नेपालका परराष्ट्रमन्त्रीसँगको भेटमा रुसको निन्दा गरिएको पोल्यान्डको भनाई
प्रकाशित मिति : ५ आश्विन २०८३, सोमबार
न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोल्यान्डका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री रादोस्लाभ सिकोरस्कीबीच द्विपक्षीय भेटवार्ता। फोटो: राजन काफ्ले/नेपयोर्क
परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा आइतबार पोल्यान्डका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री रादोस्लाभ सिकोरस्कीसँग द्विपक्षीय भेटवार्ता गरेका छन्।
संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगका अनुसार न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भएको भेटमा नेपाल र पोल्यान्डबीच बढ्दो सम्बन्धका विभिन्न पक्षमा छलफल भएको थियो। दुवै पक्षले संयुक्त राष्ट्रसंघ तथा अन्य बहुपक्षीय मञ्चमा आपसी हितका क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिएका छन्।

संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले भनेको छ,”भेटमा दुवै विशिष्ट व्यक्तित्वहरूबीच विस्तार हुँदै गएको नेपाल-पोल्यान्ड सम्बन्धका विविध विषयहरूमा छलफल हुनुका साथै संयुक्त राष्ट्रसंघ र अन्य बहुपक्षीय मञ्चहरू लगायत साझा हितका विभिन्न क्षेत्रहरूमा द्विपक्षीय सहकार्य अभिवृद्धि गर्ने महत्त्वमा जोड दिइयो।”

तर पोल्यान्डको परराष्ट्र मन्त्रालयले सोमबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको विवरणअनुसार भेटमा नेपालमा भइरहेका सकारात्मक राजनीतिक तथा आर्थिक परिवर्तनप्रति पोल्यान्डको समर्थन र विज्ञ सहायता उपलब्ध गराउने सम्भावनालगायत विषयमा छलफल भएको थियो।
भेटका क्रममा पोल्यान्डले युक्रेनप्रति नेपालको समर्थनको प्रशंसा गरेको पोल्यान्डको परराष्ट्र मन्त्रालयले जनाएको छ। साथै, युक्रेन युद्धमा लड्न नेपाली नागरिकलाई प्रयोग गरिएको विषयमा पोलिस पक्षले चिन्ता व्यक्त गरेको छ।

पोल्यान्डले रुसले नेपाली नागरिकलाई युक्रेनमा लड्न बाध्य बनाएको आरोप लगाउँदै त्यसको निन्दा गरेको जनाएको छ। रुसले सन् २०२२ मा युक्रेनमाथि पूर्णस्तरीय आक्रमण गरेयता पोल्यान्ड युक्रेनको बलियो समर्थक रहँदै आएको छ।
भेटपछि पोल्याण्डको परराष्ट्र मन्त्रालयले भनेको छ,”बैठकमा नेपालका सकारात्मक राजनीतिक तथा आर्थिक परिवर्तनमा विज्ञहरूको सहयोगसहित पोल्यान्डको समर्थन, युक्रेनप्रति नेपालको समर्थनको कदर, र युक्रेनमा नेपाली नागरिकहरूलाई जबर्जस्ती युद्ध लडाउन रुसले गरेको शोषणको भर्त्सनाबारे छलफल गरियो।”

युक्रेन युद्धमा रुसी सेनामा भर्ती भएका नेपाली नागरिकको मृत्यु, घाइते तथा सम्पर्कविहीन भएका घटनाबारे नेपालले यसअघि पनि चासो व्यक्त गर्दै आएको छ।
परराष्ट्रमन्त्री खनाल यूएनजीएको उच्चस्तरीय बैठक तथा मन्त्रीस्तरीय कार्यक्रमहरूमा सहभागी हुन आइतबार न्युयोर्क पुगेका हुन्। उनको भ्रमणका क्रममा विभिन्न देशका समकक्षी तथा अन्य उच्च अधिकारीसँग द्विपक्षीय भेटवार्ता हुने कार्यक्रम रहेको छ।





