अमेरिकाबाट डिपोर्ट हुने ३९४ नेपालीका लागि डिसीस्थित नेपाली दूतावासद्वारा ट्राभल डकुमेन्ट जारी


प्रकाशित मिति : पुस १७, २०८२ शुक्रबार

अमेरिकामा रहेको नेपाली दूतावास । फोटो: खसोखास

सन् २०२५ मा अमेरिकाबाट डिपोर्ट हुने ३९४ नेपालीका लागि डिसीस्थित नेपाली दूतावासद्वारा ट्राभल डकुमेन्ट जारी गरिएको छ । अमेरिकी अध्यागमन एजेन्सी आइसको अनुरोधमा उनीहरुका लागि ट्राभल डकुमेन्ट जारी गरिएको हो । जसमा ३६८ जना पुरुष र २६ जना महिला रहेको दूतावासले खसोखासलाई जानकारी दिएको छ।

नेपालको अध्यागमन विभागको तथ्यांक अनुशार अमेरिकाबाट सन् २०२५ मा डिपोर्ट हुने नेपालीहरुको संख्या ४६८ रहेको छ । तर दूतावासबाट ट्राभल डकुमेन्ट जारी भइसकेका सबै ३९४ जना नै डिपोर्ट भए नभएको भने प्रष्ट छैन ।

दूतावासले सन् २०२५ को जनवरीदेखि डिसेम्बरसम्मको अवधिमा ४०७ वटा ट्राभल डकुमेन्ट जारी गरेकोमा अधिकांश अर्थात् ३९४ ट्राभल डकुमेन्ट आइसको अनुरोधमा जारी गरिएको हो । कुल ट्राभल डकुमेन्ट जारी गरिएकाहरूमध्ये ३८० जना पुरुष र २७ जना महिला रहेको नेपाली राजदूतावास डिसीकी सूचना अधिकारी अरुणा घिसिङले जानकारी दिइन्।

दूतावासका अनुसार विभिन्न माध्यमबाट अमेरिकाको सिमाना आइपुगेका तर अमेरिका प्रवेश गर्न नपाई नेपाल फर्कनुपर्नेहरूका लागि पनि ट्राभल डकुमेन्ट जारी गरिएको छ। यसरी जारी गरिएका डकुमेन्टहरूमा मेक्सिकोबाट २ पुरुष, १ महिला गरी ३ जना, पानामाबाट ८ पुरुष, १ महिला गरी ९ जना र कोस्टारिकाबाट २ जना पुरुषका लागि रहेका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कागजातविहीन अवस्थामा रहेका वा अन्य कानुनी प्रक्रिया पूरा गर्न नसकेका नेपालीहरूलाई अमेरिकी अध्यागमनले फिर्ता पठाउने क्रममा राजदूतावाससँग ट्राभल डकुमेन्ट माग गरेपछि दूतावासले ती डकुमेन्ट जारी गरिदिएको हो। यसबाहेक राहदानी नभएका तर नेपाल फिर्ता जानुपर्ने अवस्थामा रहेका अन्य नागरिकका लागि पनि ट्राभल डकुमेन्ट जारी गरिएको दूतावासको भनाइ छ।

ट्रम्प प्रशासन आएयता अमेरिकामा गैरकानुनी रूपमा बसिरहेका मानिसहरूलाई निष्कासन गर्ने प्रक्रियामा तीव्रता आएको छ। सोही क्रममा अमेरिकी अध्यागमनले नेपाली राजदूतावाससँग समन्वय गरी आवश्यक ट्राभल डकुमेन्ट माग गर्ने गरेको सूचना अधिकारी घिसिङले बताइन्।

नेपाली पासपोर्ट

त्यसैगरी, यस अवधिमा नेपाली दूतावासले ९,१६८ वटा राहदानी जारी गरेको छ। राजदूतावासको डिसीस्थित कार्यालय तथा विभिन्न राज्यमा आयोजना गरिएका घुम्ती शिविरमार्फत यी राहदानीहरू जारी भएका हुन्। साथै, दूतावासले सन् २०२५ मा २,०४५ वटा पर्यटकीय भिसा समेत जारी गरेको छ।

वासिङ्टन डिसीभन्दा बाहिर रहेका नेपालीहरूको सहजताका लागि दूतावासले सञ्चालन गरेको घुम्ती शिविरअन्तर्गत सान् फ्रान्सिस्कोबाट १,४८७, कोलोराडोबाट ५०६, केन्टकीबाट २४८ र ओहायोबाट १४८ वटा राहदानीका आवेदन संकलन गरी राहदानी जारी गरिएको छ।

तथ्याङ्क अनुसार सन् २०२५ मा ३ जना नेपाली (२ पुरुष र १ महिला) ले विधिवत रूपमा दूतावासमार्फत नेपाली नागरिकता परित्याग गरेका छन्।

दूतावासले नेपाल र अमेरिकाबीचको द्विपक्षीय सम्बन्धका अलावा आफ्नो कार्यक्षेत्रभित्र पर्ने अन्य मुलुकहरूसँगको सम्बन्ध विस्तारमा पनि जोड दिएको जनाएको छ। दूतावासले मेक्सिको, कोस्टारिका, बहामस, पानामा, एल साल्भाडोर, होन्डुरस, ग्वाटेमाला र बेलिज लगायतका मुलुकहरूसँगको सम्बन्धलाई थप प्रगाढ बनाउँदै ती देशमा रहेका नेपालीहरूको हित सुनिश्चित गर्न आवश्यक प्रयासहरू जारी राखेको जनाएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com