सिन्धुपाल्चोकको दुर्गम गाउँमा दुई लेन सडक


प्रकाशित मिति : भाद्र १८, २०७५ सोमबार

बलेफी–तेम्वाथान सडकको जुगल गाउँपालिका कार्यालय ढाडेदेखि मान्जेसम्मको १६ किलोमिटर सडक चौडा पारेर दुई लेनको बनाइएको छ । सडक दुई लेनको बनाइएपछि यस क्षेत्रका बासिन्दा खुसी भएका छन् ।

जुगल गाउँपालिका सिन्धुपाल्चोककै विकट गाउँपालिका हो । स्थानीय तहमा जनप्रतिनिधि आएपछि सबै वडामा सडक विस्तारलाई पहिलो प्राथमिकतामा राखिएको छ ।

मुख्य सडक सञ्जालसम्म गाउँपालिकालाई जोड्ने उद्देश्यका साथ गाउँपालिकाले गत वर्षदेखि बलेफी तेम्बाथन सडकलाई मुख्य प्राथामिकतामा राखेको छ ।

चट्टाने पहाड फोर्दै, भीर छिचोलेर मान्जेसम्मको सडक दुई लेनको बनाउँदा साविक गुम्बा, गोल्चे, पाङताङ र बराम्चीका बासिन्दा प्रत्यक्ष लाभान्वित भएका छन् ।

स्थानीय तह निर्वाचनको एक वर्षकाबीच जुगल गाउँपालिकाले विकट गुम्बा गाउँ विकास समितिको मान्जेसम्म दुई लेनको सडक संरचना विस्तार गर्न सफल भएको छ । गाउँपालिकाबाट गत आर्थिक वर्षमा विनियोजित ५८ लाख रुपियाँ रकमबाट सडक बिस्तार गरिएपछि जुगलवासीमा यतिबेला हर्षको सीमा नै छैन । ‘बल्ल हाम्रा सुखका दिन सुरु भए,’ जुगल गाउँपालिका–५ डबलीमा भेटिएका स्थानीय गंगालाल श्रेष्ठले भने ।

बर्खायाममै मान्जेसम्म सरर मोटर चल्ने सडक बन्छ भन्ने सोचैकै थिएनन् अरे बराम्चीका स्थानीय नीरबहादुर पौडेलले । उनका अनुसार पटक–पटक सरकारी बजेट परेको यो सडकमा यसअघि बर्खायाममा मोटर चल्नु नै सपनाझैं थियो ।

तर स्थानीय तह निर्वाचनपश्चात गाउँमै सरकार आएपछि यस भेगका जनताले विकासको अनुभूति गर्न सकेको निरबहादुर सुनाउँछन् । ‘५० हजारदेखि दशौं लाख बजेट पर्थे, काम त कागजमै मात्र हुन्थ्यो,’ उनले भने, ‘जनप्रतिनिधि आएपछि विकास व्यवहारमै देखियो, मान्जेसम्म डबल लेनको रोड खन्नु चानचुने कुरा हैन ।’

गाउँपालिकाले ५८ लाख रकम विनियोजन गरी सडक विस्तारको काम गरेको भएपनि मान्जेसम्मको सडक विस्तारको काम हेर्दा २ करोड भन्दा बढी लागत अनुमान गर्न सकिने उनले बताए । ‘५८ लाखमै यतिधेरै काम सम्भव नै छैन, गाउँपालिकाले हाइड्रोबाट सहयोग लिएर मात्रै सम्भव भएको हो’, उनी थप्छन्, ‘कागजमा हैन हामीलाई व्यवहारमै विकास चाहिएको हो ।’

