नेपाल एयरलाइन्स को जापान उडान पहिले ओसाकामा, पछि नारितामा हुने
प्रकाशित मिति : मंसिर १९, २०७५ बुधबार
नेपाल वायुसेवा निगम करिब १० वर्षपछि जापानमा पुनः उडान सुरु गर्ने तयारीमा जुटेको छ । सोही सिलसिलामा जापानको ओसाकास्थित कान्साई इन्टरनेसनल एयरपोर्टका उच्च अधिकारी अहिले नेपालमा छन् । ओसाका विमानस्थलको एसिया क्षेत्र हेर्ने निर्देशक इमानुएल मानेन ताउको नेतृत्वमा नेपाल आएको टोलीले निगमका उच्च अधिकारीसँग सोमबार नेवानिको जापान उडानबारे छलफल गरेका छन् ।
नेपाल वायुसेवा निगम सन् २००७ पछि पहिलोपटक जापान उडानको तयारीमा जुटेको हो । निगमले यसअघि सन् १९९४ बाट जापानमा उडान थालेको थियो । काठमाडौं–सांघाई–ओसाका रुटमा साताको दुई उडान गर्दै यात्रुको मन जितेको निगमले १३ वर्ष सेवापछि जहाज अभावका कारण सो उडान कटौती गरेको थियो । ‘फेब्रुअरी पहिलो साताबाट हामी जापानमा सेवा थाल्ने तयारीमा छौँ,’ निगमका प्रवक्ता अशोक सिग्देल भन्छन्, ‘यसैको तयारीका लागि विमानस्थलको आधिकारिक टोली नेपाल आएको हो ।’


सोमबारको छलफलले निगमको जापान उडानको तयारीलाई अझ मजबुत बनाएको निगमका अधिकारीहरू बताउँछन् । छलफलमा विमानस्थलका अधिकारीहरूले निगमको पुनः जापानको उडानलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । जापानको रणनीतिक महत्वको विमानस्थल रहेकाले सो विमानस्थलमा निगमको उडान उपलब्धिमूलक रहने जापानी टोलीको भनाइ उद्धृत गर्दै निगमले जानकारी दिएको छ ।
ओसाकामा साताको ३ उडानबाट जापान प्रवेशको तयारीमा निगम छ । त्यसको ६ महिनापछि नारिता विमानस्थलमा उडान थाल्ने गरी काम भइरहेको निगमका कार्यकारी अध्यक्ष मदन खरेलले यसअघि नै सार्वजनिक गरिसकेका छन् । उनका अनुसार जापानमा साताको ६ उडानमार्फत नियमित सेवा प्रदान गर्ने योजना छ । त्यस अवस्थासम्म निगमका दुवै ठूला जहाज आफ्नो अधिकतम क्षमताअनुसार दैनिक १५र१६ घन्टासम्म उड्नेछन् । निगमले अहिले दुई ए३३०–२००, दुई ३२०–२०० र एक बी७५७ जहाजबाट ८ गन्तव्य ९मुम्बई, बैंलौर, दिल्ली, क्वालालम्पुर, हङकङ, बैंकक, दोहा र दुबई०मा उडान गरिरहेको छ ।
गत असारमा नेपाल र जापानबीच २५ वर्ष पुरानो द्विपक्षीय हवाई सेवा सम्झौता पुनरावलोकन भएको थियो । उक्त सम्झौताले नेपाली वायुसेवा कम्पनीलाई जापानका हानेदाबाहेकका सबै विमानस्थलमा उडान गर्न सक्ने बाटो खोलिदिएको छ । वैदेशिक रोजगारी र अध्ययनका लागि अहिले ठूलो संख्यामा नेपाली जापानमा छन् । त्यसबाहेक जापानबाट वार्षिक ठूलो संख्यामा पर्यटक नेपाल भित्रन्छन् । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०१७ मा २७ हजार ३ सय २६ जापानीले नेपाल भ्रमण गरेका थिए ।
यस्तो छ नेपाल वायुसेवा निगमले निकालेको विज्ञप्तीः






