तक्मा बनाउन आठ करोड खर्च
प्रकाशित मिति : भाद्र २३, २०७५ शनिबार
गत मंगलबार ३ सय ४३ जनालाई राष्ट्रपति विद्यादेवी भण्डारीबाट विभूषित गरियो । राज्यलाई महत्त्पूर्ण योगदान दिएके आधारमा सरकारले हरेक वर्ष सयौं व्यक्तिलाई विभिन्न विभूषण (तक्मा)ले सम्मान गर्ने प्रचलन अनुसार नै यस वर्ष पनि विभूषित गरिएको हो।
एक वर्षअघिको सिफारिसको आधारमा यस वर्ष विभूषित गरिएको हो। उनीहरुलाई दिइने तक्मा बनाउन आठ करोड खर्च भएको गृह मन्त्रालयले जनाएको छ। सरकारले दिने तक्मामध्ये सबैभन्दा ठूलो नेपालरत्न हो । यो तक्मा बनाउन करिब १५ लाख खर्च हुन्छ। नेपालरत्न विभूषण यस वर्ष स्व. बिपी कोइरालालाई प्रदान गरिएको थियो। तक्मा हीराजडित हुन्छ। अाजकाे नयाँ पत्रिका दैनिकमा खबर छ।
सुनको रश्मि आकारभित्र कमलको पात आकारको आठवटा रातो मीना जडान गरिएको हुन्छ। त्यस्तै, बीचमा सुनले बनाएको नेपालको नक्सा पनि हुन्छ । यसैगरी, राष्ट्रगौरव तक्माको नौ लाख, राष्ट्रदीपको करिब साढे ६ लाख तथा जनसेवाश्रीको ६ लाख रुपैयाँ लाग्छ। राष्ट्रगौरव र राष्ट्रदीप पनि हीरा र सुन जडान गरेर निर्माण गरिएको हुन्छ। जनसेवाश्रीमा मणि जडान गरिएको हुन्छ। त्यस्तै, अलंकार बनाउन एउटाको दुई हजार ५०० तथा पदक बनाउन करिब ८०० रुपैयाँ खर्च हुन्छ।