अमेरिकामा ६५ हजार विदेशी कामदारका लागि भिसा आवेदन खुल्दै, जाँच्नुहोस् योग्यता


प्रकाशित मिति : मंसिर २१, २०७५ शुक्रबार

अमेरिकी सरकारले एचवानबी अर्थात् विदेशी कामदार अमेरिकामा कामका लागि आउनसक्ने भिसाका लागि नयाँ नियम ल्याउन लागेपछि भिसा आवेदन जनवरीको अन्त्यदेखि नै खुल्नसक्ने जनाइएको छ । अबदेखि अमेरिकी सरकारले एचवानबी भिसाका लागि विद्यतीय माध्यमबाट दर्ता गर्नुपर्ने प्रणाली ल्याउन लागेको छ । यसअगाडि भने अमेरिकी सरकारले अप्रिल १ देखि भिसा आवेदन खुलाउदै आएको थियो ।

हरेक बर्ष एचवानबी भिसाका ६५ हजार कोटामा विदेशी कामदारहरुका लागि आवेदन दिन सक्ने व्यवस्था छ । यदि भिसाका लागि योग्य भएमा त्यस्ता कामदार अमेरिकी कम्पनीमा काम गर्नका लागि अमेरिका आउन सक्छन् । नेपालीहरु पनि ठूलो संख्यामा कामदार भिसामा अमेरिका आउने गरेका छन् ।

कामदार भिसामध्ये एचवानी भिसामा योग्य हुनका लागि कामदारले ब्याचलर वा त्यो भन्दा माथिको डिग्री हासिल गरेको हुनुपर्छ । आउन लागेको काम त्यस्तो प्रकारको काम हुनुपर्छ, जसका लागि ब्याचलर वा त्यो भन्दा माथिको डिग्री आवश्यक हुन्छ ।

कामदार भिसामा नयाँ नियम, अमेरिकन डिग्री होल्डरलाई मालामाल, अरुलाई मुस्किल

विदेशमा रहेको कामदारले अमेरिकाबाट मास्टर्स डिग्री गरेर फर्केको भएमा थप प्राथमिकता दिइन्छ । तर अमेरिकामा नगरेको भएपनि ब्याचलर वा त्यो भन्दा माथिको डिग्री हासिल गरेको व्यक्ति यो भिसाका लागि आवेदन दिन योग्य मानिन्छ । तर विदेशमा हासिल गरेको डिग्रीभने अमेरिकन डिग्री सरह नै मान्यताप्राप्त हुनुपर्छ ।

यदि ब्याचलर डिग्री नभएको खण्डमा जुन कामको लागि अमेरिका आउन लागेको हो, त्यो काममा दक्ष रहेको सरकारी प्रमाणपत्र वा योग्यता पुष्टि गर्ने लाइसेन्स हुन जरुरी छ । यदि अमेरिका वा अमेरिकाबाहिर गरेको ब्याचलर डिग्री वा सोभन्दा माथिको योग्यता पनि नभएको र सरकारी लाइसेन्स पनि नभएको अवस्थामा ब्याचलर डिग्री सरहको अनुभव पुष्टी गर्न सकेको खण्डमा पनि यो भिसाका लागि योग्य हुन सकिन्छ । एचवानबी भिसाका लागि रोजगारदाता कम्पनीले लेबर सर्टिफिकेशन फाइल गर्न जरुरी हुन्छ ।

नेपालका फेशन मोडलका लागि अमेरिका आउन तीन प्रकारका भिसा उपलब्ध

त्यस्तै शोधकर्ता र विकाश परियोजना कामदारहरु एचवान बीटु कामदार भिसामा अमेरिका आउनसक्छन् । तर त्यसको लागि अमेरिकी रक्षा मन्त्रालय अन्तरगत अन्तरसरकारी सहमति भएको परियोजना हुनुपर्छ । यसका लागि पनि ब्याचलर वा सोभन्दामाथिको डिग्री वा सो सरहको योग्यता भएको लाइसेन्स, प्रमाणपत्र वा अनुभव हुनुपर्छ । यसका लागि लेबर सर्टिफिकेशन आवश्यक छैन ।

त्यस्तै फेशन मोडलका रुपमा काम गर्न आउन चाहनेहरुका लागि एचवान बीथ्री भिसा उपलब्ध हुन्छ । जसका लागि फेशनको क्षेत्रमा चर्चित र योग्य हुनुपर्छ, कुनै शैक्षिक योग्यताको आवश्यकता पर्दैन । तर मोडलका रुपमा भने काम गरेको हुनुपर्छ । यसका लागि पनि रोजगारदाता कम्पनीले लेबर सर्टिफिकेशन फाइल गर्न जरुरी हुन्छ ।


यसबारे थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोला ।

थप जानकारी आवश्यक परेमा तपाईले कानुन व्यवसायीलाई सम्पर्क गर्न सक्नुहुनेछ । अमेरिकामा रहेका नेपाली कानुन व्यवसायीलाई सम्पर्क गर्नका लागि तलको लिंकमा क्लिक गर्नुहोला ।

तपाईलाई अमेरिकामा कानुन व्यवसायी वा पारालिगलसँग सम्पर्क गर्नुपर्ने छ ? क्लिक गर्नुहोस् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com