इरानसँग तनाव बढ्दा इराकबाट अमेरिकी सैनिक पूर्ण रूपमा फिर्ता
प्रकाशित मिति : माघ ४, २०८२ आईतबार
इराकले आफ्नो संघीय क्षेत्रभित्र रहेका सबै सैन्य आधारहरूबाट अमेरिकी सेना “पूर्ण रूपमा फिर्ता” भइसकेको घोषणा गरेको छ। इराक सरकारका अनुसार अमेरिकी सैन्य बल अब देशको केन्द्रीय नियन्त्रणमा रहेका कुनै पनि सैन्य अखडामा बाँकी छैनन्।
सरकारले यो फिर्ती प्रक्रिया अर्ध-स्वायत्त कुर्दिस्तान क्षेत्रको हकमा भने लागू नहुने स्पष्ट पारेको छ। उक्त क्षेत्रमा अझै पनि अमेरिकी सैनिकहरू तैनाथ रहने छन्। उत्तरी इराकको कुर्दिस्तान क्षेत्र संवैधानिक रूपमै एक स्वायत्त संघीय क्षेत्र हो, जहाँ आफ्नै सरकार, संसद् र सुरक्षा बल रहेकाले केन्द्रीय सरकारले त्यहाँ पूर्ण नियन्त्रण राख्दैन।
इराकको रक्षा मन्त्रालयका अनुसार पश्चिमी इराकको अन्बार प्रान्तमा रहेको ‘अल-असद एयर बेस’ बाट अन्तिम अमेरिकी सैन्य सल्लाहकारहरूको टोली प्रस्थान गरिसकेको छ। उक्त सैन्य आधारमा दुई दशकभन्दा बढी समयदेखि अमेरिकी सेनाको उपस्थिति रहँदै आएको थियो।
सन् २००३ मा अमेरिकी नेतृत्वमा इराकमा आक्रमण,सन् २०११ मा तत्कालीन राष्ट्रपति बाराक ओबामाद्वारा सेना फिर्ताको घोषणा, सन् २०१४ मा आईएसआईएस विरुद्ध लड्न इराकी सरकारको अनुरोधमा पुनः ५,००० सैनिक परिचालन, डिसेम्बर २०२१ मा अमेरिकाद्वारा लडाइँ भूमिका समाप्त भएको घोषणा, २,५०० सैनिक सल्लाहकारका रूपमा मात्र बाँकी,सन् २०२३ मा इराकी सरकारको आग्रहमा क्रमशः सैन्य उपस्थिति घटाउन सुरु भए जस्ता दृष्टान्त रहेका छन ।
यो सैन्य फिर्ती अमेरिका र इरानबीच बढ्दो क्षेत्रीय तनावको बीचमा भएको हो। विशेष गरी इरानमा भइरहेका सरकार विरोधी प्रदर्शन र त्यसमा अमेरिकी चासोका कारण परिस्थिति संवेदनशील बनेको समयमा यो निर्णय आएको हो।
अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) अन्तर्गतको ‘सेन्ट्रल कमाण्ड’ ले इराकको हस्तान्तरणसम्बन्धी वक्तव्य तथ्यगत भएको पुष्टि गरे पनि थप विवरण दिन अस्वीकार गरेको छ। हाल कुर्दिस्तानको एरबिलस्थित हारिर एयर बेसमा मात्र अमेरिकी सेनाको उपस्थिति सीमित रहेको छ।





