यी हुन् बाटोमा भेट्टाएको पाँच लाख फिर्ता गर्ने प्रहरी जवान


प्रकाशित मिति : आश्विन २८, २०७५ आईतबार

सात वर्षअघि धरानमा अनुजा बानियाँ नामकी यूवतीले गाडीमा भेटेको ९१ लाख रुपैयाँ सम्बन्धित व्यक्तिलाई फिर्ता गरेको भन्ने खबरले देशमा खुब चर्चा पाएको थियो। तत्कालिन राष्ट्रपति रामवरण यादवले राष्ट्रपति कार्यालयमा नै बोलाएर ‘स्याबास राम्रो काम गर्‍यौ’ भन्दै उनलाई बधाइ समेत दिएका थिए।

तर, अफसोस ! केही दिन भित्रै त्यो खबर झुटो प्रमाणित भएको थियो। आँफू चर्चामा आउनका लागि उनले नक्कली पात्रहरु सिर्जना गरेर त्यसरी झुटो खबर फैलाएको प्रमाणित भएको थियो।

यो घटना सेलाएको लामो समयपछि झापामा एक प्रहरी जवानले यथार्थमै पैसाभेट्टाएर फिर्ता गरेका छन्। इलाका प्रहरी कार्यलय सुरुङ्गामा कार्यरत प्रहरी जवान अमितकुमार थान्दारले बाटोमा भेट्टाएको पाँच लाख चालिस हजार रुपैयाँ फिर्ता गरेका हुन्।

असोज २१ गते महेन्द्र राजमार्गस्थित सुरुङ्गा चोकमा यात्रुबहाक बस र ट्याक्टर एकआपसमा ठोक्किएको थियो । दुर्घटनामा एक जनाको मृत्यु समेत भयो । त्यतिबेलै बसमा सवार एक यात्रुको ५ लाख ४० हजार रुपैयाँ रकमसहितको एउटा मोबाइल र खुकुरी रहेको झोला हरायो। त्यही गायब भएको झोला प्रहरी जवान थान्दारले भेट्टाएपछि इमान्दारपूर्वक फिर्ता गरेका हुन् ।
यसरी भेट्टियो झोला

दुर्घटना भएको दिन साझँको साढे ५ बजेतिर इलाका प्रहरी कार्यालय सुरुङ्गामा सडकमा दुर्घटना भएको खबर आयो । तत्काल कार्यालयमा कार्यरत प्रहरी टोली घटनास्थल पुग्यो । एकजनाको घटनास्थलमै मृत्यु भइसकेको थियो । प्रहरी जवान थान्दार प्रहरी कार्यालयका चालक पनि हुन् । सबैभन्दा सुरुमा उनी बस चालकलाई सुरक्षित गर्नतिर लागे। कार्यालयमा लगेरबस चालकलाई जिम्मा लगाएपछि उनी पुनः स्पटमा आए । प्रहरीले घटनाको मुचुल्का उठायो।

दुर्घटनामा परेको बस फसेको थियो । अर्को ट्याक्टरको सहायताले त्यसलाई निकाल्नतर्फ सुरुङ्गा प्रहरी जुट्यो । प्रहरी जवान थान्दार पनि त्यसमै संलग्न भए । त्यसपछि घटनामा जुधेका दुवै बस र ट्याक्टरको चाबी उनले आफ्नो नियन्त्रणमा लिए । कसैको केही सामान पो छुटेको छ कि भनेर घटनास्थल वरिपरि आँखा लगाए । ट्याक्टरको मोटरकारमाथि एउटा आर्मी कलरको झोला अड्किएको अवस्थामा देखे । झोलामा लामो खुकुरी पनि रहेकाले त्यसको थोरै भाग बाहिरै देखिन्थ्यो । त्यसपछि त्यो झोला उनले टिपे र आफ्नो हाकिम सुरुङ्गा प्रहरीका इन्चार्ज सई प्रदिपकुमार सिंह क्षेत्रीलाई झोला भेटिएको जानकारी गराए।

सईले उनलाई झोला प्रहरी भेनमा राख्न सुझाए । ‘त्यतिन्जेलसम्म मलाई झोलामा के सामान छ भन्ने थाहा थिएन,’ प्रहरी जवान थान्दारले घटना सम्झिए, ‘मैले चुपचाप गाडीमा झोला राखेरसडकमा बढेको भिड नियन्त्रण गर्नतिर लागे । तर मनमनै शंका उब्जियो, कतै झोलामा कसैको महत्वपुर्ण सामान पो छ कि ! एकचोटी त चेक गर्नुपर्छ भन्ने लागेर फेरी गाडी भएको ठाउँमा फर्किएर झोला चेक गरे । झोलाभित्र सानो कम्मरमा भिर्ने छालाको ब्याग थियो । त्यसको चेन खोल्दा त टनाटन पैसा देखेँ । तत्काल चेन लाइहाले । त्यसपछि यत्रो पैसा भएको झोला हराउन सक्छ भनेर म कतै गइनँ, गाडीमै बसेँ । पछि सई सा’बले अर्डर दिएपछि गाडी लिएर कार्यालयमा आए। ’

