घरमा बास माग्न आएकाले सासु-बुहारीलाई आइसियु पुर्‍याए


प्रकाशित मिति : आश्विन २४, २०७५ बुधबार

दसैंको समय छ। घर फर्किंदै हुनुहुन्छ। गाडीमा यात्रा गर्दा अझ सतर्क रहनुहोस्।

नजिकै सिटमा बसेको साथीले जुस पिलाएर सर्वस्व लुट्न सक्छ।

चितवन माडी नगरपालिका-६ कल्याणपुरमा भएको एउटा घटनाले बास माग्नेसँग सचेत बन्न प्रेरित गरेको छ। यात्रा गर्दा गाडीमा थप होसियारी अपाउनुपर्ने भएको छ।

चितवन प्रहरीका अनुसार असोज १२ राति चितवन माडी नगरपालिका-६ कल्याणपुरका भीमबहादुर सुनारको घरमा एक महिला र पुरुष बास माग्न पुगेका थिए। घरमा भीमबहादुरकी आमा मायाकुमारी, श्रीमती अनिशा र चार वर्षकी छोरी थिइन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बास माग्न पुगेकामध्ये एक जना महिला माडी बजारमा अमिलो बेच्थिन्। दुबैले आफूहरू अमिलो बेच्दै हिँड्थे पेशाको बताएका थिए।

साधारण पेशा। साधारण भेषभूषा तथा हुलिया। हेर्दा नपत्याउँदा।

मायाकुमारीले बास दिने निधो गरिछन्। यही मौकामा ‘सोझा देखिने’ ती पुरुष र महिलाले आँपको जुसमा बेहोस् हुने औषधी मिसाएर मायाकुमारी र अनिशालाई पिलाइदिए।

दुबै बेहोस् भएपछि १५ तोला सुनका गरगहना र दुई थान मोबाइल लुटेर राति नै फरार भए।

घटना भोलिपल्ट मात्र खुल्यो, जब सासु-बुहारी सुतेको सुतै भए।

बरामद अौषधी, इन्जेक्सनलगायत।

सासु-बुहारी नउठेपछि प्रहरीलाई खबर गरे। प्रहरी पुग्दा सुन थिएन, मोबाइल थिएन। बास बस्ने मान्छे पनि थिएनन्।

चितवन प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रभु ढकालका अनुसार बेहोस् अवस्थामा रहेका सासु-बुहारीलाई सेन्ट्रल अस्पताल भरतपुर लगेर आइसियुमा राखियो। ‘११ दिनको उपचारपश्चात् समेत सासु अर्धबेहोस् अवस्थामा छिन्, पाँच दिनको उपचारपछि बुहारी घर फर्किएकी छिन्,’ ढकालले सेतोपाटीसँग भने।

ढकालका अनुसार सुरुमा इलाका प्रहरी कार्यालय माडीले घटना विवरण जिल्ला प्रहरीमा टिपाएको थियो। जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक युवराज तिमल्सिनाको नेतृत्वमा विशेष अनुसन्धान टोली परिचालन भयो।

नारायणगढ-माडी चल्ने सवारी चालकहरूबाट अनुसन्धान थालियो। पीडितबाट लुटिएका मोबाइलबाट ‘टेक्निकल अनुसन्धान’ थालियो। ढकालका अनुसार यो घटनाका मुख्य योजनाकार मकवानपुर-९ चित्लाङ घर भई हाल तनहुँ देवघाटमा डेरा बस्ने हरि गोलेलाई सोमबार पक्राउ गरियो।

गोलेमाथि अनुसन्धान गर्दा कास्की माछापुच्छ्रे गाउँपालिका ६ का कालु परियार सोमबारै पक्राउ परे। उनी यस्तै प्रकृतिको घटना योजना बनाउँदै गर्दा बुटवल बसपार्कबाट समातिएका थिए। ढकालका अनुसार उनको साथबाट औषधी, इन्जेक्सन, टर्च, जुससहितको बोतल बरामद गरिएको छ।

पक्राउ परेका गोले र कालु परियारलाई ज्यान मार्ने उद्योग र चोरी कसुर अन्तर्गत कानुनी कारबाही अघि बढाइएको ढकालले बताए।

