नेपालमा रेल जोड्न चीन आतुर


प्रकाशित मिति : भाद्र २७, २०७५ बुधबार

काठमाडौंमा चिनियाँ रेल कहिले आइपुग्ला भन्ने चासो बढ्दै गर्दा तिब्बती अधिकारीहरूले केरुङ–काठमाडौं रेल आफ्नो उच्च प्राथमिकतामा परेको बताएका छन् । चीनले केरुङ–काठमाडौं रेलको पहिलो चरणको अध्ययन गरिसकेको छ ।

‘नेपालमा रेल र सडक सञ्जालले जोडेर विकास सहकार्य गर्न हामी आतुर छांै, यसमा काम भइरहेको छ’, जनकंग्रेस तिब्बतको स्थायी समिति उपाध्यक्ष र बाह्य सम्बन्ध एवं विदेश मामिला कार्यालयका सचिव चु चुन्हुयाले भने, ‘नेपाल हाम्रो पुरानो र विश्वासिलो मित्र हो । सीमा जोडिएका हामी सहकार्य गरेर अघि बढ्ने हो ।’

नेपाली सीमा केरुङसम्म कहिलेसम्म आउला त रेल ?

चिनियाँ उच्च अधिकारीसँग यसको स्पष्ट जवाफ नभए पनि उनीहरू काठमाडौं जाने रेलको काम उच्च प्राथमिकतामा रहेको बताउँछन् । अन्नपूर्णसँगको संक्षिप्त कुराकानीमा चुले भने, ‘काम भइरहेको छ, नेपालमा पनि रेल आउँछ ।

ल्हासाको रेल केरुङ पुगेपछि काठमाडौं टाढा हुँदैन । त्यहाँ जोड्ने अध्ययन भइरहेको छ । त्यो निर्माणको चरणमा नै अघि बढ्नेछ ।’

ल्हासाको डाँडोमा रेल गुडाइरहेको चीनले पछिल्लो समय काठमाडौंमा रेल ल्याउनेमा नेपाली जति आशावादी छन्, चिनियाँ अधिकारीहरू पनि त्यतिकै उत्साही सुनिए । उनले थपे, ‘तिब्बत पनि विकासकै चरणमा छ । नेपालमा तिब्बत विकासको अनुभव अपरिहार्य छ । विकासमा सहकार्य गर्न तिब्बत सधैं तयार छ ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com