कोटेश्वर र बानेश्वर अन्डरपास डिजाइन नेपालीले गर्दै, ७५ लाख लाग्ने डिजाइन नेपालीले ३२ लाखमै गर्ने
प्रकाशित मिति : १३ कार्तिक २०७५, मंगलबार
कोटेश्वर र बानेश्वरमा निर्माण हुने अन्डरपासको डिजाइन नेपाली परामर्शदाताले बनाउने भएको छ। डिजाइन बनाउन जीईओसी कन्सल्टेन्स–जेभी बिम कन्सल्टेन्ट छनोट भएको सडक विभागको पुल महाशाखाका उपमहानिर्देशक अर्जुनजंग थापाले जानकारी दिए।
‘अन्डरपासको डिजाइन बनाउन प्राविधिकरूपमा पाँच परामर्शदाता छनोट गरिएको थियो’, थापाले भने ,तीमध्येमा जीईओसी कन्सल्टेन्स–जेभी बिम कन्सल्टेन्टले न्यूनतम अंक कबुल गरेको छ।’
थापाका अनुसार अन्डरपासको डिजाइन तयार गर्न ७५ लाख रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान थियो। तर, परामर्शदाताले ३२ लाख रुपैयाँमा डिजाइन बनाउने प्रस्ताव गरेको थियो। सार्वजनिक खरिद नियमअनुसार प्राविधिकरूपमा सक्षम देखिएका कम्पनीमध्ये न्यूनतम अंक कबुल गर्ने ठेक्का पाउँछ।
जीईओसी कन्सल्टेन्स–जेभी बिम कन्सल्टेन्टले प्रारम्भिक अनुमानित रकमभन्दा सस्तोमा प्रस्ताव गरेको थियो। यस विषयमा महाशाखाले परामर्शदातासँग छलफल गरेको थापाले जानकारी दिए।
‘पे प्रस्ताव गरेको मूल्यमै डिजाइन गर्न सक्षम भएको प्रतिबद्धता जाहेर गरेको छ’, उनले भने, ‘दुई साताभित्रमा परामर्शदातासँग डिजाइनका लागि सम्झौता हुन्छ।’ परामर्शदाताले ६ महिनाभित्रमा अन्डरपासको डिजाइन सम्पन्न गरी महाशाखालाई बुझाउनेछ। चालु आर्थिक वर्षभित्रमा डिजाइनसम्बन्धी काम सकिनेछ।
आगामी आव निर्माणसम्बन्धी ठेक्का प्रक्रिया अघि बढ्ने उनको दाबी छ। निर्माण सुरु भएको तीन वर्षमा अन्डरपास बन्नेछ। महाशाखाले एउटा अन्डरपास निर्माण गर्न ९० करोड रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरेको छ। यसको यकिन लागत भने डिजाइन पछि थाहा हुनेछ।
काठमाडौंमा बढ्दै गएको सवारी आवागमनलाई सहज बनाउन सरकारले कोटेश्वर, बोनेश्वर र महाराजगन्जमा अन्डरपास बनाउने तयारी गरेको थियो। महाराजगन्जको अन्डरपास भने सरकारले पछि हटेको छ। चीनले कलंकीदेखि महाराजगन्जसम्म सडक विस्तार गर्दैछ।
चीन सरकारले चक्रपथ विस्तार गर्ने भएकाले महाराजगन्जको अन्डरपास पनि चीन सरकारले बनाइ दिने बताइएको छ। हाल कोटेश्वरदेखि सातदोबाटो हुँदै कलंकीसम्मका १० किलोमिटर सडक र कलंकीको अन्डरपास चीनले नै बनाइदिएको हो।
– अन्नपूर्ण पोस्टबाट





