अमेरिकी सेनाको आक्रमणमा ५ जनाको मृत्यु, समुद्रमा बेपत्ताहरूको खोजी जारी


प्रकाशित मिति : पुस १६, २०८२ बिहीबार

अमेरिकी सेनाले गरेको आक्रमणमा परी ५ जनाको मृत्यु भएको छ। लागूऔषध ओसारपसार गरेको आशंकामा दुईवटा डुंगामाथि अमेरिकी सेनाले आक्रमण गर्दा त्यसमा सवार व्यक्तिहरूको ज्यान गएको अधिकारीहरूले बताएका छन्।

अमेरिकी साउदर्न कमाण्डले यो आक्रमण कुन निश्चित स्थानमा गरिएको हो भन्नेबारे विस्तृत जानकारी खुलाएको छैन। यद्यपि, विगत तीन महिनादेखि अमेरिकी सेनाले क्यारिबियन सागर र पूर्वी प्रशान्त महासागर क्षेत्रमा लागूऔषध तस्करीमा संलग्न भएको आशंका गरिएका जहाजहरूलाई निशाना बनाउँदै आएको छ।

पछिल्लो घटनाभन्दा एक दिनअघि पनि अमेरिकाले तीनवटा जहाजको एउटा समूह (काफिला) माथि आक्रमण गरेको थियो, जसमा कम्तीमा तीन जनाको मृत्यु भएको दाबी गरिएको थियो।

ट्रम्प प्रशासनले यी कारबाहीहरूलाई लागूऔषध तस्करहरूविरुद्धको “गैर-अन्तर्राष्ट्रिय सशस्त्र द्वन्द्व” को रूपमा चित्रण गर्दै आएको छ। कानुनी विज्ञहरूले भने यस्ता आक्रमणहरू सशस्त्र द्वन्द्वसम्बन्धी अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन हुन सक्ने चेतावनी दिएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सेप्टेम्बर २ यता “लागूऔषधविरुद्धको युद्ध” अन्तर्गत ३० भन्दा बढी आक्रमणहरू भइसकेका छन्, जसमा हालसम्म ११० भन्दा बढी व्यक्तिको मृत्यु भएको बताइएको छ।

साउदर्न कमाण्डका अनुसार केही व्यक्तिहरू बाँच्न सफल भएका छन्। आक्रमणका क्रममा “नार्को-आतंककारीहरू” भनिएका केही व्यक्तिहरू डुंगा छाडेर समुद्रमा हाम्फालेका थिए।

त्यसपछि अमेरिकी सेनाले ती डुंगाहरूलाई डुबाइदिएको थियो। हाल अमेरिकी तटरक्षक बलले बेपत्ता रहेका भनिएका आठ जनाको खोजी गरिरहेको छ।

अमेरिकाले निशाना बनाएका डुंगाहरूमा लागूऔषध रहेको कुनै ठोस प्रमाण हालसम्म सार्वजनिक गरेको छैन। यद्यपि, ती जहाजहरू लागूऔषध तस्करीका लागि प्रयोग हुने परिचित मार्गहरूमा फेला परेको साउदर्न कमाण्डको दाबी छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com