जहाजजस्तै सुविधाजनक पर्यटकीय बस : अाजदेखि काठमाडौँ–लुम्बिनी सीधा सञ्चालन


प्रकाशित मिति : आश्विन २२, २०७५ सोमबार

ट्राभल नेपाल बस सर्भिसेज प्रालिले पहिलोपटक काठमाडौँदेखि मुलुकको प्रमुख पर्यटकीय गन्तव्य लुम्बिनीसम्म पर्यटकीय बस सञ्चालनमा ल्याएको छ ।

यसअघि काठमाडौँ–पोखरा बस सञ्चालन गरेको ट्राभल नेपालले आज बिहानदेखि काठमाडौँ–सुनौली हुँदै लुुम्बिनीसम्म बस सञ्चालनमा ल्याएको हो । ट्राभल नेपालले यसअघि नै लुम्बिनी बस सञ्चालन गर्ने भनेपनि मुग्लिङ–नारायणघाटको बाटो र पूर्वाधारका कारण सञ्चालन गर्न सकेको थिएन ।

प्रालिका सञ्चालक प्रल्हाद लोहनीले लुम्बिनीको लागि तीनवटा अत्याधुनिक र सुविधा सम्पन्न बस सञ्चालनमा ल्याएको जानकारी दिनुभयो । सुविधायुक्त सोफा सिट रहेको बसमा चर्पीदेखि चुरोट पिउने कोठासम्म रहेको छ ।

काठमाडौँको गौशालाबाट बिहान ६ः३० बजे लुम्बिनीका लागि छुट्ने बसको टिकट ट्राभल नेपाल अनलाइनमार्फत समेत लिन सकिने लोहनीले बताउनुभयो । सात बस रहेको ट्राभल नेपालले चार बस पोखरामा सञ्चालन गर्दै आएको छ ।

टुरिष्ट बस एशोसियसन अफ नेपाल (टिवान)का महासचिव कृष्ण आचार्यले मुलुकको पर्यटन विकासका लागि काठमाडौँ–लुम्बिनी बस सेवाले ठूलो सहयोग पुग्ने बताउनुभयो ।

दैनिक आन्तरिक तथा बाह्य हजारौँ पर्यटकलाई ओहोरदोहोर गराउने पर्यटकीय बसका लागि काठमाडौँमा छुट्टै बसपार्क नहुँदा समस्या परेको छ । काठमाडौँको कान्तिपथ सडकबाट पर्यटक बोकेर आवतजावत गरिरहेका पर्यटकीय बस यतिबेला सोह्रखुट्टे सडकबाट यात्रु बोकेर ओहोरदोहोर गरिरहेका छन् ।

पर्यटनको विकासका लागि एशोसियसनले काठमाडौँदेखि जनकपुर र बर्दियामा पनि बस सञ्चालन गर्न लागे पनि पार्किङका लागि पूर्वाधारको विकास र सडक राम्रो नहुँदा समस्या परेको छ । काठमाडौँबाट देशका विभिन्न भागमा पर्यटक लैजान हाल एक सय हाराहारीका बसले यात्रुलाई सेवा दिइरहेका छन् ।

भारतको टाटा मोटर्स एमसीभी सेगमेन्टकाे नयाँ मोडलका रुपमा भित्र्याइएका यी बसमा अत्याधुनिक सुविधा छ । १३३ हर्ष पावरको इन्जिन भएको वाईड बडी बसमा एयर सस्पेन्सन अनि २८ रिक्लाइनिङ थाई रेष्ट सिटहरुमा फोल्डेबल टेबल (ट्रे) जडीत छ । त्यस्तै ४९० न्युटन मिटरको टर्क, २५३ मिलि मिटरको क्लचप्लेट र जी ६०० गियर बक्स जस्ता विशेषताले अप्ठ्यारा, पहाडी क्षेत्रमा पनि सहज रुपले बसले भार बहन गर्ने क्षमता रहेको दाबी गरिएकाे छ ।

बस भित्रै वासरुम र टाेइलेटको सुविधाका साथै धुम्रपान गर्नेका लागि छुट्टै चुराेट पिउने काेठकाे व्यबस्था पनि छ । यसैगरी यात्रुहरुलाई चिसो र तातो पेय पदार्थ तथा अन्य अावश्यक खानेकुराको व्यवस्था पनि बसभित्रै रहेको जनाइएकाे छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com