अमेरिकामा ओभरस्टे हुनेको ट्रयाकिङ , गतबर्ष ५६४ नेपाली ओभरस्टे


प्रकाशित मिति : पुस १९, २०७३ मंगलबार

 

किशोर पन्थी

अमेरिकामा गैर आप्रवासी भिसामा छिरेर ओभरस्टे हुनेहरुको ट्रयाकिङ गर्नुपर्ने माग तीब्र भइरहदा मंगलबार अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले पर्यटक भिसामा अमेरिका आएर ओभरस्टे हुनेहरुको बारेमा बहुप्रतिक्षित रिपोर्ट सार्वजनिक गरेको छ । अमेरिकामा घुम्न आएर ओभरस्टे हुनेहरुबिरुद्ध व्यवस्थीत ट्रयाकिङ सुरु गरिएको जनाउँदै अमेरिकी सरकारले यस्तो रिपोर्ट सार्वजनिक गरेको हो । रिपोर्टसँगै अहिलेसम्म अमेरिका छिरेकाहरुको बारेमा अध्यागमन अधिकारीहरुले पोर्ट अफ इन्ट्रीमा विवरण राख्दै आएपनि अमेरिका छाडेर जानेहरुको बारेमा विस्तृत जानकारी राख्ने प्रणालीको विकाश नभएकोमा अब त्यो प्रणालीलाई व्यवस्थीत गराउन थालिएको छ ।

ओभरस्टे हुनेहरुको बारेमा सही ट्रयाकिङ गर्न नसक्दा अमेरिकी भिसा प्रणालीमा भएको कमजोरीको फाइदा आतंकवादीहरुले लिन सक्ने डर बढिरहदा अमेरिकी सरकारले पर्यटक भिसामा आएर ओभरस्टे हुनेहरुका बारेमा पहिलो पटक विस्तृत विवरण सार्वजनिक गरेको हो । ओभरस्टे हुनेहरुको पहिचान गर्नु राष्ट्रिय सुरक्षा, सार्वजनिक सुरक्षा, अध्यागमन कानुनको पालनाका सन्दर्भमा महत्वपूर्ण हुने अमेरिकी सरकारले स्पष्ट पारेको छ ।

होमल्याण्ड सेक्युरिटीले सन् २०१३ को डिसेम्बर सम्ममा नै ओभरस्टे सम्बन्धको रिपोर्ट सार्वजनिक गर्ने प्रतिबद्धता जनाएपनि झण्डै दुईवर्ष ढिलो गरी अहिलेमात्र रिपोर्ट सार्वजनिक गरेको हो । अब यस्तो रिपोर्ट हरेक वर्ष सार्वजनिक हुने भएको छ । सेप्टेम्बर ११ को हमलाका विमान अपहरणकारीहरुमध्ये २ जना भिसा ओभरस्टे भएकाहरु रहेको पुष्टी भएपनि अमेरिकी सरकारलाई भिसा ओभरस्टे हुनेहरुका बारेमा सही र स्पष्ट जानकारी राख्न दवाव बढेको थियो ।

२० वर्ष अगाडि नै अमेरिकी संसदले अमेरिकामा ओभरस्टे हुनेहरुको बारेमा ट्रयाक गर्ने कानुन पारित गरेपनि अमेरिकी प्रणालीमा रहेको परम्परागत शैलीका कारण भिसा बाँकी छँदै अमेरिका छाड्ने र अमेरिकामा आएर ओभरस्टे हुनेहरुको बारेमा चुस्त दुरुस्त तरिकाले रिपोर्ट राख्न मुस्किल परिरहेको थियो । सेप्टेम्बर ११ को हमला पछि अमेरिकाको सरकारले प्रणालीको विकाशका लागि मिलियन डलर खर्च गरिसकेको छ । यसैबीच होमल्याण्ड सेक्युरिटीका अधिकारीहरुले सिनेट समक्षको बुधबारको सुनुवाईमा अमेरिका छाडेर बाहिरिनेहरुको जानकारी संकलनका लागि अमेरिकाको कस्टम एण्ड बोर्डर प्रोटेक्सनले नयाँ प्रविधिको परिक्षण गरिरहेको बताएका छन् । फेसियल रिकग्निसन सहितको त्यस्तो प्रविधि मंगलबारदेखि जोन अफ केनेडी विमानस्थलमा सुरु गरिसकिएको छ ।

ओभरस्टे हुने नेपालीहरु

अमेरिकामा वर्षेनी हजारौं नेपालीहरु पर्यटक भिसामा आउने गर्छन् । घुम्न वा बिजनेशको शिलशिलामा बी भिसामा अमेरिका आउने नेपालीहरुको संख्या वर्षेनी बढ्दो रहेको छ । तर यसरी आउने नेपालीहरु ठूलो संख्यामा अमेरिकामा नै बस्दै आएका छन् । र पर्यटक भिसामा अमेरिका आएर नेपाल नर्फकी अमेरिकामा नै बस्ने नेपालीहरुको संख्या पनि बढ्दो रहेको छ ।

