अमेरिकामा अस्पतालमा अन्धाधुन्ध गोली प्रहार, आक्रमणकारीसहित ४ को मृत्यु


प्रकाशित मिति : मंसिर ४, २०७५ मंगलबार

अमेरिकाको शिकागो शहरको मर्सी अस्पतालमा सोमबार भएको गोलीकाण्डमा आक्रमणकारीसमेत ४ जनाको मृत्यु भएको छ । दुई जना घाइते भएको खबर छ । मारिएकामध्ये एक जना प्रहरी अधिकारी भएको बताइएको छ । अहिले अस्पताल खाली गराइएको छ ।

प्रहरीका अनुसार बन्दुकधारी आक्रमणकारी अस्पतालमा छिरेपछि सुरुमा एक महिलामाथि गोली चलाएका थिए । यी महिला आक्रमणकारीसँग सम्बन्धमा थिइन् । त्यसपछि आक्रमणकारीले प्रहरी र अन्य एक महिलामाथि गोली चलाए । एसपी एडी जोनसनका अनुसार उनले अन्धाधुन्ध गोली चलाउन थालेपनि प्रहरीले पनि जवाफी फायरिङ गरेको थियो ।

अहिलेसम्म आक्रमणकारी प्रहरीको गोलीले मरेका हुन् वा आफैंले आफैंलाई गोली हानेका हुन् भन्ने खुलिसकेको छैन । प्रहरीले आक्रमणको कारणको खोजी गरिरहेको छ । स्थानीय टिभी च्यानलले प्रत्यक्षदर्शीको हवाला दिँदै २० गोली चलेको आवाज सुनिएको जनाएको छ । एक रिपोर्टअनुसार अमेरिकामा २०१८ सालमा मात्र अहिलेसम्म गोली होका ४८ हजार ९ सय ५९ घटना भएका छन् जसमा २ हजार ४ सय ७६ जनाको मृत्यु भएको छ । २४ हजार २ सय ३६ जना घाइते भएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com