अष्ट्रेलियामा हराइरहेका नेपाली विद्यार्थी निश्चल घिमिरेको शव फेला


प्रकाशित मिति : पुस १४, २०७५ शनिबार

अष्ट्रेलियामा हराइरहेका नेपाली विद्यार्थी निश्चल घिमिरे मृत अवस्थामा भेटिएका छन् । २२ वर्षीय निश्चल बिहिबार बेलुका ४ बजे देखि हराइरहेका थिए ।

ग्लेनेल्ज समुद्री किनारबाट हराएका उनको सकुशल उद्धारको लागि प्रहरी खटिएको थियो । तर, शुक्रबार साँझ ७:३० बजे बोट र्याम्पमा उनको शव भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, शव भेटिएको स्थल र घटनाक्रम हेर्दा कुनै शंकास्पद कुरा भेटिएको छैन । उनको शवलाई पोस्टमार्टमको लागि लगिएको छ ।

निश्चल एडिलेडस्थित क्लेयरेन्स पार्कमा बसोबास गर्दै आएका थिए । नर्सिङ्ग पेशामा आबद्ध उनले १० वर्षीय बोल्न नसक्ने एक बालकको हेरचाह गर्दै आएका थिए । बिहिबार पनि उनी बालकलाई लिएर समुद्री किनारमा पुगेका थिए । हराउँदा निश्चलको कार, पर्स र लुगा र मोबाइल समुद्र तटमै समुद्री किनारमा थियो भने बालक अत्तालिंदै एक घरको ढोका ढक्ढकाउन पुगेका थिए । तर बालक बोल्न नसक्ने भएका कारण उनले घटना विवरण बताउन सकिरहेका छैनन् ।

परिवारका कान्छा छोरा निश्चल तीन वर्ष अघि अष्ट्रेलिया आएका थिए । निश्चलको शव बुझ्न शनिबार नै परिवारका सदस्य अष्ट्रेलिया आउने भएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com