आर्थिक लेनदेनलाई अपहरण मुद्दा बनाएपछि ललितपुर प्रहरी प्रमुख ऐरलाई स्पष्टीकरण


प्रकाशित मिति : फाल्गुन ७, २०७४ सोमबार

प्रहरी नियमावली विपरित काम गरेको भन्दै प्रहरी प्रधान कार्यालयले  महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी गणेश ऐरलाई स्पष्टीकरण मागेको छ।

ललितपुरका दीलिप डंगोल र उनकी श्रीमती नीता डंगोललाई अपहरण गरेको अभियोगमा पुल्चोक प्रहरी प्रभागले रवीन्द्र सिंहलाई कात्तिक २४ गते पक्राउ गरी हिरासतमा राखेको थियो।

आर्थिक लोभमा परि लेनदेनको विषयलाई अपहरण तथा शरीर बन्धक जस्तो गम्भीर मुद्दा किन चलाइयो? भन्दै मुख्यालयले एसएसपी ऐरलाई स्पष्टीकरण सोधेको छ।

के कस्ता कारणले यस्तो गल्ती भयो? यसबारे स्पष्ट पार्न भन्दै ऐरलाई प्रहरी प्रधान कार्यालयले लिखित स्पष्टीकरण माग गरेको प्रहरी उच्च स्रोतले सेतोपाटीलाई जानकारी दियो।

‘मुद्दा आर्थिक लेनदेनको हो, तर प्रहरीनै अग्रसर भएर गम्भीर प्रकृतिको अपराधमा मुद्दा चलाएको देखियो, प्रहरीले अपहरणमा परेको भनेकी महिलालेनै पछि आफू अपहरणमा नपरेको बयान दिएपछि त्यहाँ प्रहरीको केही खोट देखियो,’ स्रोतले भन्यो, ‘घटना के कसरी भएको हो? भन्ने बारेमा स्पष्टीकरण सोधिएको छ, चित्त बुझ्दो जवाफ नआए अर्को प्रक्रिया हुन्छ।’

यही घटनामा जोडिएका प्रभागका प्रहरी निरीक्षक गोविन्द पन्थीलाई यसअघिनै निलम्बनको लागि प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयलाई पत्रचार गरिसकेको छ। तर, निरीक्षक पन्थी आफू कुनै आर्थिक गतिविधिमा संलग्न नभएको दाबी गर्दै आएका छन्।

प्रहरीले सिंहलाई अपहरण तथा शरीर बन्धक कसुरमा मुद्दा दायर गरी अदालतबाट म्याद थप गरि हिरासतमा राखिएको थियो। तर, जाहेरीवालाले नै आवेशमा आएर जाहेरी दिएको भन्दै आफू अपहरण नपरेको र कसैले आफूलाई बन्धक  नबनाएको भनी प्रहरीसमक्ष निवेदन दिएपछि यस्तो कुरा बाहिर आएको थियो।

प्रहरी स्रोतका अनुसार आरोपित सिंह र डंगोल दम्पतीबीच पहिलेदेखिनै आर्थिक लेनदेनको कारोबार हुँदै आएको थियो।

तर मुख्यालयको छानविन अनुसार डंगोल दम्पत्तिले प्रहरीसँग मिलेर सिंहलाई तिर्नुपर्ने रकम नतिर्ने योजनामा अपहरण गरेको कसूरलाई अन्यत्रै मोड्न खोजेको देखिएको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com