काठमाडौंमा टाउको छिनिएको शव फेला


प्रकाशित मिति : भाद्र १९, २०७५ मंगलबार

शान्ति सुरक्षालाई लिएर प्रश्न उठेका बेला काठमाडौंको स्वयम्भुमा टाउको चुडिएको अवस्थामा एक युवकको शव फेला परेको छ ।

भदौ १७ गते स्वयम्भुमा फेला परेको शवको टाउको चुडिएको छ । बागलुङको बुर्तिबाङ निवासी २२ वर्षीय संगीत जिसीको शव रहेको उनका मामा मुकुट रायमाझीले जानकारी दिएका छन् । संगीतको शव आफन्तले कपडाबाट सनाखत गरेका थिए ।

नौं दिनदेखि बेपत्ता भएका संगीत जिसीको शव टाउको चुडिएको अवस्थामा फेला परेपछि आफन्तहरू मर्माहत भएका छन् ।

संगीत जिसी अध्ययनका लागि काठमाडौंमा बसेका थिए । संगीत जिसीको शवलाई पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजञ्जमा लगिएको छ ।

संगीत जिसीका आफन्तहरू मंगलबार शिक्षण अस्पताल महाराजगञ्जमा जम्मा भएका छन् भने उनीहरूले प्रहरीले दोषीलाई कारबाहीको माग गरेका छन् ।

समयमा खोज्न नसक्दा संगीत जिसीको हत्या भएको भन्दै आफन्तहरूले प्रहरीमाथि आक्रोश व्यक्त गरेका छन् ।

संगीत जिसीका मामा मुकुट रायमाझीले अपहरणपछि हत्या भएको हुन सक्ने आशंका गरे । ‘भाञ्जा संगीत जिसी हराएपछि प्रहरीलाई खबर गरेका थियौं’, रायमाझीले भने, ‘भाञ्जालाई कसैले अहपरण गरेर हत्या गरेको आशंका हामीले गरेका छौँ ।’

भदौ १७ गते शव फेला पारेपछि सनाखतका लागि प्रहरीले आफन्तलाई खबर गरेको थियो ।

काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी एसएसपी बसन्तकुमार लामाले सम्हालेसँगै शान्ति सुरक्षा कमजोर भएको आरोप लागेका बेला युवकको शव टाउको छिनिएको अवस्थामा फेला परेको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com