अमेरिकाबाट धमाधम डिपोर्ट हुँदै नेपाली (सूचीसहित)


प्रकाशित मिति : पुस २०, २०७५ शुक्रबार

राजेश भण्डारी

मनभरी ‘अमेरिका सपना’ अँगाल्दै महिनौँ लगाएर मेक्सिकोको पर्खाल नाघ्दा म्याग्दीका आसबहादुर गर्बुजा (नाम परिवर्तन)ले सोचेका थिए, ‘अब मेरा दुःखका दिन सकिए ।’

तर त्यस्तो किन हुन्थ्यो ? अमेरिका सपना देखाउने गोरखाका एक ‘दलाल’लाई २७ लाख दिएर बल्ल–बल्ल अमेरिका पुगेका आसबहादुर बाटोमा पटक–पटक लुटिए, बन्दी बनाइए । अनि, अमेरिका पुगेको केही समयपछि त्यहाँको सरकारले ‘विशेष विमान’मार्फत आसबहादुरसहित ४ जनालाई काठमाडौँको त्रिभुवन विमानस्थलमा ओरालिदियो । सपना सब चकनाचुर भयो ।

‘दलाल’को भर परेर अमेरिका हिँडेका आसबहादुरलाई काठमाडौंबाट बस चढाएर दिल्ली लगियो । दिल्लीबाट पन्जावस्थित अहमदाबाट पुग्दा उनीसहित ४ नेपाली सँगै थिए ।

२०१७ सेप्टेम्बर ४ मा आसबहादुरको पासपोर्टमा ‘दलाल’ले भेनेजुएलाको भिसा लगाइदिएका थिए । दिल्लीबाट दुबईको अबुधावी, ब्राजिलको साओपाउलो त्यसपछि पेरु, इक्वेडर हुँदै आसबहादुर कोलम्बिया पुगेका थिए । कोलम्बिया पुगेपछि ‘दलाल’ले भनेबमोजिम नेपालबाट मगाएर करिब ७ लाख उनले दलालको हातमा पारिदिए । कोलम्बियामा केही पैसा दिनुपर्ने शर्त ‘दलाल’सँग काठमाडौँमै तय भएको थियो ।
कोलम्बियामा दुई महिना बन्दीजस्तै बनेर बसेका आसबहादुर त्यहाँबाट पनामा पुगे ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘पनामा पुगेपछि म एक महिना बसेँ’ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा ठगीको जाहेरी दिन पुगेका आसबहादुरले केही समयअघि भनेका थिए, ‘पनामाबाट  कोस्टारिका पुगेर दुई साता बसेँ, निकारागुवा पुगेपछि मेरो ब्याग र पैसा लुटियो !’

आसबहादुर निकारागुवाबाट होन्डुरस पुग्छन्, त्यहाँ लुटेराहरूले उनको जुत्ता पनि लुट्छन् ।

ग्वाटेमालामा दुई महिना दलालहरूले उनलाई ‘बन्दी’ बनाएर राख्छन् । त्यसपछि मेक्सिकोको पर्खाल नाघेर आसबहादुर अमेरिकातर्फ हाम्फाल्छन्, त्यतिन्जेलसम्ममा उनले ‘दलाल’लाई २७ लाख बुझाइसकेका हुन्छन् ।

मेक्सिकोतर्फबाट पर्खाल नाघेर अमेरिका छिरेको केही घण्टामा अमेरिकन प्रहरीको ‘बोर्डर पट्रोल’ टिमले उनलाई भेट्छ, आसबहादुर समातिन्छन् ।

प्रहरीले एरिजोना स्टेटमा रहेको रिफ्युजी क्याम्पमा राख्छ । अब १० महिनासम्म आसबहादुर अमेरिका बस्न पाउने नपाउने मुद्दा लड्छन् ।

अन्ततः अमेरिकी सरकारले २०१७ जनवरी १४ मा विशेष विमानबाट आसबहादुरसहित चार नेपालीलाई डिपोर्ट गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओरालिदिन्छ ।