गुहेखोला सडकको लागि गत वर्ष ७ लाख बजेट पर्दा झारा टारेरै पैसा सकेको गुनासो स्थानीयको थियो । यस पटक भने जुगल गाउँपालिकामा जनताले अनुभूति गर्नेगरी विकास भएको स्थानीय शिक्षक दिनानाथ अधिकारीको ठम्याई छ । लेभल नमिलेको एकलाईनको साँघुरो सडक अहिले दुई लेनको बनाएर बर्खायाममै मोटर चल्ने बनिरहँदा उनीपनि खुसी ब्यक्त गर्छन् । उनका अनुसार लेभल नमिलेका ठाउँमा लेभल मिलाइएको छ, कतिपय ठाउँमा नयाँ ट्रयाक नै खोलिएका छन् ।

‘१६ किलोमिटर सडक डबल लेनको बनाएर मध्यबर्खामै मोटर चल्नु यस भेगकै लागि खुसीको कुरा हो,’ उनी भन्छन्, ‘तेम्बाथानसम्म सडक छिचोल्ने कुरा छ, त्यसो हुँदा जिल्लाकै विकट भूगोल मानिएको यो भेगको मुहार फेरिने छ ।’

स्थानीय अगुवा विष्णुप्रसाद घिमिरेले भने, ‘कागजी रुपमा गञ्जागोल भयो होला, तर मान्जेको कुनासम्म दोहोरो लेनको सडक पुर्‍याउनु ठूलै कुरा हो ।’

सडकको ‘साइड इफेक्ट’

सडक विस्तारका क्रममा कतिपय स्थानीयका खेतबारी बगिरहेको र घर नै लच्किएको भन्दै गाउँपालिकाले उनीहरुका लागि जग्गाजमिन र घर संरक्षणका लागि सहयोग गर्नुपर्ने उनी बताउँछन् । ‘अहिले बर्खेझरीले कतिपय ठाउँमा पहिरो खसेको छ, पहिरो पन्छाउँदा देशकै नमूना ग्रामीण सडक बन्न सक्छ’, उनी भन्छन् ।

सडक विस्तारका क्रममा कतिपयका खेतबारी मासिएका छन्, उनीहरुका मुहारमा पीडाभन्दा धेरै खुसी झल्कन्छ । खेतबारी मासिएकाप्रति पीडा त छँदैछ तर गाउँमै सडकको सहज सुविधा मिलेपछि त्योभन्दा बढी खुसी मिलेको छ जुगल–५ डबलीका स्थानीय गंगालाल श्रेष्ठका लागि । ‘जग्गाजमिन बगिरहेको छ, बर्खामै डोजर लगाइदिए,’ उनी भन्छन्, ‘जग्गाजमिन त मासियो तर यतिको सडक बन्लाजस्तो सोचेको थिइनँ,’ उनी भन्छन्, ‘कोटेश्वरको जस्तो सडक हुँदा खुसी नै छु, खेतमुनि पर्खाल चैं लगाइदिए हुन्थ्यो ।’

खेत संरक्षणका लागि पर्खाल लगाउनका लागि भनेर दुई पटक ढाँडे झरेपनि गाउँपालिका अध्यक्षलाई भेटेर कुरा गर्न नपाएको उनी सुनाउँछन् । ‘कोटेश्वरको झैं बाटो बनाइस्, राम्रै गरिस् तर मेरो खेत जोगाइदे भनेर भेट्न गएँ,’ उनले अनलाइनखबरसँग सुनाए, ‘अध्यक्षलाई भेट्नै पाको छैन, कहिले चौतारा त कहिले काठमाडौं छु भन्छ ।’

गाउँमै दुई लेनको सडक आउँदा खुसी देखिएका गंगालाल गाउँपालिकाले आफ्नो जग्गाजमिनको संरक्षणका लागि सघाउ गर्नुपर्ने सुनाउँछन् ।

