न्युयोर्कद्वारा १६ हजार आप्रवासी पक्राउ आदेश अस्वीकार, ५० हजारभन्दा बढी आपराधिक मुद्दा प्रभावित


प्रकाशित मिति : २६ आश्विन २०८३, सोमबार

फोटो: होमल्याण्ड सेक्युरिटी

राष्ट्रपति ट्रम्पको दोस्रो कार्यकाल सुरु भएयता न्युयोर्कका स्थानीय निकायहरूले आइसका १६,०७० भन्दा बढी हिरासत अनुरोधहरू अस्वीकार गरेको तथ्य सार्वजनिक भएको छ। अमेरिकी डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीका अनुसार, यी अनुरोधहरू गम्भीर अपराधमा संलग्न वा आरोपित संदिग्ध आप्रवासीहरूलाई हिरासतमा लिनका लागि पठाइएका थिए।

अस्वीकार गरिएका ती आदेशहरूसँग ५२,५०३ वटा भन्दा बढी आपराधिक अभियोग तथा सजायहरू जोडिएका छन्। यसमा १३१ वटा हत्या, १३२ अपहरण, १,०१७ यौन अपराध, ९,५०२ कुटपिट तथा आक्रमण, र ४,३२४ वटा लागूऔषध सम्बन्धी मुद्दाहरू समावेश रहेका छन्।

होनल्यान्ड सेक्युरिटी सेक्रेटरी मार्कवेन मुलिनले न्युयोर्कका सन्तुलन नीति अपनाउने नेताहरूको आलोचना गर्दै भने, स्यान्क्चुअरी राजनीतिज्ञहरूले खतरनाक अपराधीहरूलाई सडकमा छाड्ने काम गरिरहेका छन्, तर हाम्रा सुरक्षाकर्मीहरूले आफ्नो ज्यान जोखिममा राखेर भए पनि अमेरिकालाई सुरक्षित बनाउन यी अपराधीहरूलाई पक्राउ गर्नेछन्। कानुनी हैसीयत नभएका आप्रवासीहरूका लागि अमेरिकामा कुनै सुरक्षित आश्रयस्थल हुनेछैन।

अर्कोतर्फ, न्युयोर्ककी गभर्नर क्याथी होकुलको कार्यालयले यी दाबीहरूको खण्डन गरेको छ। गभर्नरकी प्रवक्ता एलेक्सिया निज्नीले न्युयोर्क हिंस्रक अपराधीहरूका लागि सुरक्षित थलो कहिल्यै नबन्ने स्पष्ट पार्दै, राज्यको जेलमा सजाय काटिरहेका गैर-नागरिकहरूबारे सधैँ संघीय निकायलाई जानकारी दिइने बताएकी छन्।

हालै ब्रोन्क्समा आइस एजेन्टले ओस्कार बेलगाल नामका व्यक्तिमाथि गोली चलाएपछि ट्रम्प प्रशासन र न्युयोर्क राज्यबीचको तनाव झनै बढेको छ। गाडीभित्र पाँच वर्षका नाबालक छोरा भएकै अवस्थामा भएको सो भिडन्तपछि आइस एजेन्टहरूको कदमलाई लिएर व्यापक विरोध भइरहेको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com