सुरक्षा खतरा र जनस्वास्थ्य जोखिम निम्त्याउने विदेशीलाई एसाइलम निषेध गर्ने नियम घोषणा


प्रकाशित मिति : पुस १४, २०८२ मंगलबार

अमेरिकी सरकारको होमल्याण्ड सेक्युरिटी र डिपार्टमेन्ट अफ जस्टिसले सुरक्षा खतरा र जनस्वास्थ्य जोखिम निम्त्याउने विदेशीलाई एसाइलम निषेध गर्ने नियम घोषणा गरेका छन् । केही संक्रामक रोगसँग सम्बन्धित सार्वजनिक स्वास्थ्य आपत्कालीन अवस्थालाई राष्ट्रिय सुरक्षा जोखिमका रूपमा लिई एसाइलम र देशनिकाला स्थगन अस्वीकार गर्न कानुनी आधार दिने यो नियम डिसेम्बर ३१ देखि कार्यान्वयनमा जान लागेको हो।

यस्तै नियम सुरुमा डिसेम्बर २०२० मा जारी गरिएको भए पनि लामो कानुनी विवाद र पटक–पटक गरिएको स्थगनपछि अब बुधबारदेखि लागु हुने भएको छ । यो अन्तिम नियमअन्तर्गत हाल विद्यमान “अमेरिकाको सुरक्षामाथि खतरा” भन्ने कानुनी अवरोधको क्षेत्रमा संक्रामक रोगबाट उत्पन्न विशेष आपत्कालीन सार्वजनिक स्वास्थ्य अवस्थालाई स्पष्ट रूपमा समेटिएका छन्। व्यवहारमा यसको अर्थ कुनै सरुवा रोग सम्बन्धी सार्वजनिक स्वास्थ्य आपत्कालीन अवस्था आधिकारिक रूपमा घोषणा भई लागू भएको अवस्थामा त्यस्तो अवस्थासँग जोडिएर अमेरिकाको सुरक्षामा जोखिम मानिएका गैर–अमेरिकीलाई एसाइलमको लागि अयोग्य ठहर गर्न सकिनेछ ।

सरकारले यसलाई नयाँ कानुनी आधार नभई पहिल्यै विद्यमान प्रावधानको व्याख्या र स्पष्टीकरण भन्दै प्रस्तुत गरेको छ, जसअन्तर्गत सार्वजनिक स्वास्थ्य आपतकाललाई पनि राष्ट्रिय सुरक्षा अवधारणा भित्र राखिएको छ। २०२० को अन्तिम नियमका मूल सार्वजनिक स्वास्थ्य–सम्बन्धी प्रावधानहरू जस्ताको त्यस्तै राखी अब संघीय नियमावलीमा समावेश गरिएको छ ।

२०२० को नियममा समावेश गरिएका केही “पुराना” संशोधनहरू फिर्ता लिइएको छ, जसले क्रेडिबल फियर स्क्रिनिङ प्रक्रिया र सम्बन्धित कार्यविधिमा व्यापक परिवर्तन गर्ने व्यवस्था गरेको थियो। सरकारका अनुसार यी प्रावधानहरू हालका २०२२ देखि २०२४ सम्मका चार प्रमुख नियमहरूसँग ठोक्किने अवस्थामा पुगेका छन्। त्यस्तैले २०२० को नियमका केही प्रावधानहरु डिसेम्बर २९ बाट लागु हुने गरी औपचारिक रूपमा फिर्ता लिइएको छ ।

अधिकारीहरूले ती प्रावधान लागु भए पुनः खारेज भइसकेको “तृतीय देश ट्रान्जिट बार” जस्ता नीतिसँग जोडिएका प्रक्रियाहरू पुनः नियमावलीमा फर्किने र आन्तरिक रूपमा परस्पर विरोधी मानक तथा प्रक्रियाले भ्रम सिर्जना गर्ने जोखिम रहेको बताएका छन्। २०२० को नियमका प्रक्रियागत भागहरू फिर्ता लिइएकाले अहिलेको क्रेडिबल फियर स्क्रिनिङ ढाँचा जस्ताको तस्तै रहनेछ। २०२४ को अनिवार्य प्रतिबन्धको नियम अनुसार एसाइलम अधिकारीले फर्म रिसेटलमेन्टबाहेक अन्य कानुनी प्रतिबन्ध लागू हुन सक्ने नसक्ने आफ्नो विवेकमा रहेर क्रेडिबल फियर प्रक्रियामा नै विचार गर्न सक्छन्, जसमा यसपालि सुरक्षा–सम्बन्धी प्रतिबन्ध पनि पर्छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

