गरि खान हातै चाहिन्छ र ? नायव सुब्बा गणेश राई


प्रकाशित मिति : आश्विन ५, २०७५ शुक्रबार

दुवै हात नभएकाले बाँचिहाले पनि केही गर्न सक्दैन भन्नेलाई गणेश राईले सवक सिकाएका छन् । साबिक काहुले–६ सालम्बु खोटाङ (हाल : जन्तेढुंगा गाउँपालिका–३) निवासी गणेश राई काठमाडौंको बबरमहलमा रहेको सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत डिभिजन कार्यालय प्रमुख वसन्तकुमार राईको पीए हुन् ।

उनले कार्यालयको काम कम्प्युटरमै गर्छन् । लेख्नै परे पनि औंलाविहीन हातले लेख्न सक्छन् । फाइल पल्टाउने, दर्ता चलानी गर्न अरूको सहयोग चाहिँदैन । सेवाग्राहीलाई मुस्कानसहित सेवा दिनुपर्छ भनेर उनी जानकार छन् । सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत डिभिजन कार्यालय प्रमुख राईमात्रै होइन, मुस्कानसहितको सेवा पाउँदा सेवाग्राही गणेशसँग त्यत्तिकै प्रभावित छन् ।

सहरी विकास तथा भवन निर्माण विभागमा कार्यरत उनी मिहिनेत गरे सफलताले पछ्याउँछ भन्नेमा ढुक्क छन् । करार सेवामा कार्यरत उनी लोकसेवा तयारीमा जुटेका छन् । नासु गणेश राईको आफ्नै आयस्रोतबाट आफूबाहेक तीन भाइलाई काठमाडौंमा पढाइरहेका छन् ।

सीमित आयस्रोतले आफूसहित चार भाइ टिक्न गाह्रो भए पनि आत्तिएका छैनन् । उनले भने, ‘सधैं सकारात्मक सोच्छु । सकारात्मक सोचियो भने आइपरेको समस्या समाधान गर्न हिम्मत बढ्छ । सकारात्मक सोच भनेको अचुक औषधि पनि हो ।’

भाइहरूसँग बसे पनि दैनिक जीवनमा मानिसलाई आइपर्ने सबै काम आफैं गर्छन् । खाना पकाउने, लुगा धुन, नुहाउन कसैलाई सहयोग माग्नुपर्दैन । उनले खुट्टाले लेख्न र खान पनि सक्छन् ।

‘अपांगता भएकालाई दयाको पात्र बनाइनुहुँदैन,’ दुवै हात नभएका गणेश राईको तर्क छ, ‘अपांगता भएकासँग पनि योग्यता, सीप र कला छ । त्यहीअनुसार अवसरचाहिँ दिनुपर्छ । अरू केही चाहिँदैन । त्यति भए अपांगता भएकाले गरिखान सक्छन् ।’

समाजसेवामार्फत आफूजस्तै अपांगता भएकाको सेवा गर्ने लक्ष्य बनाएका उनले दुःखेसो पोखे, ‘अपांगता भएकाको नाममा छुट्याइएका सरकारी गैरसरकारी सुविधा साङ्गले उपभोग गर्दै आएका छन् । त्यो रोकिनुपर्छ ।’ खोटाङ सेवा समाज हङकङले ४५ हजार रुपैयाँसहित सम्मान गरेको बाहेक अपांगताको नाममा उनले आजसम्म केही सुविधा लिएका छैनन् ।

साइँला छोराको प्रगति देखेर गणेशका बुवा काजीमान राई, आमा जयकुमारी राई खुसी छन् । उनीसम्बद्ध कार्यालय पुगेका सेवाग्राही उनीदेखि त्यत्तिकै प्रभावित छन् । तपाईंबाट हामीले धेरै कुरा सिक्नुपर्छ भनेर सेवाग्राहीले प्रतिक्रिया दिँदा उनलाईं भविष्यमा केही गर्नैपर्छ भन्ने प्रेरणा मिल्दोरहेछ ।

खोटाङको दिक्तेलमा सिकेको पहिले तीनमहिने आधारभूत र पछि एड्भान्स कम्प्युटर ट्रेनिङले कार्यालयको काममा सघाएको छ । कम्प्युटर सिक्न प्रबन्ध मिलाइने खोटाङ विकास मञ्चले उनलाई ठूलो गुन लगाएको हो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com