सन् २०१४ को अक्टोबरदेखि सन् २०१५ को सेप्टेम्बरभित्र (आर्थिक वर्ष २०१५) भित्र नेपाल फर्किसक्नुपर्ने नेपालीहरुको संख्या १५ हजार ३ सय ३२ जना रहेकोमा उनीहरुमध्ये कैयन नेपालीहरु नेपाल नफर्केर अमेरिकामा नै बसेको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनाएको छ । उनीहरुमध्ये अधिकांश सन् २०१४ को अप्रिलको पहिलो सातादेखि सन् २०१५ को मार्चको अन्तिम साताभित्र पर्यटक वा बिजनेश (बी) भिसामा अमेरिका छिरेकाहरु थिए ।

आर्थिक वर्ष सन् २०१५ भित्र अमेरिका छोड्नुपर्ने बी भिसामा आएका १५ हजार ३ सय ३२ जना नेपालीहरुमध्ये १४ हजार ७ सय ६८ जनाले तोकिएको समयमा नै अमेरिका छाडेर नेपाल फर्किएका थिए । तर बाँकी ५६४ जना नेपालीहरु या त भिसाको अवधि सकिएपछि अमेरिका छाडेर नेपाल फर्किएको या त भिसाको अवधि सकिएपछि पनि अमेरिकामा नै बसिरहेको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनाएको छ ।

अमेरिकी सरकारका अनुशार ५६४ जना मध्ये ७२ जना नेपालीहरु भिसाको अवधि सकिएर ओभरस्टे भइसकेपछि अमेरिका छाडेर नेपाल फर्केका थिए भने आर्थिक वर्ष २०१५ मा अमेरिका छाडेर नेपाल फर्कनुपर्ने बी भिसामा रहेका ४९२ जना नेपालीहरु भिसाको अवधि सकिएपछि पनि अमेरिकामा नै बसिरहेका छन् । अमेरिकामा बी भिसामा आएका नेपालीहरुमध्ये भिसाको उल्लंघन गरेर ओभरस्टे हुनेहरु आर्थिक वर्ष २०१५ मा ३ दशमलव ६८ प्रतिशत रहेको र नेपाल नफर्केर अमेरिकामा नै बस्नेहरु ३ दशमलव २१ प्रतिशत रहेको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको तथ्यांकले देखाएको छ ।

दक्षिण एसियामा नेपाली चौथो

अमेरिकी सरकारको तथ्यांक अनुशार ओभरस्टे हुने नेपालीहरुको प्रतिशत अन्य कैयन देशहरुको तुलनामा उच्च हो । किनभने तीनप्रतिशत भन्दा कम ओभरस्टे दर रहेका देशहरुको सुची निकै लामो रहेको छ । नेपालीहरुभन्दा धेरै ओभरस्टे हुने देशका नागरिकहरुको सुची पनि लामो नै रहेको छ । दक्षिण एसियाका अन्य देशका नागरिकहरुसँगको तुलनात्मक अध्ययन गर्दा नेपालीहरु प्रतिशत र संख्या दुबैका हिसाबले पर्यटक भिसामा अमेरिका आएर भिसा अवधि सकिएपछि पनि नफर्कनेमा चौथो नम्बरमा रहेका छन् ।

पयर्टकभिसामा अमेरिका छिरेका १० दशमलव २५ प्रतिशत अफगानीहरु आर्थिक वर्ष २०१५ मा भिसाको अवधि समाप्तीपछि पनि अमेरिकामा नै बसे जुन कुल संख्याको हिसाबले २१९ जना हो । त्यस्तै २३ दशमलव ९८ प्रतिशत भुटानीहरु भिसाको अवधि सकिएपछि पनि अमेरिका छाडेर फर्केनन् जुन संख्याको हिसाबले १ सय ६ हो । पर्यटक भिसामा आएर नफर्कने बंगलादेशका नागरिकहरुको संख्या पनि ३ दशमलव ९७ प्रतिशत रहेको छ जुन संख्याको हिसाबले ११४७ हो । पयर्टक भिसामा अमेरिकामा आएर नफर्कने भारतीयहरुको संख्या आर्थिक वर्ष २०१५ मा १ दशमलव ४६ प्रतिशत रहेको थियो । प्रतिशतका हिसाबले कम देखिएपनि यो संख्या १२ हजार ८ सय ५ हो ।

