नेपाली नागरिकता त्याग्नेको संख्या बढ्यो


प्रकाशित मिति : आश्विन ३, २०७५ बुधबार

पछिल्लो समय नेपाली नागरिकता त्याग्नेको संख्यामा वृद्धि भएको छ । विदेशमै स्थायी बसोबास गर्ने भएपछि पछिल्लो समय रुपन्देहीमा नेपाली नागरिकता त्याग्नेको संख्या बढेको छ । नेपाली नागरिकता त्याग्नेमध्ये तेस्रो मुलुकमा बसोबास गर्ने अत्यधिक छन् ।

६ भदौ २०७५ मा रुपन्देहीका ५ जनाले एकैदिन नेपाली नागरिकता त्यागे । पाँचमध्ये बुटवल उपमहानगरपालिका १० का क्रान्ति थापा र तुल्सीप्रसाद थापाले हङकङको नागरिकता लिन नेपाली नागरिकता त्यागेको प्रशासनको तथ्यांकमा उल्लेख छ । उनीहरु एकै परिवारका हुन् । यस्तै टिकुलीगढका रिजन गुरुङ र नाबालक रेवती गुरुङले कोरियाको नागरिकता लिन भन्दै नेपाली नागरिकता त्यागे । उनीहरु पनि एकै परिवारका सदस्य हुन् । सेमलारका नुरे सुनारले बेलायतको नागरिकता लिन भन्दै सोही दिन नै नेपाली नागरिकता त्यागे । पछिल्लो समय जिल्लामा नेपाली नागरिकता त्याग्नेको संख्या बढ्दो क्रममा छ । जिल्ला प्रशासनको तथ्यांकअनुसार अहिलेसम्म २ सय ३० जनाले नेपाली नागरिकता त्यागेका छन् ।

पछिल्लो ५ वर्षमा सबैभन्दा बढी नेपालीहरुले नागरिकता त्यागेका छन् । पाँच वर्षको अवधिमा मात्रै ७२ जनाले नेपाली नागरिकता त्यागेको जिल्ला प्रशासन नागरिकता शाखाले जनाएको छ । राजनीतिक अस्थिरता र देशको परिस्थितिका कारण नेपालीमा विदेश मोह बढेको समाजशास्त्रीको भनाइ छ ।

कानुनतः एक व्यक्तिले दुई देशको नागरिकता लिन पाइँदैन । त्यसैले कुनै पनि नेपालीले नागरिकता त्याग गर्न चाहेमा नागरिकता ऐन २०६३ को दफा १० बमोजिम र सोही ऐनको अनुसूचि ९ अनुसार दुतावास, गृहमन्त्रालय र जिल्ला प्रशासनमा निवेदन दिनसक्ने व्यवस्था गरिएको छ । रुपन्देही जिल्लामा नेपाली नागरिकता त्यागेर सबैभन्दा बढी हङकङ र बेलायतको नागरिकता लिने बढी छन् । यस्तै सिंगापुर, अष्ट्रिया, कोरिया, क्यानडा, अमेरिकाको नागरिकता लिने पनि छन् । भारतको नागरिकता लिनेको संख्या भने नगन्य छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com