थिए र उनको कुनै आपराधिक रेकर्ड थिएन।

हाल उनका वकिलले दियावारालाई अमेरिका फिर्ता ल्याउन वासिङ्टन डीसीको संघीय अदालतमा मुद्दा दायर गरेका छन्। यता टेक्सासमा उनकी श्रीमती र दुई अमेरिकी नागरिक छोराछोरी उनको पर्खाइमा छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com