गाउँ सरकारसँग हाइड्रोको हातेमालो

स्थानीय अगुवाहरुका अनुसार गाउँपालिकाबाट विनियोजित ५८ लाख रकमले मान्जेसम्मको सडक विस्तार गर्न सम्भव नै थिएन । उपभोक्ता समितिलाई जिम्मा दिँदा ५८ लाखले १६ किलोमिटर सडक विस्तार नहुने भएपछि गाउँ कार्यपालिकाको बैठक बसेर सडक विस्तारको काम गाउँपालिकाकै प्रत्यक्ष सहभागितामा गर्ने निर्णय भयो ।

गाउँपालिकाले जुगलस्थित हाइड्रोपावर कम्पनीहरुलाई सडक विस्तारमा सघाउन भन्दै आग्रह गरेपछि मुनलाईट हाइड्रोपावर कम्पनी र बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडले एक महिनाका लागि एक–एकवटा स्काभेटर उपलब्ध गराए ।

जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले हाइड्रोपावरले दुई वटा स्काभेटर उपलव्ध गराएको जिकिर गर्दै इन्धन, अपरेटर तथा व्यवस्थापन खर्च भने गाउँपालिकाले व्यहोरेको बताए ।

ढाँडे कात्तिके सडक विस्तारका लागि गाउँपालिकाको आग्रहपछि आफूहरुले एक/एक स्काभेटर महिना दिनका लागि निःशुल्क प्रदान गरेकोे बलेफी हाइड्रोपावर कम्पनी र मुनलाईट हाइड्रोपावर कम्पनीले जनाएका छन् ।

सडक विस्तारका लागि स्काभेटर बाहेक अन्य सहयोग नगरिएको बलेफी हाइड्रोपावर कम्पनीका उमेश कसजुले बताए । ‘हामीले पनि एक महिनाका लािग एउटा स्काभेटर दिएका हौं, इन्धन, अपरेटर र अरु खर्च उहाँहरुकै हो,’ मुनलाईट हाइड्रोपावर कम्पनीका सन्दिप जीसीले भने ।

भ्रष्टाचार गरेको भन्दै उजुरी

जुगल गाउँपालिकाको बलेफी–कात्तिके सडकखण्ड विस्तारका क्रममा जुगल गाउँपालिकामा भ्रष्टाचार भएको भन्दै केही व्यक्तिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीसमेत दिए एक साताअघि ।

हाइड्रोपावरको सहयोगमा सडक विस्तार गरेको र सडक विस्तारका नाममा विनियोजित ५८ लाख रुपैयाँ भ्रष्टाचार भएको भन्दै उजुरी परेपछि त्यसको छानविन भइरहेका बेला जुगल गाउँपालिकामा जलविद्युत आयोजनामा संलग्न हाइड्रोपावरहरुले भने सामाजिक उत्तरदायीत्व अन्तर्गत डोजर मात्र उपलब्ध गराएको तर आर्थिक सहयोग नगरेको स्पष्टीकरण दिएका छन् ।

गाउँपालिकाभित्र जलविद्युत आयोजनामा काम गरिरहेका मुनलाईट हाइड्रोपावर कम्पनी, बलेफी हाइड्रोपावर कम्पनी र गेलुङखोला हाइड्रोले संयुक्त रुपमा विज्ञप्ती जारी गरी आफूहरुको नाम जोडेर भ्रामक र कपोकल्पित प्रचारवाजी भइरहेको भन्दै खण्डन गरेका छन् ।

शिवश्री हाइड्रोपावरको समेत नाम जोडिएको भन्दै यस क्षेत्रमा शिवश्री हाइड्रोपावर नामको कुनै पनि कम्पनी नरहेको समेत उनीहरुले स्पष्ट पारेका छन् । ‘यस्ता भ्रामक समाचारका पछि नलाग्न हामी सरोकारवाला सबैलाई अनुरोध गर्दछौं’, बलेफी हाइड्रोपावर कम्पनीका उमेश कसजु, गेलुङ खोला हाइड्रोका चुर्णप्रसाद श्रेष्ठ र मुनलाईट हाइड्रोपावरका सन्दिप जिसीले जारी गरेको विज्ञप्तीमा लेखिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com