थान्दारका अनुसार त्यसपछि उनले कार्यालयमा उक्त झोला बुझाए। पछि कार्यालय प्रमुखको नेतृत्वमा त्यहाँ कार्यरत सबै प्रहरी जम्मा भएर झोलाभित्रको पैसा गने । ५ लाख ४० हजार रुपैयाँ रहेको थाहा भयो। सँगसँगै एउटा माइक्रोम्याक्स मोबाइल र एउटा खुकुरी पनि थियो।

एउटा चर्चित भनाई नै छ, धन देखेपछि महादेवका पनि तीन नेत्र। झोलामा पैसा देख्नासाथ कतै न कतै प्रहरी जवानको मनमा पनि खराब विचार त उत्पन्न भयो कि? ‘मेरो आत्माले त्यस्तो खराब कुरा केही सोचेन, हामीजसरी यहाँ दुःख गछौं त्यसरी नै कसैले दुःखले कमाएको पैसा होला भन्ने लाग्यो,’ १२ वर्षदेखि प्रहरी सेवामा कार्यरत जवान थान्दारले भने, ‘ त्यसैले पैसालाई लुकाउने ,छलकपट गर्नेतिर मेरो ध्यान जाँदै गएन । कसैले पुलिसलाई नराम्रो भन्दा मलाई सधैँ चित्त दुख्थ्यो । कम्तीमा यो पैसा सम्बन्धित हकदारसम्म पुर्‍याउन सके पुलिसले पनि यस्तो राम्रो काम गर्दो रहेछ भन्ने सन्देश जान्छ भन्नेचाँही मनमा लाग्यो । ’

तर उनको मनमा एउटा ठूलो डर पनि थियो– कतै यो रकम गलत मान्छेको हातमा त पुग्दैन ? कसैले गलत ढंगले कमाएको भए त्यो मान्छे फिर्ता लिन नआउँला र सहि हकदारले रकम फिर्ता नपाउने डर उनमा थियो । रकमका सहि हकदार बागलुङ ढोरपाटन ६ का ५६ वर्षिया मनबहादुर कमाई पुनले पैसा फिर्ता लिएपछि उनको मन अहिले हलुका भएको छ । उनी र प्रहरी संगठनको चौतर्फी प्रशंसा सुनेर उत्तिकै फुरुङ्ग पनि भएको छ । प्रहरीका हाकिमले सिधैं फोन नगरेपनि कार्यालयका इन्चार्जमार्फत तारिफ गरेका छन् रे। तर विभिन्न ठाउँमा कार्यरत उनका प्रहरी साथीहरुले सिधैँ फोन गरेर ‘राम्रो काम गरिस्’ भन्दै बधाईं दिइरहेको उनले सुनाए । ‘प्रहरी संगठनकै साख बढाउने एउटा कामको म हिस्सा हुन पाएको छु, अझ भन्नुपर्दा म व्यक्ति मात्र नभएर सिंगो फोर्सकै अहिले नाम चलिरहँदा खुशीले गद्गद् छु,’ उनले गर्वसाथ भने।

भारत आसाममा बोर्डर सुरक्षा फौजमा पिपाका रुपमा कार्यरत मनबहादुर यसपाली घर बनाउने सपना सहित एक वर्षको तलब थापेर घर फर्किँदै रहेछन् । काकरभिट्टाबाट बागलुङ(घर)तर्फ लाग्दै गरेका उनले झोला हराएको भन्ने कुरा लहान पुग्दामात्र थाहा पाए । त्यसपछि काकरभिट्टा नै फर्किए । भोलिपल्ट आफू चढेको बस (दुर्घटनामा परेको बस) को कन्डक्टरलाई भेटे र विर्तामोडमा बस चेक गरे। झोला भेटिएन । तैपनि उनी प्रहरीकहाँ पुगेनन् । न खाली हात श्रीमतीलाई अनुहार देखाउने हिम्मत नै गरे।

यता प्रहरीले झोला धनीको खोजीगर्ने क्रममा टिकट काउन्टर, काँकरभिट्टामा सम्पर्क गर्‍यो । त्यसपछि झोला खोज्दै हराएका मानबहादुरसम्म प्रहरी पुग्यो । ‘ झोला मानबहादुरकै हो कि होइन ? भनेर अनुसन्धान थाल्यौं,’ इप्रका सुरुङाका प्रहरी नायव निरीक्षक प्रदिपकुमार सिंह क्षेत्रीले भने, ‘उहाँ बसेको होटलवालादेखि बसमा चढेका कन्डक्टर सबैसँग सोधपुछ गर्‍यौं । उहाँले तलब थापेको स्लिप पनि हेर्‍यौं। सबै प्रमाण हेरेपछि पैसा उहाँकै हो भन्ने प्रमाणित भयो र पैसा फिर्ता गर्‍यौं।’ हराएको ६ दिनपछि बिहिबार सुरुङगाका वडा अध्यक्ष रुद्रप्रसाद चिमरिया, कनकाई उद्योग वाणिज्य संघका उपाध्यक्ष मिनाल तिम्सिना लगायतको उपस्थितीमा मानबहादुरलाई पैसा फिर्ता गरिएको थियो।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com