निगमले भित्र्यायो दोस्रो वाइडबडी विमान,जापान र अष्ट्रेलियामा उडान शुरु गर्ने योजना


प्रकाशित मिति : श्रावण १०, २०७५ बिहीबार

नेपाल वायुसेवा निगमको दोस्रो वाइडबडी विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।
एयरबस ३३०(२०० विमानलाई ‘मकालु’ नाम दिइएको छ। विमान निर्माण भएको फ्रान्सको तुलुज शहरबाट करीब नौ घण्टाको उडानपछि अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो । निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारसहितको टोली विमानमा आउनुभएको थियो ।

विमानस्थलमा विमानलाई पानीको फोहोराले भव्य स्वागत गरिएको थियो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलका सचिव कृष्णप्रसाद देवकोटा, निगमका उच्च अधिकारीलगायतले स्वागत गर्नुभएको हो ।

उक्त विमानको फ्रान्समै परीक्षण उडान गरिसकिएको छ। नयाँ विमानलाई ‘९एन–एएलजेड’ कलसाइन दिइएको छ।

‘अन्नपूर्ण’ नाम दिइएको निगमको पहिलो वाइड बडी विमान गत २४ असारमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो। ‘९एन–एएलवाई’ कलसाइनको उक्त वाइड बडी टुलुज शहरबाटै नौ घण्टाको सीधा उडानपछि काठमाडौं उत्रिएको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सरकारको ग्यारेन्टीमा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको १२÷१२ अर्बको ऋणबाट दुवै विमान खरिद गरिएको निगमले जनाएको छ। दुवै विमान अमेरिकी कम्पनी एएआरसँग खरिद गरिएको हो।

निगमका अनुसार ७ वैशाख ०७४ मा सरकारी ग्यारेन्टी स्वीकृत भएपछि खरिदका लागि ऋण लिने प्रक्रिया अगाडि बढाइएको थियो। २८ जेठ ०७४ मा नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषसँग ऋण सम्झौता भएको थियो।

दुवै विमानको सिट क्षमता समान अर्थात् दुई सय ७४ छ। दुवैमा १८ वटा ‘सांग्रिला बिजनेस क्लास’ र दुई सय ५६ वटा साधारण क्लासका सिट छन्।

पहिलो वाइड बडी विमानले १६ साउनदेखि व्यावसायिक उडान शुरु गर्दैछ। दोस्रो वाइड बडीले सबै प्रक्रिया पूरा गरेर छिट्टै व्यावसायिक उडान थाल्ने निगमले जनाएको छ।

नयाँ विमान आएपछि निगमले जापान,कोरिया र अष्ट्रेलियामा उडान सञ्चालन गर्नेछ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com