खर्च अभावमा नौ महिने शिशुको उपचार हुन सकेन


प्रकाशित मिति : श्रावण १९, २०७५ शनिबार

प्यूठान नगरपालिका-८ खप्रेङखोलाका नौ महिने शिशु प्रकाश विश्वकर्माको शरीरभरी घाउ छ। घाउले उनको शरीर पूरै ढाकेको छ। एकहप्ता अघिदेखि घाउ बढ्दै गएको छ। वैशाखमै डाक्टरले जिल्ला बाहिर लगेर उपचार गराउन सुझाव दिएका थिए। तर, उनका अभिभावकले बाहिर लगेर उपचार गर्न सकेनन्।

दिनप्रतिदिन समस्या थप बल्झिदै गएपछि बिहीबार आमा सीता विश्वकर्माले उपचारका लागि प्यूठान अस्पताल पुर्‍याएकी छन्। आकस्मिक कक्षमा राखेर दिनभर उपचार गराए पनि जिल्लामै पूर्ण रुपमा निको हुन नसक्ने चिकित्सकको भनाइ छ।

‘छाला सम्बन्धी समस्या हो, भित्र इन्फेक्सन हुन पनि सक्छ’, प्यूठान अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.अच्यूतराज कार्कीले भने,  ‘यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि बाहिर लान सिफारिस गरेका छौँ।’

‘डाक्टरले बाहिर लैजानुस् भन्नुभएको छ’, आमा सीताले भनिन्,‘एक हजार लिएर अस्पतालमा आएकी छुँ। कसरी बाहिर लैजाऊ ?’ छोराको राम्रो अस्पतालमा पुर्‍याएर उपचार गर्ने मन भए पनि खर्च नभएको उनको भनाइ छ। ‘घरेलु उपचार गरेपनि निको भएन’, उनले भनिन्, ‘बाहिर लानु भन्नुभएको छ तर मसँग खर्च छैन, कसरी बाहिर लाने ?’

अन्नपूर्ण पोष्टमा प्रकाशित केशर रोकाको समाचार ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com