भारतीय रियालिटी शो सारेगामापामा नेपाली चेली मेनुका पौडेलको वाहवाही


प्रकाशित मिति : कार्तिक ५, २०७५ सोमबार

रियालिटी शो नेपाल आइडलबाट चर्चामा आएकी मेनुका पौडेल फेरि एकपटक चर्चामा रहेकी छिन् ।

दृष्टिविहीन पौडेलले नेपाल आइडलमा आफ्नो दमदार प्रस्तुति दिएकी थिइन् तर दर्शकको भोटको कमी कारण उनी टप टेनबाट बाहिरिएकी थिइन् ।

अहिले फेरि उनी भारतीय टेलिभिजन जी टिभीमा प्रशारण हुने रियालिटी शो सारेगामापामा उत्कृष्ट गायन पस्कदा नेपाल मात्र होइन भारतमा पनि यसको चर्चा भएको छ । सारेगामापाको अडिसन राउण्डबाट छानिएकी छिन् । शनिवार राति टेलिभिजनबाट प्रसारण भएको उक्त शोमा मेनुकाको प्रस्तुतीले जज र जुरी मेम्बरहरुको आखा रसाएका थिए ।

लता मंगेशकरको आवाजको गीत ‘जाने क्या बात है।।’ गाउँदा शोमा उपस्थित जजले आँशु झारेका थिए । उनले गीत गाइसक्दा सबै उभिएर उनको प्रशंसा गरिरहेका थिए । जज रहेका संगीतकार शेखर रबजानी, सोना मोहपत्रा र वाजिद खानले मेनुकाको प्रशंसा गरेका थिए ।

उनको गायनमा जजहरुले आशुमात्र बगाएनन् मुक्त कण्ठले प्रशंसा गरेका थिए । त्यसक्रममा मेनुका भावुक बनेकी थिइन् । गायन माथि प्रतिक्रिया जनाउँदै संगीतकार शेखरले आफूले मेनुकाको गायनमा जज गर्ने आफ्नो कुनै औकात नभएको बताए । उनले भने ‘म यति धेरै क्वालिफाइड छैन ।’

गायनमा लिएको हर्कतका कारण आफूहरु मेनुकाको फ्यान भएको जजहरुले बताएका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com