‘गोपाल भन्ने कालु परियार विगत पन्ध्र वर्षदेखि यस्तै प्रकृतिको लुटपाटजन्य अपराधमा संलग्न रहेको अनुसन्धानमा खुलेको छ,’ ढकालले भने, ‘लुटपाट गर्दा घरवालालाई विश्वास दिलाउन महिलासमेतलाई प्रयोग गर्ने खुलेको छ।’

माडीको घटनामा संलग्न ती अमिलो बेच्ने महिला को थिइन् अनुसन्धान भइरहेको ढकालले बताए।

माडीको घरबाट लुटेको सुन २ लाख ८० हजारमा बिक्री गरी रकम बाँडफाँट गरिसकेको खुलेको छ। सुन कहाँ कसलाई बिक्री गरेको अनुसन्धान भइरहेको छ।

कालु परियारमाथि अनुसन्धान गर्दा उनले बेहोस् बनाउने औषधी भारत नौतुनवा, गोरखपुरबाट खरिद गरी ल्याउने गरेको खुलेको छ। उक्त औषधीको नाम ‘एटिभन’ रहेको छ। पन्ध्र वर्षअघि गोरखपुरस्थित एक होटलमा काम गर्दा भारतीय नागरिकबाट आफूले यस्तो अपराध गर्न सिकेको उनले बयानमा बताएका छन्।

प्रहरीका अनुसार उनले दस वर्षअघि सुर्खेत जाने बसमा एक जना मानिसलाई औषधी खुवाएर २५ हजार भारु लुटेका थिए। त्यसपछि नेपालगञ्जबाट लखनउ जाँदै गरेका नेपालीलाई बेहोस् बनाएर १२ हजार रुपैयाँ लुटेका थिए।

उनले दुई महिनाअघि बुटवलबाट बाग्लुङ जाने बसमा एक यात्रुलाई बेहोस् बनाई ६० हजार रुपैयाँ र मोबाइल लुटेको खुलेको छ।

माडीमा चोरी गरेको दुई दिनअघि चौबीसकोठीमा अमिलो बेच्ने महिलासँग सल्लाह गरी योजना बनाएको उनीबाट खुलेको छ। हालसम्म नेपालका विभिन्न ३० ठाउँमा बेहोस् बनाई लुटिसकेको उनले प्रहरीमा बयान दिएका छन्।

उनले माडीबाट लुटेको सुन पोखरा बसपार्कको होटलमा बसेर बाँडेको बताएका छन्। एक लाख लिएर बाँकी रकम हरि गोले र महिलालाई बाँडेको बयानमा बताएका छन्।

पक्राउ परेका हरि गोलेको घर मकवानपुर नगरपालिका २ मा हो। उनी पनि तनहुँस्थित देवघाटमा डेरा गरी बस्थे। उनी पर्सा टाँडीमा बेहोस् बनाई लुटेको घटनामा २०७१ सालमा जेल परेका थिए। उनी गत वैशाखमा छुटेपछि पुनः अपराधमा सक्रिय रहेको प्रहरीले जनाएको छ।

जेलबाट छुटेपछि असारमा हेटौडाबाट काठमाडौं जाने बसमा एक यात्रुलाई बेहोस् बनाएर एक हजार लुटेका थिए। उनले कालु परियारसँग चार–पाँच वर्षदेखि चिनजान भएको र आवश्यक पर्दा उनैसँग औषधी लिने गरेको बताएका छन्।

प्रहरी नायब उपरीक्षक प्रभु ढकाल।

माडी घटनामा कालु परियारलाई चन्द्रौटाबाट बोलाएर घर देखाई सम्पत्ति लुट्ने योजना बनाएको उनले बयानमा बताएका छन्।

माडीबाट लुटेको सुन बिक्री गरेबापत ७० हजार रुपैयाँ पाएको उनले बयानमा बताएका छन्। मोबाइल गोरखपुर लगेर दुई हजार भारुमा बिक्री गरेको उनले बताएका छन्।

उनले चितवनकै राम परियारबाट यस्तो अपराध सिकेको बताएका छन्। ढकालका अनुसार परियारको खोजी थालिएको छ। यस्तो घटनामा अन्य एक महिला र पुरुषको खोजी भइरहेको उनले बताए।

‘उनीहरूको सञ्जाल निकै ठूलो हुनसक्ने अनुमान गरिएको छ,’ डिएसपी ढकालले भने, ‘औषधी खरिद गर्न र लुटेका मोबाइल बेच्न गोरखपुर जाने गरेको अनुसन्धानमा खुलेको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com