होमल्याण्ड सेक्युरिटीद्वारा पनि थप २० देशका नागरिकलाई ग्रिनकार्ड लगायत आवेदनहरूमा रोक


प्रकाशित मिति : पुस १७, २०८२ शुक्रबार

अमेरिकामा जनवरी १ देखि लागू भएको यात्रा प्रतिबन्धको विस्तारसँगै होमल्याण्ड सेक्युरिटीले पनि थप २० देशका आप्रवासी आवेदनहरूलाई रोक्का गर्ने भएको छ। युएससीआईएसले बिहीबार जारी गरेको मेमो अनुशार यी थपिएका देशका आप्रवासीहरूका भिसा, ग्रिनकार्ड, नागरिकता वा एसाइलम सम्बन्धी विचाराधीन रहेका सबै आवेदनहरूको समीक्षा स्थगित गरिनेछ। मेमोमा सन् २०२१ सम्मका पुराना आवेदनहरूको समेत पुनः समीक्षा गर्ने योजना उल्लेख गरिएको छ

यस सूचीमा अधिकांश अफ्रिकी मुलुकहरू रहेका छन्, जसमा अंगोला, नाइजेरिया, सेनेगल, तान्जानिया र जिम्बाब्वे लगायतका देशहरू समावेश छन्। गत महिना, ट्रम्प प्रशासनले अमेरिका यात्रामा प्रतिबन्ध लगाइएका देशहरूको संख्या १९ बाट बढाएर ३९ पुर्‍याएको थियो। अमेरिकामा स्थायी बसोबासका लागि कानुनी प्रक्रिया अपनाइरहेका व्यक्तिहरूमाथि कडा निगरानी राख्ने रणनीति अन्तर्गत यो कदम चालिएको हो।

युएससीआईएसको मेमोमा उच्च जोखिमयुक्त देशहरूबाट अमेरिका प्रवेश गरेका विदेशी नागरिकहरूले राष्ट्रिय सुरक्षा वा जनसुरक्षामा खतरा पैदा नगर्ने कुरा सुनिश्चित गर्न युएससीआईएस प्रतिबद्ध रहेको उल्लेख छ । अमेरिकी अध्यागमन कानुनको पूर्ण पालना गर्नका लागि भिसा ओभरस्टे दर उच्च भएका वा ठगीमा संलग्न हुने देशहरूबाट आउने विदेशीहरूको प्रवाह रोक्न आवश्यक भएको युएससीआईएसको भनाई छ ।

यद्यपि, यस प्रतिबन्धमा केही अपवादहरू पनि राखिएका छन्। विश्वकप र ओलम्पिक जस्ता प्रतियोगिताहरूमा सहभागी हुने खेलाडी र उनीहरूका टोलीका सदस्यहरूलाई यो रोक लागू हुने छैन। थ्याङ्क्सगिभिङ सप्तान्तामा दुई नेशनल गार्ड सैनिकहरूको हत्यामा संलग्न भएको आरोपमा एक अफगान नागरिक पक्राउ परेपछि प्रशासनले प्रतिबन्धहरू विस्तार गर्ने संकेत दिएको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सन् २०२५ को अन्त्यतिर होमल्याण्ड सेक्युरिटीले कानुनी आप्रवासनका मार्गहरूमा थप रोक लगाउने र समीक्षा गर्ने कदम चाल्न सुरु गरेको थियो। भिसा, नागरिकता र एसाइलम प्रक्रिया हेर्ने निकाय युएससीआईएसले बाइडेन प्रशासनको समयमा शरणार्थीका रूपमा प्रवेश गरेका सबैको अवस्था पुनः समीक्षा गर्ने घोषणा गरेको छ, जसले गर्दा ती पुराना मुद्दाहरू फेरि ब्युँतिएका छन्। यसअघि युएससीआईएसले आवेदनहरूको चाप सम्बोधन गर्न भन्दै एसाइलम सम्बन्धी सबै आवेदनहरूको प्रशोधनमा अनिश्चितकालीन रोक लगाइसकेको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com