Follow @khasokhasmag

डिपिआरबिनै फास्टट्रयाक धमाधम निर्माण, सेनाले डीपीआरविनै २० वटा पुलको ठेक्का लगाएको भौतिक मन्त्रीको आपत्ति


प्रकाशित मिति : मंसिर १५, २०७५ शनिबार

तराई–मधेस दु्रत मार्ग (फास्टट्र्याक) निर्माण विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) बिनै अघि बढाइएको छ। फास्टट्र्याक निर्माणको जिम्मा पाएको नेपाली सेनाले ट्र्याक खोल्ने काम गरिरहेको छ।

विगतमा भारतीय कम्पनी आइएल एन्ड एफएसले बनाएको डिपिआरको मूल्य निकै बढी तोकेपछि सेनाले उक्त डिपिआर खरिद गर्न अस्वीकार गरेको थियो। त्यो डिपिआर खरिद नगरेपछि यतिखेर सेनासँग फास्टट्र्याकको नयाँ डिपिआर छैन।

सेनाले दक्षिण कोरियाको सोसुंग इन्जिनियरिङ कन्सल्टेन्सीलाई डिपिआर तयार गर्न लगाएको छ। जुन डिपिआर तयार गर्न अझै तीन महिनाजति लाग्ने देखिएको छ। नेपाली सेनाका प्राविधिक उपरथी तथा फास्टट्र्याक आयोजना प्रमुख योगेन्द्रबहादुर खाँणले आउँदो माघसम्म डिपिआर तयार हुने बताए।

हाम्रो मन्त्रालय र विभागले सडकलगायत निर्माण कार्यसँग सम्बन्धित आयोजनाको काम थाल्दा पहिला डिपिआर बनाउँछ तर, फास्टट्र्याकमा सेनाले डिपिआरबिनै २० वटा पुलको टेन्डर गरेको छ। डिपिआरबिना केका आधारमा पुलको टेन्डर र फास्टट्रयाकको काम भइरहेको छ ?

आइएल एन्ड एफएसले आफूले तयार पारेको डिपिआरको मूल्य ६१ करोड रुपैयाँ तोकेपछि सेनाले कोरियाको सोसुंग इन्जिनियरिङ कन्सल्टेन्सीलाई डिपिआर बनाउन लगाएको हो। जुन डिपिआरको लागत १० करोड १२ लाख रुपैयाँ छ। अहिले सेनाले डिपिआरबिनै फास्टट्र्याकको काम गरिरहेको छ।

सेनाले अघिल्लो वर्षको साउन २७ देखि फास्टट्र्याकमा काम थालेको हो। सेनाका अधिकारीले तोकेकै समयमा काम सक्नुपर्ने भएकाले डिपिआर नपर्खेको बताए पनि तालुकवाला भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयका प्राविधिकले असन्तुष्टि जनाएका छन्।

निर्माणमा जुटेको एक वर्षभन्दा बढी भइक्दासमेत डिपिआर तयार नभएपछि विरोधको क्रम सुरु भएको छ। प्रतिनिधिसभाअन्तर्गतको विकास र प्रविधि समितिमा शुक्रबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले डिपिआरबिनै सेनाले फास्टट्र्याकमा गरिरहेको भन्दै आपत्ति जनाए।

मन्त्री महासेठले जुनसुकै निर्माण कार्य थाल्दा पहिला आयोजनाको डिपिआर बन्नुपर्ने सामान्य सिद्धान्त फास्टट्र्याकमा अवलम्बन नगरिएको गुनासो गरे।

‘हाम्रो मन्त्रालय र विभागले सडकलगायत निर्माण कार्यसँग सम्बन्धित आयोजनाको काम थाल्दा पहिला डिपिआर बनाउने गर्छ,’ उनले भने, ‘तर, फास्टट्र्याकमा सेनाले डिपिआर नै तयारी नगरी २० वटा पुल निर्माणका लागि टेन्डर गरेको छ।’

उनले डिपिआर नबनाई फास्टट्र्याकको काम अघि बढाउँदा प्राविधिक रूपमा कमजोरी भएको बताए। ‘केका आधारमा पुलको टेन्डर र फास्टट्रयाकको काम भइरहेको छ ?’ उनले प्रश्न गरे।

मन्त्री महासेठले अलिहेसम्म सेनाले गर्ने खर्चको बेरुजु नआउने गरेको प्रसंग कोट्याउँदै अब आयोजनाको बजेट भौतिक मन्त्रालयमा नभई रक्षा मन्त्रालयमा पठाउन अर्थ मन्त्रालयलाई आग्रह गरेको जानकारी पनि समितिलाई गराए।

सेनाका अनुसार आर्थिक वर्ष २०७५–७६ मा फास्टट्र्याकको भौतिक प्रगति करिब १२ प्रतिशत छ भने वित्तीय प्रगति ७ प्रतिशत छ। चार वर्षमा सक्ने लक्ष्य लिइएको दु्रतमार्गको लम्बाइ ७२ किलोमिटर छ। फास्टट्र्याकमा साना, मझौला र ठूला गरी ९९ वटा पुल निर्माण गर्नुपर्नेछ। नागरिक दैनिकबाट ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com