‘बाल गृहका २९ बालिकाहरुलाई पोलेर, काटेर र दैनिक नशालु पदार्थ दिएर बलात्कार गरियो’


प्रकाशित मिति : श्रावण ८, २०७५ मंगलबार

बिहारको एक बाल गृहमा २९ बालिकामाथि बलात्कारको घटना सार्वजनिक भएको छ ।

मुम्बईको टाटा इन्स्टिच्युट अफ सोसल साइन्सेज (टीआईएसएस) ले आफ्नो एक रिपोर्टमा बालगृहमा बसिरहेका बालिकाहरुको यौन शोषणको मुद्दा उठाएको थियो ।

मे ३१ तारिखमा बिहार सरकारलाई सुम्पिएको यो रिपोर्टमा उक्त बाल गृहमा बालिकाहरुमाथि कसरी यौन शोषण गरिन्थ्यो भन्ने बारे खुलासा गरिएको छ ।

यो रिपोर्ट चर्चामा आएपछि भएको पुलिस अनुसन्धानमा नयाँ जानकारी सार्वजनिक भएका छन् ।

मुजफ्फरको बालिका केन्द्र यो अनुसन्धानको केन्द्र बनेको छ । यहाँको साहू रोडस्थित एक घरमा खन्ने काम भइरहेको छ । पुलिसलाई शंका छ कि त्यहाँ एक बालिकाको शव गाडिएको छ ।

सेवा संकल्प नामको एक स्वयंसेवी संस्थाले यो भवनमा सरकारी बालिका गृहको संचालन गर्दथ्यो  ।

पुलिसका अनुसार यो गृहमा बस्ने एक बालिकाले सोधपुछको क्रममा आफूसँगै बस्ने एक बालिकालाई हत्या गरेर गाडिएको आशंका व्यक्त गरेपछि खन्ने कार्य सुरु गरिएको हो ।

सोमबार करिब सात फिट खनेपछि त्यहाँ केही भेटिएको छैन । मानिसहरु रिसाउँदै प्रश्न गरिरहेका छन्, ‘कसैले आफ्नो घरमा शवलाई किन गाड्छ, उनीहरुलाई डर लाग्दैन ?’

मुजफ्फरकी वरिष्ठ पुलिस अधिक्षक हरप्रित कौर भन्छिन्, ‘मेडिकल रिपोर्टमा २९ बालिकामाथि दुष्कर्मको सम्भावनालाई नकार्न सकिन्नँ । यस्तै यो मामलामा बालिका गृहका संचालक ब्रजेश ठाकुरसहित १० अभियुक्तलाई पक्राउ गरिएको छ जसमध्ये ७ जना महिला छन् ।’

बालिका गृहमा बस्ने कूल ४४ युवतीमध्ये ३४ को स्वास्थ्य परिक्षण गरिएको थियो ।

टीआइएसएसको अडिट रिपोर्ट अनुसार बालिकाको मेडिकल जाँचमा उनीहरुको शरिरका विभिन्न अंगमा पोलेको र काटेको निशान पनि पाइएको छ । अडिट रिपोर्ट अनुसार बालिकामाथि दैनिक यौन शोषण हुने गर्दथ्यो । मेडिकल रिपोर्ट अनुसार यौन शौषण अघि बालिकालाई नशालु पदार्थको औषधी खुवाइन्थ्यो अथवा नशाको सूई लगाइन्थो ।

टीआईएसएसले सात महिनासम्म ३८ जिल्लाका एक सय १० संस्थानको सर्वेक्षण गरे । सर्वेक्षणमा पीडित सबैको उमेर १८ वर्षभन्दा कम रहेको खुलासा गरेको छ । तीमध्ये पनि धेरै १३ र १४ वर्षका छन् । उक्त रिपोर्टबाट स्पष्ट थाहा हुन्छ कि मुजफ्फर बालिका गृहमा भएको यौन उत्पीडनमा बाल कल्याण समितिका सदस्य र संगठनका प्रमुख पनि संलग्न थिए ।

उक्त बालिका गृहमा ६ देखि १८ उमेर समूहका बालिकाहरु बस्ने गर्छन् जो अनाथ, हराएका, मानसिक रुपमा विक्षिप्त वा अन्य कुनै कारणले परिवारबाट अलग्गिएका थिए ।

मुख्य अभियुक्त ब्रजेश ठाकुरकी छोरी नीतिका अनुसार उनका पितालाई फसाउने कोसिस गरिएको छ ।

उनी भन्छिन्, ‘पछिल्लो पाँच वर्षदेखि यो बालिका गृहमा चाइल्ड वेलफेयर समिति, न्यायाधिस, आयोगका सदस्य लगातार आइरहेका छन्, कसैले यो किन देखेनन् ? मेरा बुवालाई फसाइएको छ ।’

मुख्य अभियुक्त र बालिका गृहका संचालक ब्रजेश ठाकुरको परिवारले सन् १९८२ देखि नै प्रातः कमल नामको एक हिन्दी दैनिक पनि प्रकाशित गरिरहेको छ । उनका बुवा राधा मोहन ठाकुरले उक्त पत्रिका सुरु गरेका थिए ।

यो बालिका गृहबाट सन् २०१३ देखि २०१८ को बीच ६ बालिकाहरु गायब भएको र मधुबनी पठाएकी एक बालिका गायब भएको खबर छ, जसको अनुसन्धान चलिरहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com