दक्षिण एसियाको अर्को मुलुक माल्दिभ्सका नागरिकहरु भने पर्यटक भिसामा अमेरिकामा आएर निकै कममात्र अमेरिकामा बसे । आर्थिक वर्ष २०१५ मा माल्दिभ्सका २४३ जना नागरिकहरु अमेरिका छाडेर स्वेदश फर्कनुपर्नेमा १ जनामात्र फर्केनन् । अरु सबैजना फर्के । जुन शुन्य दशमलव ४१ प्रतिशत हो । आर्थिक वर्ष २०१५ मा पाकिस्तानबाट अमेरिकामा पर्यटक भिसामा आएकाहरुमध्ये २ प्रतिशत अमेरिकामा नै बसे, जुन संख्याको हिसाबले १४३५ हो । त्यस्तै अमेरिकामा पर्यटक भिसामा आएका श्रीलंकनहरुमध्ये २ दशमलव ६८ प्रतिशत अमेरिकाबाट फर्केनन् , जुन संख्याको हिसाबले ४३९ हो ।

प्रतिशतको हिसाबले हेर्दा दक्षिण एसियाका ८ वटा मुलुकहरुमध्ये प्रतिशतका हिसाबले हेर्दा अमेरिकामा पर्यटकभिसामा छिरेर स्वदेश नफर्कनेहरुमा भुटानीहरु सबैभन्दा अगाडि रहेका छन् । दोश्रोमा अफगानीहरु रहेका छन् । तेश्रोमा बंगलादेशीहरु रहेका छन् भने नेपालीहरु चौथो नम्बरमा रहेका छन् । पाँचौंमा श्रीलंकन र छैठौंमा पाकिस्तानीहरु रहेका छन् । भारतीयहरु प्रतिशतका हिसाबले सातौंमा रहेका छन् भने माल्दिभ्सका नागरिकहरु आठौंमा रहेका छन् ।

तर संख्याको हिसाबले हेर्दा भने अमेरिकामा पर्यटक भिसामा आएर स्वदेश नफर्कनेहरुमा सबैभन्दा धेरै भारतीयहरु रहेका छन् भने दोश्रोमा पाकिस्तानीहरु रहेका छन् । तेश्रोमा बंगालादेशीहरु रहेका छन् भने चौथोमा नेपालीहरु रहेका छन् । संख्याको हिसाबले पर्यटक भिसामा आएर भिसा सकिएपछि पनि अमेरिका बस्नेमा पाँचौं नम्बरमा श्रीलंकनहरु रहेका छन् भने छैठौंमा अफगानीहरु रहेका छन् । सातौंमा भुटानीरु रहेका छन् भने माल्दिभ्सका नागरिकहरु आठौं नम्बरमा रहेका छन् ।

नफर्कनेहरु संख्याको हिसाबले बढ्दो, प्रतिशतको हिसाबले घट्दो

आर्थिक वर्ष २०१४ को तुलनामा अमेरिकामा पर्यटक भिसामा आएर भिसा अवधि सकिएपछि पनि नफर्कने नेपालीहरुको संख्या बढ्दो रहेको छ । आर्थिक वर्ष सन् २०१४ मा पर्यटकभिसामा आएका ११ हजार ८ सय ९५ जना नेपालीहरु स्वदेश फर्कनुपर्नेमा ३९ जना भिसाको अवधि सकिएपछि ओभरस्टे भएर फर्केका थिए भने अन्य ४ सय १४ जना पर्यटक भिसामा आएका नेपालीहरु भिसा सकिएपछि पनि अमेरिकामा नै बसे, नेपाल फर्केनन् । आर्थिक वर्ष २०१४ मा ओभरस्टे हुने नेपालीहरुको कुल संख्या ४५३ रहेको थियो । यस अर्थमा अमेरिकामा पर्यटक भिसामा आएकाहरुमध्ये ३ दशमलव १ प्रतिशत नेपालीहरु ओभरस्टे हुन पुगे भने ३ दशमलव ४८ प्रतिशत नेपालीहरु ओभरस्टे भइसकेपछि पनि अमेरिकामा नै बसिरहे ।

आर्थिक वर्ष २०१५ मा ७२ जना नेपालीहरुले ओभरस्टे भइसकेपछि अमेरिका छाडे जुन अघिल्लो वर्षको तुलनामा ३३ जनाले धेरै हो । त्यस्तै आर्थिक वर्ष सन् २०१५ मा भिसा अवधि सकिएपछि बस्ने नेपालीहरुको संख्या ४९२ पनि अघिल्लो आर्थिक वर्षको तुलनामा ३९ जनाले धेरै हो । प्रतिशतको हिसाबले भने आर्थिक वर्ष २०१४ को तुलनामा २०१५ मा भिसा अवधि सकिएपछि पनि नफर्केर अमेरिकामा नै बसिरहने नेपालीहरुको संख्या केही कम छ । २०१४ मा यो प्रतिशत ३ दशमलव ४८ थियो भने २०१५ मा घटेर ३ दशमलव २१ मा झरेको छ । भिसा अवधि सकिएपछि अमेरिका छाड्नेहरुसहित कुल ओभरस्टे हुने नेपालीहरु आर्थिक वर्ष सन् २०१४ मा ३ दशमलव १ प्रतिशत रहेकोमा २०१५ मा केही घटेर ३ दशमलव ६८ प्रतिशतमा झरेको छ ।

