अध्यागमन जालसाजीविरुद्ध युएससीआइद्वारा नयाँ छानबिन केन्द्रको सुरुवात, एआईको प्रयोग गर्ने


प्रकाशित मिति : मंसिर १९, २०८२ शुक्रबार

युएससीआईएसले अध्यागमन जाँचलाई मजबुत बनाउन र राष्ट्रिय सुरक्षाका उपायहरूमा सुधार गर्नका लागि एउटा नयाँ विशेष एकाइको स्थापना गरेको घोषणा गरेको छ। एट्लान्टामा मुख्यालय रहेको भर्खरै स्थापित छानबिन केन्द्रले सार्वजनिक सुरक्षालाई खतरा पुर्‍याउन सक्ने वा ठगी तथा अन्य अध्यागमन उल्लङ्घन गरेका व्यक्तिहरूलाई पहिचान गर्ने एजेन्सीको क्षमतालाई केन्द्रीकृत र सुदृढ गर्ने युएससीआईएसले जनाएको छ ।

युएससीआईएसका अनुसार यस केन्द्रले अध्यागमन आवेदन र निवेदनहरूको समीक्षा बढाउनका लागि धेरै जाँच स्रोतहरूलाई एकीकृत गर्नेछ भने आर्टिफिसियल इन्टेलिजेन्स लगायतका उन्नत प्रविधिहरू अपनाउनेछ। पूर्ण रूपमा सञ्चालनमा आएपछि यसले डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी, कानून प्रवर्तन र गुप्तचर एजेन्सीहरूबाट प्राप्त वर्गीकृत र गैर वर्गीकृत दुवै डेटा प्रयोग गरी प्रारम्भिक र पूरक छानबिन गर्नेछ।

युएससीआईएसका निर्देशक जोसेफ बी एड्लोले यो केन्द्र विकसित भइरहेका खतराहरूप्रति एजेन्सीको प्रतिक्रिया क्षमता सुधार गर्नका लागि डिजाइन गरिएको बताएका छन् । एड्लोले यो छानबिन केन्द्र स्थापना गर्नाले राष्ट्रिय सुरक्षाको संरक्षण गर्न र सार्वजनिक सुरक्षा सुनिश्चित गर्नका लागि थप उन्नत क्षमताहरू प्रदान गर्ने बताएका छन् ।

यो नयाँ पहल विदेशी आतङ्कवादी र अन्य राष्ट्रिय सुरक्षा तथा सार्वजनिक सुरक्षा खतराहरूबाट अमेरिकाको संरक्षण सम्बन्धि राष्ट्रपति ट्रम्पको कार्यकारी आदेश अनुरूप रहेको छ। यसले जोखिम कारकहरूलाई विचार गर्ने थप राष्ट्रिय सुरक्षा उपायहरू, एसाइलम निर्णयहरूमा अस्थायी रोक र होमल्यान्ड डिफेन्डर पदहरूको लागि विस्तारित भर्ती लगायतका हालैका कदमलाई पूरक बनाउने युएससीआईएसको भनाई छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

केन्द्रले सम्भावित समस्याहरू पत्ता लगाउन पहिले नै अनुमोदन भइसकेका आवेदनहरूको पनि समीक्षा गर्ने अधिकारीहरूले बताएका छन्। हालको राष्ट्रिय सुरक्षा दिशानिर्देशहरू अन्तर्गत उच्च जोखिमको रूपमा तोकिएका देशहरूका केसहरूलाई प्राथमिकता दिइनेछ, जसमा अहिलेलाई १९ देशहरु रहेका छन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com