भिषण वर्षापछि गएराति गएको पहिरोमा परी एकै घरका तीनको मृत्यु, गाउँ नै शोकमा डुब्यो


प्रकाशित मिति : असार १२, २०७५ मंगलबार

भिषण वर्षापछि गएराति गएको पहिरोले घर बगाउँदा एकै घरका तीनजनाको मृत्यु भएको छ । बरेङ गाउँपालिका–१, धुल्लुबाँस्कोटका ४० वर्षीय विष्णुबहादुर क्षेत्री, उहाँकी श्रीमती ३० वर्षीया विष्णुमाया क्षेत्री र छ महिने छोरी सोनिया क्षेत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । घरमै सुतिरहेको बेलामा एक्कासि खसेको ठूलो पहिरोमा परी उनीहरुको ज्यान गएको हो । पहिरोमा पुरिएका मृतक तीनै जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक विश्वराजसिंह थापाले बताउनुभयो ।

इलाका प्रहरी कार्यालय, बरेङको प्रहरी टोली र स्थानीयवासी बिहानैदेखि उद्धारमा खटिएका थिए । घरसँगै गोठ पनि पहिरोले बगाएको जनाइएको छ । मृतक क्षेत्रीका दुई छोरी भने पढाइको सिलसिलामा बाहिर रहेको बुझिएको छ । रातभर परेको वर्षाले जिल्लाका अन्य ठाउँमा पनि ठूलो भौतिक क्षति पु¥याएको छ । बरेङ गाउँपालिकाका–२ हुग्दीशिरको ब्राहकोट प्रावि पहिरोले क्षतिग्रस्त बनेको जनाइएको छ ।

यस्तै, हुग्दीखोलामा आएको बाढीले कैयौँ रोपनी खेत बगरमा परिणत भएको स्थानीयवासी प्रकाश छन्त्यालले बताउनुभयो । जिल्लाभर भएको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com