‘यसरी अवैध बाटोबाट अमेरिका जाँदा हरेक देशमा उनीहरूको ज्यानको खतरा थियो’, आसबहादुरसहित चार नेपालीको घटनालाई नजिकबाट नियालेका केन्द्रीय अनुसन्धान ब्युरोका डीएसपी राजकुमार सिलवाल भन्छन्, ‘अवैध बाटोबाट अमेरिका जाने धेरै नेपाली अलपत्र परेका छन् । त्यसकारण गलत बाटोबाट अमेरिका नजान हामी आग्रह गर्छौं ।’

आसबहादुर र उनीसँग गएका अन्य तीनजना उदाहरण मात्र हुन् । पछिल्लो सयम ‘अमेरिका सपना’ अँगालेर त्यहाँ पुग्ने र गैह्रकानुनी तरिकाले बसिरहेका नेपालीहरू धमाधम ‘डिपोर्ट’ हुन थालेका छन् ।

सन् २०१७ जनवरी २० मा डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतिको बागडोर सम्हालेपछि डिपोर्ट हुने नेपालीको सङ्ख्या ह्वात्तै बढेको छ ।

अध्यागमन विभाग र प्रहरी प्रधान कार्यालयको रेकर्डअनुसार २०१७ मार्च १७ देखि अहिलेसम्म ६० जना नेपालीलाई अमेरिका सरकारले डिपोर्ट गरिसकेको छ ।

त्यसो त अमेरिकाले डिपोर्ट गरेको तर नेपालको अध्यागमन विभागलाई जानकारी नभएका नेपालीहरूको सङ्ख्या पनि धेरै रहेको जानकारहरू बताउँछन् ।

‘अमेरिकाले डिपोर्ट गरेर हामीलाई जानकारी गराएको र विमान कम्पनीलाई कागजातसहित मान्छे जिम्मा लगाएको बाहेक अन्य डिपोर्टेडहरूको सङ्ख्या थाहा नै हुँदैन्’, अध्यागमन विभागका सूचना अधिकारी (उपसचिव) विष्णुहरि उपाध्याय भन्छन्, ‘त्रिभुवन विमानस्थलको आगमन कक्षमा नेपालीलाई रोकावट नहुने हुँदा डिपोर्टेडहरूको रेकर्ड अपटुडेट गर्न सकिएको छैन ।’

सन् २०१५ जुन १६ मा राष्ट्रपतिमा उम्मेदवारी घोषणा गर्दा डोनाल्ड ट्रम्पले आप्रवासनसम्बन्धी नीति प्रस्ताव गर्दै गैरकानुनी रूपमा अमेरिकामा रहेका आप्रवासीविरुद्ध कदम चाल्ने र मेक्सिकोतर्फको अमेरिकी सीमालाई व्यवस्थापन गर्ने प्रस्ताव गरेका थिए ।

मेक्सिकोतर्फको सिमानाबाट अवैध तरिकाले छिर्नेहरूलाई नराम्रो आँखाले हेर्दै आएको ट्रम्प सरकारले नेपालबाट अमेरिका गएर अवैध रूपमा बसेकाहरूमध्ये ओभरस्टे, अवैध प्रवेश, भिसा नभएका, आप्रवासी भिसाबिना प्रवेश गर्ने र मापसे गरेर गाडी चलाएको लगायतका चार्ज लगाएर नेपालीहरूलाई धमाधम डिपोर्ट गरिरहेको छ ।

चुनावी सभाहरूमा भाषण गर्दा ट्रम्पले सन् २०१५ अगस्टमा आफ्नो आप्रवासी नीतिमा कागजपत्र नभएका सबै आप्रवासीलाई एकै पटक डिपोर्ट गर्ने प्रस्ताव गरेका थिए । त्यसका लागि आफूले एउटा डिपोर्टेसन फौज बनाउने प्रस्ताव गरेका ट्रम्पले त्यसरी फौज नै नबनाए पनि नेपाली आप्रवासीहरूलाई अनेक बहानामा कडाइ गरिएको लामो समयदेखि अमेरिका बस्दै आएकाहरू बताउँछन् । अमेरिकामा कागजपत्र नभएको आप्रवासीको सङ्ख्या एक करोडभन्दा बढी रहेको छ ।

यस्तो छ, ट्रम्प आएपछि डिपोर्ट हुने नेपालीहरूको विवरण :

Ratopati

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com