पेट्रोलको मूल्य प्रतिलिटर १४४ रुपैयाँ !
प्रकाशित मिति : आश्विन ७, २०७५ आईतबार
पेट्रोलको दाम प्रति लिटर एक सय ४४ रुपैयाँ ! सुनेर अचम्म लाग्न सक्छ तर यो मूल्य नेपालको होइन, बरू छिमेकी देश भारतको हो । भारतमा हाल पेट्रोलियम पदार्थको मूल्यमा निरन्तर वृद्धि भइरहेको छ, आइतबार लगातार चौथो दिनको मुल्य वृद्धिपछि मुम्बईमा पेट्रोलको मूल्य प्रतिलिटर ८९ रुपैयाँ ९७ पैसा भएको छ जुन नेपालि मुद्रामा लगभग एक सय ४४ रुपैयाँ हुन आउँछ ।
भारतीय मुद्रा अमेरिकी डलरको तुलनामा दिनानुदिन कम्जोर हुँदै गइरहेकाले पैठारीजन्य सामग्रीहरूको दाम निरन्तर बढिरहेको छ । भारतका अलग अलग राज्यहरूमा राज्य सरकारहरूले फरक फरक दरले कर लगाउने हुँदा पेट्रोलियम पदार्थको मूल्य पनि राज्यपिच्छे फरक हुने गरेको छ ।
आइतबार गरिएको मूल्यवृद्धि अनुसार पेट्रोल दिल्लीमा लगभग एक सय ३२ रुपैयाँ प्रतिलिटर, कोलकातामा लगभग एक सय ३५ रुपैयाँ प्रतिलिटर, चेन्नईमा एक सय ४३ रुपैयाँ ५० पैसा प्रतिलिटर र मुम्बईमा एक सय ४३ रुपैयाँ ९५ पैसा प्रतिलिटर रहेको छ ।
गत २८ जुलाई यता निरन्तर बढिरहेको पेट्रोलको दाम सो यता एक पल्ट पनि घटेको छैन । भारतीय समाचार माध्यमहरूले जनाएअनुसार भारतमा रिफाइनरीमा पेट्रोलको आधार मूल्य नेपाली मुद्रामा ६६ रुपैयाँ ३७ पैसा पर्ने गर्दछ । त्यसमा लाग्ने विभिन्न कर र डिलरहरूको कमिसनपछि यसको मूल्य आकासिने गरेको बताइएको छ ।
मुम्बईमा अन्य ठाउँभन्दा पेट्रोल महँगो हुने कारण त्यहाँ सर्वाधिक ३९.१२ प्रतिशत भ्याट लाग्ने गर्दछ । यसका अतिरिक्त केन्द्र सरकाले पेट्रोलियम पदार्थमा २७ प्रतिशत जिएसटी समेत तोकेको छ ।