अब जापानमा अनलाइनबाटै भिसा नवीकरण गर्न सकिने
प्रकाशित मिति : चैत्र १३, २०७५ बुधबार

जापानमा अनलाइनबाट पनि भिसाको नवीकरणसम्बन्धी आवेदन स्विकार गरिने न्याय मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयले आगामी जुलाई २५ बाट अनलाइन आवेदन ल्याउने तयारी गरेको छ । यसले भिसासँग सम्बन्धित प्रकृयालाई केही सहज बनाउने अनुमान छ । अनलाइन आवेदन प्रणाली विदेशी नागरिक आफैंले नभई उनीहरु काम गर्ने संस्था वा एजेण्टका अधिकारीहरुको प्रयोगका लागि मात्रै उपलब्ध रहने बताइएको छ । अनलाइनबाट विदेशी नागरिकको जापान बसाइको अवधि लम्ब्याउन र अस्थायि रुपमा जापान छोडेकालाई पुनः प्रवेशको अनुमति दिलाउन पनि प्रयोग गर्न सकिनेछ ।
यसैक्रममा अनलाइन सेवा भिसा स्टेटसमा उल्लेख गरिएको भन्दा बाहेकका गतिविधिमा संलग्न हुने अनुमति पाउन पनि प्रयोग गर्न सकिनेछ । जापानले श्रमिक अभावसँग जुझ्न बढी भन्दा बढी विदेशी कामदारलाई जापान ल्याउने प्रयास गरिरहेकाबीच यस्तो घोषणा बाहिरिएको हो ।
सुरुवाती चरणमा मन्त्रालयले उच्च कौशल भएका कर्मचारी, विश्वविद्यालयका प्राध्यापक, अनुसन्धानकर्ता र सरकारी प्रायोजन अन्तर्गतको प्राविधिक प्रशिक्षण कार्यक्रममा सहभागि हुने इन्टर्नका आवेदन अनलाइनबाट स्विकार गर्ने भएको छ । यद्यपि कूटनीतिज्ञ, छोटो समयका लागि जापान भ्रमणमा आउनेहरु र अप्रिल १ देखि लागू हुने नयाँ भिसा प्रणालीमा पर्नेहरु भने अनलाइनबाट यो आवेदन दिन पाउँदैनन् । अन्य भिसाका सम्बन्धमा प्रनि स्पष्ट समाचार नआएका भएपनि एनएचके अनलाइनले भने कलेजका विद्यार्थी र रिसर्चमा संलग्नहरुका लागि प्राथमिकतामा राखिएको लेखेको छ ।
विगत पाँच वर्षमा श्रम वा अध्यागमन कानून उल्लङ्घन नगरेर विदेशी कामदार भित्रयाएका रोजगारदाताले यो अनुमति पाउने छन् । साथै ती संस्थाले विगत तीन वर्षमा जापानको कानूनी र नियमनकारी दायराभित्रै रहेर आफूले विदेशी नागरिक भित्रयाएको प्रमाण पनि दिनुपर्ने छ ।
यसको प्रयोग गर्दा कुनै पनि शुल्क नलाग्ने र अनलाइन सेवा २४ घण्टा नै उपलव्ध हुने बताइएको छ । यस प्रणालीले भिसा आवेदन सम्बन्धी प्रकृयालाइ सरल बनाएर आवेदकहरुलाई सहयोग गर्ने मन्त्रालयले आशा लिएको छ