डिपार्टमेन्ट अफ जस्टिसको २०२४ प्रतिबन्ध सम्बन्धि नियम अनुसार इमिग्रेसन न्यायाधीशहरूले एसाइलम अधिकारीले गरेको नकारात्मक क्रेडिबल फियर निष्कर्ष पुनरावलोकन गर्दा आवश्यकता परे अनिवार्य बारहरूको प्रयोगसमेत पूर्ण रूपमा समीक्षा गर्न पाउने अधिकार यथावत छ। नयाँ कदमले सबै क्रेडिबल फियर स्क्रिनिङमा अनिवार्य रूपमा बार लागू गर्नुपर्ने, बारको आधारअनुसार फरक–फरक स्क्रिनिङ मानक प्रयोग गर्ने वा धेरै मामिलालाई पूर्ण सुनुवाइको सट्टा एसाइलम कार्यविधातर्फ धकेल्ने जस्ता पुराना प्रस्तावित परिवर्तनहरू पुनः जिवित नहोस् भन्ने उद्देश्य पनि राखेको छ।

सुरक्षा बारबारे नियम पहिलो पटक २०२० डिसेम्बर २३ मा तत्कालीन ट्रम्प प्रशासनको अन्त्यतिर राष्ट्रिय सुरक्षा र सार्वजनिक स्वास्थ्यलाई एसाइलम नीतिसँग कडाइका साथ जोड्ने प्रयासको रुपमा प्रकाशित गरिएको थियो। यो २०२१ जनवरी २२ देखि लागू हुने भनिए पनि विशेषगरी सम्बन्धित नियममाथि क्यालिफोर्नियाको संघीय अदालतले गरेको प्रारम्भिक स्थगन आदेशका कारण यसको प्रभावकारी मिति पटक–पटक सारिएको थियो।

त्यसबीच होमल्याण्ड सेक्युरिटी र डिपार्टमेन्ट अफ जस्टिसले एसाइलम र सीमा–सम्बन्धी थप नियम जारी गर्दै क्रेडिबल फियर प्रक्रिया र पात्रताको ढाँचा परिवर्तन गरेका थिए, जसले २०२० को पूरा पाठ जस्ताको तस्तै लागू गर्दा “विरोधाभासी र भ्रमपूर्ण” नियमावली सिर्जना हुने चेतावनी दिइएको थियो। २०२४ डिसेम्बरमा मन्त्रालयहरुले प्रभावकारी मिति फेरि सारेर २०२५ डिसेम्बर ३१ तोकेका थिए भने बीचमा संशोधन गर्न सकिने सन्देश दिएका थिए । यो नयाँ नियमलाई पहिलेको नियममा आंशिक फिर्ता र संशोधनको रूपमा वर्णन गरिएको छ, जसले त्यस्ता द्वन्द्व हटाउँदै मुख्य सार्वजनिक स्वास्थ्य–सम्बन्धी सुरक्षा बार कायम राख्छ।

सरकारले अहिले कुनै सक्रिय सार्वजनिक स्वास्थ्य आपतकाल नभएको स्वीकार गर्दै भविष्यमा कुनै सरुवा रोगबारे आपतकाल उत्पन्न भए तुरुन्त प्रयोग गर्न मिल्ने उपकरण जोगाएर राख्न आवश्यक रहेको बताएका छन्। यो कदमले ट्रम्प प्रशासनको व्यापक आप्रवासन एजेण्डासँग पनि मेल खान्छ, जसले विभिन्न कानुनी बार र सुरक्षा–केन्द्रित अधिकारको आक्रामक प्रयोगमार्फत जोखिम मानिएका गैर–अमेरिकीलाई संरक्षणबाट बाहिर राख्ने नीतिलाई प्राथमिकता दिएको छ।

अधिकारीहरूका अनुसार यो अन्तिम नियमले एकातिर नियमावलीको भाषा र संरचनामा भएको प्राविधिक जटिलता मिलाउने काम गर्छ भने अर्कोतिर सार्वजनिक स्वास्थ्य आपतकाललाई एसाइलम रोकका लागि सुरक्षा–सम्बन्धी कानुनी आधारका रूपमा प्रयोग गर्न सकिने व्यवस्था पनि सुनिश्चित गरेको छ, जबकि दिनप्रतिदिनको सीमा र एसाइलम स्क्रिनिङ भने अन्य हालसालैका नियमहरूकै आधारमा सञ्चालन हुनेछन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com