अमेरिकाको क्यालिफोर्नियामा तीन हाइकर मृत फेला: हाइकिङमा सतर्कता अपनाउन सुझाव
प्रकाशित मिति : पुस १४, २०८२ मंगलबार
अमेरिकाको दक्षिणी क्यालिफोर्नियास्थित माउन्ट बाल्डीमा १९ वर्षीय युवकसहित तीन जना हाइकर मृत फेला परेका छन्। माउन्ट बाल्डीलाई त्यस क्षेत्रकै सबैभन्दा खतरनाक गन्तव्यमध्ये एक मानिन्छ।
सान बर्नार्डिनो काउन्टी शेरिफ विभागकी प्रवक्ता जेनी स्मिथका अनुसार, खोज तथा उद्धार कार्यका क्रममा ती युवकको शव फेला परेको हो। सोही क्रममा अन्य दुई जना हाइकर पनि मृत अवस्थामा भेटिएका थिए।
यद्यपि, ती दुई व्यक्ति मृतक युवकसँगै हाइकिङमा गएका भने थिएनन्। उनीहरूको मृत्यु कहिले भएको हो भन्नेबारे अहिलेसम्म स्पष्ट हुन सकेको छैन।
ती १९ वर्षीय युवक डिसेम्बर २९ मा आफ्ना एक साथीसँग हाइकिङमा गएका थिए। युवक भिरबाट खसेपछि उनका साथीले सुरक्षित स्थानमा पुगेर मोबाइलमार्फत आपतकालीन सेवामा खबर गरेका थिए। उनले उद्धार टोलीलाई आफ्नो जीपीएस लोकेसनसमेत उपलब्ध गराएका थिए।
प्रवक्ता स्मिथका अनुसार पछिल्लो पाँच दिनमा मात्र माउन्ट बाल्डीबाट अन्य पाँच जना हाइकरको उद्धार गरिएको छ। सान गेब्रियल पर्वत श्रृंखलामा अवस्थित ३,०६८ मिटर अग्लो यो हिमाल सन् २०२० यता अमेरिकाकै घातक पहाडमध्ये एक बनेको छ।
सन् २०२० पछि यहाँ कम्तीमा १४ जनाले ज्यान गुमाइसकेका छन्। सन् २०२३ जनवरीमा हराएका बेलायती अभिनेता जुलियन स्यान्ड्सको शव पनि पाँच महिनापछि यही पर्वतमा फेला परेको थियो।
लस एन्जलस नजिकै भएकाले अनुभवी र नवआगन्तुक दुवै प्रकारका हाइकरहरू यहाँ आकर्षित हुने गर्छन्। तर, विशेषगरी जाडो मौसममा यहाँको मौसम छिट्टै परिवर्तन हुने र अत्यन्त जोखिमपूर्ण हुने भएकाले अधिकारीहरूले त्यहाँ नजान आग्रह गरेका छन्।
हालैका दिनमा दक्षिणी क्यालिफोर्नियामा भारी वर्षा र हिमपात भइरहेको छ। ती युवक हाइकिङ गएको दिन मौसम सफा देखिए तापनि अचानक हिउँ र बरफका कारण अवस्था जोखिमपूर्ण बनेको बताइएको छ।
लगातारको दुर्घटनापछि नयाँ वर्षसम्मका लागि यस पर्वतका सबै मार्गहरू (ट्रेल) अस्थायी रूपमा बन्द गरिएको छ।






