बेहुलो बनेर बुहारी लिन गएको कान्छो छोरो लाश बनेर आगनमा आईपुग्यो


प्रकाशित मिति : माघ १६, २०७५ बुधबार

सानु अधिकारीको घरमा भोजका लागि सबै सामग्री तयार थिए । उनको छोराको विवाहको अवसरमा करिब हजार जनालाई निम्ता बाँडिएको थियो । दुलही लिन गएका ६ जन्ती चढेको बसमा करेन्ट लागेर मृत्यु भएपछि सायद अब त्यो भोज हुने छैन ।

कान्छो छोराको विवाहले ६० वर्षीया सानु औधि खुसी थिइन् । शुक्रबार बिहानै घरभरि निम्तालुको भीड थियो । भीडभाडमै सानुले छोरा रामवरणलाई शृंगारपटार गरेर बेहुलो बनाई पठाइकी थिइन् ।

झन्डै दुई सयको संख्यामा जन्तीलाई धनुषा बेहुली लिनका लागि बिदा गरिन् । छोरा बेहुली लिएर घर आउने प्रतीक्षामा थिइन् । घरमा नाचगान चल्दै थियो ।
तर सानुको दिनभरिको खुसी साँझ बिजुलीको तार टुटेजस्तै टुट्यो । बेहुली लिएर घर फर्कंदै गर्दा जन्ती लिएर आउने छोरा घर आउनुभन्दा अगाडि जन्तीबस करेन्ट लागेर ६ जनाको मृत्युको खबरले सानुको खुसी क्षणभरमै पीडामा फेरियो ।

अधिकारी परिवारले विधिवत् रूपमा बेहुली भित्र्याउने काम अहिलेसम्म भएको छैन । गाउँका ६ जनाको मृत्यु भएपछि अहिले जितपुर गाउँ शोकमा डुबेको छ । झन्डै हजार जनालाई खुवाउने भोजका लागि तयार गरिएको ७ वटा खसी, चामल, चिउरा, तरकारी र अन्य सामग्री भण्डारमै छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कान्छो छोराको बिहे भएकाले धुमधामसाथ भोज गर्ने सपना भए पनि दु:खद् घटनाका कारण गर्न नसकेको रामप्रसादले बताए ।
‘धुमधामसँग छोराको विवाह गर्ने काम पूरा हुन सकेन । आफन्त गुमाउनुको पीडा खपिनसक्नु छ,’ उनले भने, ‘६ बहिनी छोरी र जेठो छोराको विवाहमा गर्न नसकेको रमाइलो कान्छो छोराको बिहेमा गर्ने कुरा थियो ।’

सिन्धुली फर्कंदै गरेको बेला धनुषाको सबैलामा लत्रिएको तारमा जन्ती चढेको बसले छोएपछि करेन्ट लागेको थियो । घटनास्थलमा ६ जनाको मृत्यु र दर्जन बढी घाइते भए । घटना भएको चार दिनपछि पनि गाउँ शोकमा छ ।

‘घटना भएपछि गाउँमा उज्यालो नै भएको छैन,’ स्थानीय भरत अधिकारीको भनाइ छ ।ब्रह्मलाल अधिकारीका नाति सुरज र नातिनी लीलाको मृत्यु भएको छ । गाउँका अगुवा रामबाबु अधिकारीको मृत्युले सबैलाई पिरोलेको छ । जितपुरका बासिन्दाका लागि उनी अभिभावक थिए । बिजुलीको लत्रिएको तारले बस छोएपछि एक्कासि करेन्ट लाग्यो ।

‘पहिले झड्का लाग्दा नै पूरै भूकम्प गएजस्तो भयो । त्यसपछि कोही बेहोस भए, कोही चिच्याउन थाले,’ भरतले भने, ‘धनुषा जाने बेला बिहान जाँदा पनि बिजुलीको तार उचाल्दै बेहुलीको घर पुगेका थियौं ।’ रातिमा बिजुलीको तार नदेखिएकाले बसमा करेन्ट लागेको उनको भनाइ छ ।

धनुषाको सबैला नगरपालिकाको केठिया बल्टियाका रामभरोस कुँवरकी २२ वर्षीया छोरी सरस्वती कुँवरसँग रामवरणको विवाह गर्ने तय भएको थियो । दिनभरि दनुवार परम्परा, संस्कार र संस्कृतिअनुसार रामवरण र सरस्वतीको विवाह कार्यक्रम भयो ।

विभिन्न विधिअनुसार विवाह भइरहेको थियो । अझै दुईवटा विधि बाँकी थियो । त्यसका लागि ढिला हुने भएकाले जन्तीलाई विवाह कार्यक्रम नसकिँदै बिदा गरी पठाइएको थियो । दुईमध्ये एक बसमा फर्कंदै गरेका जन्तीमध्ये एउटा बसमा करेन्ट लाग्यो ।

‘पहिलो झटका लाग्दै बसका चालक टेकबहादुर खत्री गाडी छोडेर भागे’ दुलहाका भाइ भरतले भने, ‘पहिलो झड्का लागेपछि बिजुली बन्द भयो, ड्राइभर भागे र कोही चिच्याउँदै बसबाट ओर्लिए । केही भित्रै ढले ।’

बेहुलीको घरबाट बिदा भएर केही पर नपुग्दै जन्ती चढेको ना५प १७५२ नम्बरको बसमा करेन्ट लाग्यो । घटनामा मृत्यु हुनेहरूमा ४५ वर्षीय रामबाबु अधिकारी, १९ वर्षीया लीलाकुमारी अधिकारी, २१ वर्षीया पूजा अधिकारी, १० वर्षीय सुरज अधिकारी, ८ वर्षीय आक्रोश अधिकारी र धनुषा सबैलाकी ६५ वर्षीया केशमदेवी कुँवर रहेका छन् । हाल उनीहरूको काजकिरिया चलिरहेकाले विवाहको सबै काम बन्द छ ।

‘चालकले लापरबाही गर्दा बसमा करेन्ट लाग्यो,’ बेहुलाका ६४ वर्षीय बुवा रामप्रसाद अधिकारीले भने, ‘बिहान बिजुलीको तार लत्रिएको देखेका थियौं, बेलुका चालकले ख्याल गरेनन् ।

चालकले मादक पदार्थ सेवन गरेकाले जबरजस्ती गर्‍यो,’ उनले भने, ‘जथाभावी नांगो तार छोडेर विद्युत् प्राधिकरणको लापरबाहीले गर्दा दु:खद् घटना भयो ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com