सबैभन्दा धेरै ओभरस्टे हुनेहरु क्यानेडियन

विश्वभरका नागरिकहरुमध्ये अमेरिकामा पर्यटक (बी) भिसामा आएर सबैभन्दा धेरै ओभरस्टे हुनेहरुमा क्यानेडियनहरु सबैभन्दा धेरै रहेका छन् । आर्थिक वर्ष २०१५ मा ९९ हजार ९ सय ६ जना क्यानेडियनहरु अमेरिकामा ओभरस्टे भए भने त्यसमध्ये ९३ हजार ३५ जना त ओभरस्टे भइसकेपछि पनि क्यानडा नफर्केर अमेरिकामा नै बसिरहे । क्यानेडियनपछि अमेरिकामा ओभरस्टे हुने सबैभन्दा धेरै मेक्सिनहरु रहेका छन् । आर्थिक वर्ष २०१५ मा ४५ हजार २ सय ७२ जना मेक्सिकनहरु अमेरिकामा ओभरस्टे भए ।

१३ हजार ४ सय ७ जना फ्रान्सेली, २२ हजार ५ सय ५४ जना जर्मन, १८ हजार ९९७ इटालियन, १८ हजार ९ सय ५० जना बेलायती, ३६ हजार ९९१ जना ब्राजिलियन, १८ हजार २ सय ४६ जना चाइनिज र १७ हजार १ सय ५५ जना कोलम्बियनहरु आर्थिक वर्ष २०१५ मा अमेरिकामा ओभरस्टे भए ।

ओभरस्टे हुने विश्वभरका नागरिकहरु

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका अनुशार घुमघामको शिलशिलामा बी भिसामा अमेरिकामा आएका ४ करोड ४९ लाख २८ हजार ३ सय ८१ जनाले आर्थिक वर्ष सन् २०१५ मा अमेरिका छाडेर उनीहरुका देशमा फर्कनुपर्ने थियो । तर त्यसमध्ये १ दशमलव १७ प्रतिशत अमेरिकामा ओभरस्टे भए । अर्थात् ५ लाख २७ हजार १ सय २७ जना पर्यटक भिसामा अमेरिका आएकाहरु भिसा अवधि सकिएपछि पनि अमेरिकामा नै बसिरहे । जसमध्ये ५ लाखको हाराहारीमा पर्यटक भिसामा आएकाहरु अमेरिका छाडेर फर्केनन् भने बाँकी भिसा अवधि सकिएपछि ओभरस्टे भएर अमेरिकाबाट फर्के ।

आर्थिक वर्ष सन् २०१५ मा ओभरस्टे भइसकेपछि अमेरिकामा नै लुकिछिपी बस्नेहरुको संख्या ४ लाख ८२ हजार ७ सय ८१ रहेको थियो । तर सन् २०१६ को जनवरी ४ सम्मको तथ्यांक अनुशार तीमध्ये ६६ हजार २ सय ८१ जना अमेरिका छाडेर फर्किसकेका छन् । अहिले आर्थिक वर्ष २०१५ मा भिसाको अवधि सकिएकाहरुमध्ये ४ लाख १६ हजार ५ सय जना अझै अमेरिकाभित्रै रहेका छन् । रिपोर्टमा उल्लेखित ओभरस्टे हुनेहरु बी भिसा वा भिसा वेभर कार्यक्रम अन्तरगत अमेरिका छिरेकाहरु हुन्, जसमा विद्यार्थी वा अन्य गैर आप्रवासी भिसामा अमेरिका छिर्नेहरुको संख्या उल्लेख छैन ।

रिपोर्टमा कुल संख्या हेर्दा भिसा वेभर कार्यक्रम अन्तरगत आएका देशका नागरिकको तुलनामा बी भिसामा आएका देशका नागरिकहरु धेरै संख्यामा ओभरस्टे भएका छन् । विश्वका ३८ वटा देशहरु भिसा वेभर कार्यक्रममा सहभागी रहेका छन्, जुन देशका नागरिकहरु विना भिसा नै ९० दिनसम्म अमेरिकाको भ्रमण गर्न पाउँछन् ।

First Published : 20 Jan 2016

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com