नेपाली सेना प्रमुखलाई अमेरिका भ्रमणमा जान असहज
प्रकाशित मिति : १३ कार्तिक २०७५, मंगलबार
भारतले आयोजना गरेको बिमस्टेक राष्ट्रका सेना प्रमुखको सम्मेलनमा नजाँदा प्रधानसेनापति पूर्णचन्द्र थापालाई अन्य मुलुकको भ्रमणमा जान असहज भएको छ।भदौ अन्तिम साता महाराष्ट्रको पुनेमा भारतले बिमस्टेक राष्ट्रका सेनाको संयुक्त सैन्य अभ्यास र सेना प्रमुखहरुको सम्मेलन आयोजना गरेको थियो। सुरुमा सहभागिता जनाउने बचन दिएको नेपाल आन्तरिक रुपमा आलोचना बेहोर्नु परेपछि पछि हटेको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानसेनापति पूर्णचन्द्र थापालाई बालुवाटार बोलाएर बिमस्टेक राष्ट्रका सेना प्रमुखको सम्मेलनमा जाने कार्यक्रम स्थगित गर्न निर्देशन दिएका थिए।यसैगरी, बिमस्टेक राष्ट्रका सैनिकहरुको संयुक्त सैनिक अभ्यासमा सहभागिता नजनाउनपनि प्रधानमन्त्री ओलीले प्रधानसेनापति थापालाई भनेका थिए। सेना प्रमुखहरुको सम्मेलनमा नजाँदाको असर अहिले सेना प्रमुख थापालाई चीन र अमेरिकाबाट प्राप्त निमन्त्रणमा परेको छ।
त्यो बेला भारत नगएकाले आफु सहभागी हुन अप्ठेरो पर्ने भएपछि अमेरिकी सेनाको ‘चेयरमेन ज्वाइन्ट स्टाफ’ ले आयोजना गरेको एउटा सम्मेलनका लागि प्रधानसेनापति थापाले बलाध्यक्ष रथी हेमन्तराज कुँवरलाई पठाए। यसैगरी प्रधानसेनापति थापाले चीन भ्रमणको निम्तो पनि पाएका छन्। तर, त्यसतर्फ जाने निर्णय गर्न सकेका छैनन्।‘नेपाली प्रधानसेनापतिले अरु देशभन्दा पहिले भारत भ्रमण गर्ने गरेका छन्’ नेपाली सेनाका एक जना अधिकारी भन्छन्, ‘त्यसैले, निम्तो आएपनि चीन र अमेरिका जान प्रधानसेनापति थापा हच्किएका छन्।’
नेपाली प्रधानमन्त्रीले सबैभन्दा पहिले भारत भ्रमण गर्ने प्रचलन पछ्याउँदै नेपाली सेनाका नयाँ प्रधानसेनापतिको विदेश भ्रमणपनि भारतबाटै सुरु हुने गरेको छ।‘बिमस्टेक राष्ट्रका सेना प्रमुखहरुको सम्मेलनमा गएको भए अरु देशमा जाने बाटो खुल्थ्यो’ ती अधिकारीले भने, ‘त्यो नहुँदा अन्य राष्ट्रको निम्तो मान्न अप्ठेरो भएको छ।’ नेपाली प्रधानसेनापतिले मात्र पहिलो विदेश भ्रमण भारतबाट सुरु गर्ने गरेका होइनन्, भारतीय सेना प्रमुखको पहिलो विदेश भ्रमणपनि नेपालबाटै सुरु हुने गरेको छ। भारतीय सेनाका बर्तमान प्रमुख बिपिन रावत र उनका पूर्ववर्ती दलवीर सिँहले पनि पहिलो विदेश भ्रमण नेपालबाटै सुरु गरेका थिए।





