सुन तस्करको मनोबल बढाउने पूर्वप्रहरी अधिकारीहरूकाे अभिव्यक्तिप्रति गृहकाे अापत्ति


प्रकाशित मिति : जेष्ठ २२, २०७५ मंगलबार

सुन तस्करी प्रकरण एवं सनम शाक्य हत्याकाण्डमा अनुसन्धानमा तानिएका प्रहरी अधिकारीहरूबारे केही पूर्व प्रहरी अधिकारीहरूले दिएका अभिव्यक्तिप्रति गृह मन्त्रालयले अापत्ति जनाएकाे ।
गृहमन्त्रालयले एक विज्ञप्ती जारी गर्दै अदालतमा विचाराधीन उक्त मुद्दालार्इ प्रभावित पार्नेगरी नियाेजित रूपमा प्रहरीका पूर्व अधिकारीबाट भइरहेका गतिविधिप्रति गम्भीर आपत्ति प्रकट गरेकाे हाे ।

गृहले सुन तस्करीको संगठित अपराध अनुसन्धानका लागि गठित समिति र उसले सञ्चालन गरेका कामकारवाही लक्षित गर्दै विभिन्न व्यक्ति र संस्थामार्फत भइरहेकाे चलखेलप्रति अाफ्नाे ध्यानाकर्षण भएकाे जनाएकाे छ । साेमबार जारी विज्ञप्तीमा भनिएकाे छ- ‘केही जिम्मेवार व्यक्तिहरुको गैरजिम्मेवार अभिव्यक्ति र त्यस प्रकारका भ्रामक तथ्यहीन विचार, अभिव्यक्तिबाट अनुसन्धान कार्यलाई गम्भीर असर पर्नसक्ने एवं अपराधीको मनोबल थप बढ्न सक्ने देखिएको तर्फ सरकार सचेत छ।’

गृह प्रवक्ता सहसचिव रामकृष्ण सुवेदीद्वारा जारी विज्ञप्तिमा अदालतमा विचाराधीन मुद्दाका विषयमा जिम्मेबार व्यक्तिहरुको गैरजिम्मेबार, तथ्यहीन र भ्रामक अभिव्यक्तिले अनुसन्धानमा गम्भीर असर पुग्ने उल्लेख छ । गृहले यस प्रकारका गतिविधिले अपराधीको मनोबल बढाउन सक्ने तर्फ मन्त्रालय सचेत रहेको जनाएकाे छ।

अनुसन्धान कार्यका सम्बन्धमा एवं सम्मानित अदालतमा विचाराधीन रहेका कतिपय सम्वेदनशील विषयमा भ्रामक धारणा सार्वजनिक भइरहेको प्रति यस मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तीमा उल्लेख छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक राजेन्द्रसिंह भण्डारी र पूर्व नायब महानिरीक्षकद्वय हेमन्त मल्ल र रमेशप्रसाद खरेलले आईतबार संयुक्त रुपमा सुन तस्करीकाे अनुसन्धान त्रुटिपूर्ण रहेकाे अभिव्यक्ति दिएका थिए। उनीहरूले सुन प्रकरणमा मुछिएर हाल थुनामा रहेका तत्कालीन अपराध महाशाखा प्रमुख एसएसपी दिवेश लोहनी, डिएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेल निर्दोष रहेको दाबी समेत गरेका थिए।

आयोग, ‘टाक्स फोर्स’ या संसदीय समिति बनाएर ३३ किलो सुन तस्करी र सनम शाक्यको हत्याको पुनः छानबिन गर्न सकिने उनीहरुको भनाइ थियाे ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com