अष्ट्रेलियामा शताब्दीकै शक्तिशाली बाढी,२० हजार घर परिवार प्रभावित


प्रकाशित मिति : माघ २३, २०७५ बुधबार

अष्ट्रेलियामा भीषण बाढी आएको छ । सो बाढीबाट मङ्गलबार मात्र दुई जनाको ज्यान गएको जनाइएको छ । केही दिनदेखि अविरल वर्षा भइरहेको अष्ट्रेलियामा वर्षाका कारण जनजीवनमा ठूलो क्षति पुगेको बताइएको छ ।

उद्धारकर्मीहरुले टाउन्सभिल क्षेत्रबाट ६५० जना स्थानीयको उद्धार गरेका र सो क्षेत्रका करिब २० हजार घर परिवारलाई सहायता जरुरी भएको एएफपीले जनाएको छ ।

उनीहरु बाढीको चपेटामा परेका छन् भने बिजुली, खानेपानी तथा अरु आधारभूत आवश्यकताबाट पनि वन्चित हुन पुगेका छन् । बाढीका कारण सयौं सर्प र गोहीहरु मानव बस्तीमा पस्दा जनजीवन थप आतंकित बनिरहेको सिएनएनले जनाएको छ ।

अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसनले यो शताब्दीकै शक्तिशाली बाढीका कारण देशमा ठूलो क्षति पुगेको बताएका छन् । उनले उद्धार र सहायताको काममा खट्न देशका सुरक्षाकर्मी तथा उद्धारकर्मीहरुलाई आग्रह गरेका छन् ।

अष्ट्रेलियाको उत्तरपूर्वी क्षेत्रमा पर्ने यस टाउन्सभिललाई बढी प्रभावित पारेको छ । उक्त क्षेत्रमा अरु केही घन्टासम्म पानीको मात्रा नघट्ने मौसम अधिकारीहरुले जनाएका छन् ।

बाढीबाट कुनै नेपाली प्रभावित भएको खबर भने अहिलेसम्म प्राप्त भएको छैन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com