५७,४४० जनाको अष्ट्रेलियन भिसा रद्द, १४ हजार बढी लुकेर बसेकाको खोजी तीव्र


प्रकाशित मिति : कार्तिक ५, २०७५ सोमबार

अष्ट्रेलिया सरकारले ५७ हजार ४४० जनाको भिसा रद्द गरेको छ । यहाँको गृह मामिला विभागले गत आर्थिक वर्षमा यति धेरै संख्यामा भिसा रद्द गरेको जनाएको छ । भिसा रद्द हुनेमध्ये ९ सय भन्दा बढीको भिसा उनीहरुको चरित्रका कारण रद्द गरिएको रिपोर्टमा उल्लेख छ ।

चरित्रका आधारमा भिसा रद्द हुनेहरु मोटर साइकल ग्याङका सदस्य,लागू औषध काराबारी र यौन दुराचारीहरु रहेका छन् । आर्थिक वर्ष २०१७–१८ मा गत आर्थिक वर्षको भन्दा बढी संख्यामा भिसा रद्द गरिएको छ । गत आर्थिक वर्ष ५७ हजार १६१ जनाको भिसा रद्द गरिएको थियो ।

यहाँको अद्यागमन विभागले नक्कली कागजात र भिसामा अष्ट्रेलिया प्रवेश गर्न खोज्ने ४ हजार ५ सय भन्दा बढीलाई विमानस्थलस्थित अद्यागमन विभागबाटै फर्काइदिएका छन् ।

विभागका अनुसार गत आर्थिक वर्षमा १४ हजार ७५० जना अप्रवासीहरु स्वदेश फिर्ता नभएको पाइएको जनाएको छ । उनीहरु विभिन्न स्थानमा लुकेर बसेको हुनसक्ने भन्दै सर्च अभियानलाई कडाइ गरेको उल्लेख छ । यसकालागि अष्ट्रेलियाको संघीय प्रहरीहरुलाई समेत परिचालन गरिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com