स्पेनमा तीव्र गतिको रेल दुर्घटना: कम्तीमा २१ जनाको मृत्यु


प्रकाशित मिति : ४ माघ २०८२, आइतबार

स्पेनमा तीव्र गतिको रेल दुर्घटना हुँदा कम्तीमा २१ जनाको मृत्यु भएको छ। मृतकको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।

दक्षिणी स्पेनमा दुईवटा तीव्र गतिका रेल एकआपसमा ठोक्किएर दुर्घटनामा परेका हुन्। स्पेनको रेल सञ्जाल सञ्चालक ‘एडिफ’का अनुसार यो दुर्घटना कोर्डोबा सहर नजिकैको आदामुज नगरपालिका आसपास भएको हो।

मालागाबाट म्याड्रिडतर्फ गइरहेको उच्च गतिको रेल लिकबाट उछिट्टिएर (पटरीबाट खसेर) छेउको अर्को ट्र्याकमा पुगेको थियो। लगत्तै विपरीत दिशाबाट अर्थात् म्याड्रिडबाट हुएल्भातर्फ गइरहेको दोस्रो रेल पनि सोही रेलसँग ठोक्किएर दुर्घटनाग्रस्त भयो।

स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले यस घटनाप्रति दुःख व्यक्त गर्दै देश गहिरो पीडामा रहेको बताए । यातायात मन्त्री ओस्कार पुएन्तेका अनुसार ३० भन्दा बढी घाइतेको अवस्था गम्भीर छ। एन्डालुसियन आपत्कालीन सेवाले दुर्घटनामा कुल ७३ जना घाइते भएको जनाएको छ।

रेलका डिब्बाहरू क्षतविक्षत र कुरुप बनेका कारण भग्नावशेषबाट जीवित व्यक्ति र शव निकाल्न निकै कठिनाइ भइरहेको उद्धारकर्मीहरूले बताएका छन्। दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन अनुसन्धान सुरु गरिएको र पूर्ण प्रतिवेदन आउन कम्तीमा एक महिना लाग्ने बताइएको छ।

दुर्घटनापछि म्याड्रिड र एन्डालुसियाबीचका सबै रेल सेवाहरू निलम्बन गरिएको छ। प्रभावित यात्रुहरूको सहजताका लागि रेलवे स्टेसनहरू रातभर खुला राखिने कम्पनीले जनाएको छ।

स्पेन युरोपेली देशहरूमध्ये सबैभन्दा ठूलो तीव्र गतिको रेल सञ्जाल भएको मुलुक हो। यहाँको रेल प्रणाली सामान्यतया सुरक्षित मानिए पनि इतिहासमा केही गम्भीर दुर्घटनाहरू भएका छन् ।

सन् २०१३ मा गालिसियाको सान्टियागो दे कोम्पोस्तेला नजिक भएको रेल दुर्घटनामा ७९ जनाको मृत्यु भएको थियो। यो स्पेनकै इतिहासको सबैभन्दा घातक घटना हो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सन् २००६ मा भ्यालेन्सियामा भएको मेट्रो दुर्घटनामा ४३ जनाको ज्यान गएको थियो। सन् २०१०मा बार्सिलोना नजिकैको कास्तेल्देफेल्स स्टेसनमा ट्र्याक पार गर्ने क्रममा तीव्र गतिको रेलले ठक्कर दिँदा १२ जनाको मृत्यु भएको थियो।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com