आठ वर्षीया बालिकाले पोखरीबाट झिकिन् १५ सय वर्ष पुरानो तरबार


प्रकाशित मिति : आश्विन १९, २०७५ शुक्रबार

बीबीसी

स्विडेनकी एक आठ वर्षीया बालिकाले पोखरीमा पौडी खेलिरहेका बेला १५ सय वर्ष पुरानो तरबार फेला पारेकी छिन् ।

सागा भानेसेकले स्विडेनको जोन्कोपिङ काउन्टीस्थित भिदोस्तर्न पोखरीबाट उक्त तरबार भेटेकी हुन् ।

सुरुमा उक्त तरबार हजार वर्ष पुरानो बताएपछि स्थानीय संग्रहालयका विज्ञले यो १५ सय वर्ष पुरानो बताएका छन् ।

‘पोखरीमा पानीको स्तर निकै कम भएकाले सागाले यो प्राचिन हतियार भेटेको हुनसक्छ,’ संग्रहालयका मिकाइल नोर्डस्ट्रोमले बताए ।

‘मैले पानीभित्र केही भेटें र त्यसलाई उठाए । त्यसमा ह्यान्डल पनि थियो र त्यो तरबार जस्तै देखिन्छ भनेर बुवालाई देखाएँ,’ सागाले स्भेरिज रेडियो ब्रोडकास्टरलाई बताइन् ।

सागाका बुवा एन्डी भानेसेकले अंग्रेजी वेबसाइट ‘द लोकल’ लाई सुरुमा उनकी छोरीले केही लट्ठी वा रुखको हाँगा पानीभित्र भेटेको अनुमान गरेको बताए ।

एकजना साथीलाई देखाएपछि मात्र त्यो प्राचिन हतियार भएको पत्ता लागेको उनले जानकारी दिए ।

प्राचिन वस्तुको संरक्षण गरिरहेको स्थानीय संग्रहालयले उक्त तरबारलाई निकै जतनका साथ राखिने बताएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com