नुहाउने क्रममा डुबेर दुई बालकको मृत्यु


प्रकाशित मिति : भाद्र २१, २०७५ बिहीबार

पोखरीमा नुहाउने क्रममा दुई बालकको डुबेर मृत्यु भएको छ । नुहाउने क्रममा वीरगञ्ज महानगरपालिका–२४ रामगढवाका १४ वर्षीय नितेश पटेल र ११ वर्षीय सुदर्शन पटेलको डुबेर मृत्यु भएको हो ।

दुवै जना रामगढवाको ज्योतिनगरस्थित पोखरीमा मङ्गलबार बेलुका साथीसँग नुहाउन गएका थिए । अबेर रातिसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा आज बिहान उनीहरुको शव पोखरीमा फेला परेको प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिनुभयो । दुवै बालकको शव परीक्षणका लागि वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल लगिएको छ ।

यो पनि पढ्नुहोस

धुलिखेल नगरपालिकाले आफ्नै एप्स सार्वजनिक गर्दै ! स्थानीय तहलाई निःशुल्क मोबाइल एप्स! 

काठमाडौँ, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना प्रविधि विभागसँगको सहकार्यमा स्थानीय तहलाई निःशुल्क रुपमा मोबाइल एप्स उपलब्ध गराउने भएको छ ।

स्थानीय तहका सम्पूर्ण सूचना तथा जानकारी जनस्तरमा छिटो र छरितो ढङ्गले सम्प्रेषण गर्न, विभिन्न सुविधासम्बन्धी जानकारी प्रदान गर्न र गुनासो तथा समस्याको उचित व्यवस्थापन गर्न विभागले मोबाइल एप्स निर्माण गरेको हो ।

विभागले धुलिखेल नगरपालिकाको अनुरोधमा मोबाइल एप्स निर्माण गरेको थियो । उक्त एप्स सूचना सम्प्रेषणमा प्रभावकारी देखिएको भन्दै मन्त्रालयले अन्य स्थानीय तहलाई पनि प्रयोगका लागि अनुरोध गरेको हो ।

एप्समा स्थानीय तहको सङ्क्षिप्त परिचय र तथ्याङ्क, भौगर्भिक सूचना प्रणाली (जीआईएस), जनप्रतिनिधिको तस्वीरसहितको सम्पर्क विवरण, सबै वडाहरुको नक्शासहितको वस्तुगत विवरण र सम्पर्क विवरण, ऐन कानून निर्देशिका, आपतकालीन नम्बर र योजना तथा परियोजनाका बारेमा जानकारी राख्न सकिनेछ ।

स्थानीय तहले आफ्ना वेबसाइटमा राखेका सम्पूर्ण जानकारी एप्समार्फत नै पाइनेछ । एप्स प्रयोगकर्ताले स्थानीय तहले नागरिक बडापत्रअनुसार प्रदान गर्ने सम्पूर्ण सेवाको विवरण एकै क्लिकमा प्राप्त गर्नेछन् । सेवा प्राप्त गर्न लाग्ने समय, जिम्मेवार अधिकारी, सेवा दिने कार्यालय, सेवा शुल्क, आवश्यक कागजात र प्रक्रिया तथा नमूना फारामसमेत एप्समार्फत जानकारी मिल्ने मन्त्रालयका कम्प्युटर अधिकृत देवेन्द्रकुमार झाले जानकारी दिनुभयो ।

कार्यक्रम तथा परियोजनाको विवरण प्राप्त गर्न, अध्ययन र सुरक्षित राख्न सहयोग मिल्ने छ । स्थानीय तहअन्तर्गत रहेका महत्वपूर्ण स्थानजस्तै अस्पताल, शैक्षिक संस्था, पर्यटनस्थल आदिको विवरण पनि एप्समार्फत थाहा पाउन सकिनेछ । स्थानीय तहले कुनै प्रसङ्गमा जनतासँग जनमतसमेत लिन सक्ने गरी एप्सको विकास गरिएको छ ।

एप्स प्रयोगकर्ताले स्थानीय तहअन्तर्गतका समस्या र सुझाव सम्बन्धित निकायमा दर्ता गराउन सक्नेछन् । एप्समार्फत दर्ता भएको समस्या जिम्मेवार कर्मचारीले हेरी आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पठाउन सकिनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com