अध्यागमन न्यायाधीशहरूको बर्खास्तीपछि स्वीकृत एसाइलमसमेत पुनः ‘मास्टर हेयरिङ’मा


प्रकाशित मिति : पुस १४, २०८२ मंगलबार

एक जना नेपालीको आगामी जनवरीमा एसाइलमसम्बन्धी मुद्दाको अन्तिम सुनुवाइको मिति तोकिएको थियो। तर नोभेम्बरमा अचानक उक्त मुद्दा हेरिरहेका न्यायाधीशलाई जागिरबाट निकालियो। त्यस्तै अर्का एक जना नेपालीको एसाइलम मुद्दाको अन्तिम सुनुवाइ मिति तोकिए पनि, न्यायाधीश बर्खास्त भएपछि अहिले पुनः ‘मास्टर हेयरिङ’ तोकिएको छ। अर्को नेपालीको एसाइलम पहिले नै स्वीकृत भइसकेको अवस्थामा पनि, विगतमा टुंगो लागिसकेको अपराधसम्बन्धी अर्को मुद्दाको कागजात पेश गर्ने अवसर पर्खिंदै गर्दा न्यायाधीश बर्खास्तिएपछि उनको पनि पुनः ‘मास्टर हेयरिङ’ तोकिएको छ।

हालैको ‘खसोखास’को अध्यागमन लाइभ सेसनमा नेपालीहरूले यस्तै कैयौँ समस्याहरू सामना गरिरहेको बताए। ट्रम्प प्रशासनअन्तर्गत देशभरबाट एक सयभन्दा बढी अध्यागमन न्यायाधीश या त बर्खास्त भएका छन् वा जागिर छाडेका छन्। केवल सान फ्रान्सिस्को बे एरियामै कम्तीमा २१ जना न्यायाधीश बर्खास्त भएका छन् भने, क्यालिफोर्नियाले मात्र २०२५ मा ३५ जना अध्यागमन न्यायाधीश गुमाएको छ। गत आर्थिक वर्षमा देशभर ७३५ जना न्यायाधीश कार्यरत रहेकामा यो संख्या उल्लेखनीय रूपमा घटेको छ।

ट्रम्प प्रशासनले हालै ३६ नयाँ न्यायाधीश थपेको छ, तीमध्ये २५ जना अस्थायी रूपमा कार्यरत सैन्य वकिल हुन्। पेन्टागनले न्याय मन्त्रालयका लागि काम गर्न ६०० सैन्य वकिललाई अनुमति दिएको थियो। करिब ३७ लाख अध्यागमन मुद्दा विचाराधीन रहेका बेला यस्तो अवस्था सिर्जना भएको हो। यद्यपि, एक्जिक्युटिभ अफिस फर इमिग्रेशन रिभ्यूअनुसार, ट्रम्पले कार्यभार सम्हालेदेखि अमेरिकी अध्यागमन अदालतमा विचाराधीन मुद्दाको संख्या झण्डै पाँच लाखले घटेको छ।

लामो पर्खाइले एसाइलमका मुद्दा कमजोर बनाउने जोखिम हुन्छ। नोटिस टु अपियर जारी भएपछि नेपालीका मुद्दा औसतमा करिब दुई वर्षसम्म अदालतमा विचाराधीन रहने तथ्यांक छ। तर कतिपय स्थानमा यो अवधि साढे पाँच वर्षसम्म पुग्ने गरेको छ। अमेरिकाभर हाल झण्डै १० हजार नेपालीका मुद्दा अदालतमा बाँकी रहेका छन् भने, न्युयोर्कमा मात्रै करिब ४ हजार मुद्दा विचाराधीन छन्। समय बित्दै जाँदा साक्षीहरू फेला नपर्ने, घटनाको सम्झना धमिलो हुँदै जाने र आइसद्वारा पक्राउ वा देशनिकालाको जोखिम बढ्ने चिन्ता देखिएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हालैको रिपोर्टअनुसार, अगस्ट २०२५ सम्म आइपुग्दा एसाइलम स्वीकृतिको दर केवल १९ दशमलव २ प्रतिशतमा झरेको छ, जुन एक वर्षअघि अगस्ट २०२४ मा ३८ दशमलव २ प्रतिशत थियो। नेपालीहरूको एसाइलम स्वीकृत हुने दर पनि अमेरिकाका विभिन्न अध्यागमन अदालतमा उल्लेखनीय रूपमा घटेको पाइएको छ।

ट्रम्प प्रशासनकै समयमा एसाइलमका नियममा कडाइबारे धेरै चर्चा भए पनि, सबैभन्दा पछिल्लो गिरावट भने पूर्व राष्ट्रपति बाइडेनको समयमा शुरू भएको र तिनै प्रवृत्तिहरू निरन्तर जारी रहेको देखिन्छ। प्रशासन परिवर्तन हुँदा पनि स्वीकृति दरमा कुनै ठोस सुधार नभई गिरावट क्रम जारी छ। गत वर्षको वार्षिक प्रतिवेदनले पनि एसाइलम खोज्नेहरू व्यक्तिगत सुनुवाइमा पहिलेदेखि नै कम सफल हुँदै आएको जनाएको छ, र सफलताको यो घट्दो दर ट्रम्प प्रशासनमा पनि तलतिर झर्दै गएको थियो।

पछिल्ला रिपोर्टहरूमा विभिन्न अदालतहरूमा अध्यागमन न्यायाधीशका बीच एसाइलम स्वीकृति दरमा ठूलो भिन्नता देखिएको छ। सान फ्रान्सिस्को अध्यागमन अदालतमा कोही न्यायाधीशले ९७ दशमलव १ प्रतिशतसम्म एसाइलम स्वीकृत गरेका छन् भने, अर्का न्यायाधीशले मात्र ४ दशमलव ८ प्रतिशत स्वीकृत गरेका थिए। न्युयोर्क शहरमा पनि कोही न्यायाधीशले ९२ दशमलव ४ प्रतिशत एसाइलम स्वीकृत गरेकाले, अर्काले मात्र २ दशमलव ६ प्रतिशत स्वीकृत गरेका थिए।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com