पोखरामा बम बिस्फोट गराउने विप्लवका कार्यकर्ता पक्राउ


प्रकाशित मिति : फाल्गुन ९, २०७४ बुधबार

 

फागुन ९, पोखरा – पोखरामा  एक पत्रकार र एक प्रहरी जवान गरी दुई जना घाइते हुने गरी मंगलवार बम बिस्फोट गराउने नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

विप्लव समूहले मंगलवार घोषणा गरेको बन्दका क्रममा पोखरामा बम बिस्फोट गराइएको थियो । बम विस्फोटमा संलग्न भएको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पोखरा लेखनाथ महानगरपालिका ३१ बस्ने विप्लव समूहका जनसरकार प्रमुख जगन भनिने नन्द प्रसाद तिवारी, पोखराकै सराङकोट बस्ने अखिल नेपाल क्रान्तिकारी किसान संघ कास्कीका जिल्ला अध्यक्ष पुष्प कार्की र पोखरा नयाँ गाउँका अखिल नेपाल क्रान्तिकारी निर्माण मजदुर संघका खड्कबहादुर राई छन् ।

प्रहरीका अनुसार मंगलवार उनीहरुले पोखरा लेखनाथ महानगरपालिका वडा नम्वर १४ बिजयपुर पुलमा बम राखेका थिए । बम फेला परेपछि समाचार संकलनका लागि पुगेका पत्रकार घनस्याम पाण्डे र सुरक्षार्थ खटिएका प्रहरी जवान कुलबहादुर खत्री बम बिस्फोट हुँदा घाइते भएका थिए । उनीहरुको अहिले पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

पक्राउ परेका तीनैजनाविरुद्ध विष्फोटक पदार्थ तथा हतियार खरखजना ऐनअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com