अमेरिकामा ओभरस्टे हुने नेपालीको विवरण सार्वजनिक, एकबर्षमा ३५५६ जना


प्रकाशित मिति : बैशाख १९, २०७६ बिहीबार

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले आर्थिक बर्ष २०१८ मा ओभरस्टे हुने सम्पूर्ण नेपालीको विवरण सार्वजनिक गरेको छ । उनीहरु भिजिटर, विद्यार्थी लगायतका विभिन्न गैर आप्रवासी भिसामा अमेरिका प्रवेश गरेर भिसा सकिएपछि पनि अमेरिका नछाडनेहरु हुन् ।

भिजिटर भिसामा अमेरिका प्रवेश गरेका ११८५ जना नेपालीहरु अमेरिकामा सन् २०१८ मा ओभरस्टे भएका छन् । जसमध्ये २ सय १५ जनाले ओभरस्टे भएको केही समयपछि अमेरिका छाडे भने ९७० जना ओभरस्टे भइसकेपछि पनि अमेरिकामा लुकिछिपी बस्नेहरु हुन् ।

एफ एम जे लगायतका विद्यार्थी भिसामा अमेरिका आएर सन् २०१८ मा ओभरस्टे हुने नेपालीहरुको संख्या २१३९ रहेको छ । जसमध्ये २०४० जना ओभरस्टे भइसकेपछि पनि लुकिछिपी अमेरिकामा नै बसिरहेका छन् भने ९९ जना ओभरस्टे भइसकेपछि अमेरिका छाडेर गएका छन् ।

यो पनि पढ्नुहोस्

ओभरस्टे हुनेमाथि कारवाही गर्न ट्रम्पले गरे मेमोमा हस्ताक्षर

अमेरिकामा एकबर्षमा २१ सय ३९ जना नेपाली विद्यार्थी ओभरस्टे, कारवाहीको तयारीमा सरकार

 

विद्यार्थी र भिजिटर बाहेक अन्य गैर आप्रवासी भिसामा अमेरिका आएर ओभरस्टे हुने नेपालीहरुको संख्या सन् २०१८ मा २ सय ३२ रहेको छ । आर्थिक बर्ष २०१८ मा विश्वभरबाट अमेरिका आएर ओभरस्टे हुनेहरुको संख्या ६ लाख ६६ हजार ५ सय ८२ रहेको छ ।

अमेरिकी सरकारले अमेरिकामा १० प्रतिशतभन्दा धेरै ओभरस्टे हुने देशका नागरिकलाई भिसामा कडाई वा प्रतिबन्ध लगाउने तयारी गरिरहेको छ । यो सन्दर्भमा अमेरिकामा भिजिटर भिसामा आएर ओभरस्टे हुने नेपालीहरुको प्रतिशत सन् २०१८ मा ४ दशमलव ३६ प्रतिशत रहेको छ । त्यस्तै विद्यार्थी भिसामा आएर ओभरस्टे हुने नेपालीहरुको प्रतिशत सन् २०१८ मा ३८ दशमलव ०४ प्रतिशत रहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com